ट्राफिक सचेतनाका लागि नेपालगन्जमा निजी क्षेत्रले सहकार्य गरेको जनाएको छ । आदर्श स्कुल, नेपालगन्ज मल्टिपल कलेज, सिद्धार्थ हस्पिटल लगायतले ट्राफिक सचेतनामा सहकार्य गरेका हुन् ।
सचेतना अभियानमा शुक्रबार नेपालगन्ज मल्टिपल क्याम्पसका विद्यार्थीहरु परिचालन गरिएको क्याम्पसका प्राचार्य थानिश्वर पाण्डेयले जानकारी दिए । आदर्शका चिफ डाइरेक्टर समेत रहेका हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल, अध्यक्ष संजय थापा, नेपालगन्ज मल्टिपल क्याम्पसका अध्यक्ष निरज गौतम, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिरेन्द्र रोकाय लगायतको सहभागितामा सचेतना अभियान चलाइएको हो ।
‘एनएमसी र आदर्शले मात्रै १३ वटा सचेतना बोर्डमा सहकार्य गरेको छ’, प्राचार्य पाण्डेयले भने । सिद्धार्थ अस्पतालका सञ्चालक समेत रहेका आदर्शका चिफ डाइरेक्टर पोखरेलले निजी क्षेत्रले ट्राफिक सचेतनामा सहकार्य गर्दा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने बताए । ‘विद्यार्थीहरुलाई ट्राफिक सचेतनामा परिचालन गर्दा प्रहरीलाई सहयोगसँगै विद्यार्थी आफै पनि ट्राफिक नियममा जानकार हुनेछन्’, पोखरेलले दैनिक नेपालगन्जसँग भने ।