कुखुरा तस्करी विरुद्ध प्रहरी कारवाही

कुखुरा तस्करी विरुद्ध प्रहरी कारवाही
दुई तस्कर पक्राउ, ६ वटा साइकल सहित २ सय ५ वटा कुखुरा बरामद, ३० हजार जरिवाना
समाचारदाता
दैनिक नेपालगन्ज
वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले बुधवार विहान चलाएको कारवाहीमा २०५ वटा कुखुरा बरामद भएको जनाएको छ ।
भारतीय क्षेत्रबाट क्वारेन्टाइन चेकजाँच नगरी नेपालगन्जमा ल्याइएका कुखुरा प्रहरीले बरामद गरी कारवाही अघि बढाएको हो । ‘कुखुरा तस्करीको विषय बारे चासोका साथ अनुसन्धान र कारवाही अघि बढाइएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज नारायण डाँगीले भने, ‘सिमा क्षेत्रबाट अवैध रुपमा कुखुरा भित्रिएको सूचनाको आधारमा कारवाही गर्दा ६ जना तस्कर मध्ये २ जना पक्राउ परेका छन् ।’
नेपालगन्ज वडा नं.१७ परसपुरबाट प्रहरीले बाँके जानकी गाउँपालिका वडा नं.४ बस्ने २० वर्षिय रोहित राई र १६ वर्षिय इसरार राईलाई फन्दामा लिएको हो । उनीहरुबाट ६ वटा साइकल र २०५ वटा बोइलर कुखुरा बरामद गरिएको इन्चार्ज डाँगीले बताए ।
पशुक्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाइएका तस्करबाट जनही १५ हजार गरि ३० हजार रुपैया जरिवाना भएको छ । सिमाक्षेत्रबाट अवैध र प्रतिबन्धित कुखुरा भित्र्याउँदै आएका तस्करबाट पछिल्लो समयमा जरिवाना असूल गरि कुखुरा नष्ट गर्ने कारवाही हुँदै आएको डाँगीले बताए ।
भारतीय क्षेत्रबाट अवैध रुपमा पैठारी भइरहेका प्रतिबन्धित कुखुराबारे पटक–पटक कारवाही हुँदै आएको छ । ग्रामीण नाका भएर भित्रिन लागेको कुखुरा र चल्ला प्रहरीले बरामद गरी पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाउँदै आएको छ ।
स्वाइन फ्लु (एचवन एनवन) र बर्डफ्लुको संक्रमणको आशंका आधारमा सरकारले भारतीय क्षेत्रबाट पंक्षी र पंक्षीजन्य सामाग्री नेपाल ल्याउन प्रतिबन्धित गरेको छ । भारतीय क्षेत्रमा ७० रुपैयाँ भारु प्रतिकेजीको कुखुरा नेपालगन्जमा ४ सय रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ ।
प्रतिकुखुरा करिब २७० रुपैयाँ नाफामा भइरहेको कारोबारमा तस्कर, ब्यवसायी, क्वारेन्टाइन कर्मचारी संलग्नताको दावी गरिएपछि बढेको कारवाहीमा प्रहरीले कुखुरा तस्कर पक्राउ गर्दै आएको छ ।
यसअघि ५ नं. प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक देविप्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले कुखुरा तस्करी विरुद्ध कारवाही गर्दै आएको छ । ‘बाँकेको साईंगाउँ र राप्तीपारि क्षेत्रबाट अधिकतम कुखुरा तस्करी हुने गरेको सूचनाको आधारमा कारवाही गर्दा पटक पटक कुखुरा बरामद हुँदै आएको पाइयो,’ वडा प्रहरी इन्चार्ज डाँगीले भने, ‘कुखुरा तस्कर विरुद्ध ठोस रणनीति नभई हुँदैन ।’
‘कुखुरा ग्रामीण नाका भएर पनि भित्रिने गरेकोले सो सम्बन्धी अनुसन्धान र चेकजाँच अघि बढाइएको छ’, डाँगीले भने, ‘नेपाली क्षेत्रमा मंहगो दरमा बिक्री हुने भएकोले तस्करले पटक पटक प्रयास गर्दै आएका छन् ।’ बाँकेमा दिनहुँ भारतबाट ठूलै परिमाणमा कुखुरा तस्करी हुँदै आएको छ । कपडा, खाद्यान्न, ब्रोईलर कुखुरा, ईलेक्ट्रिक सामानहरु तस्करी गर्ने र संकलन गरेर नेपालगन्ज सहित आसपासका जिल्लामा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइयो ।
प्रहरीले ठूलै तस्करको समूह र संकलन केन्द्र फेला नपारेपनि साइकल मोटरसाइकलमा क्यारिङ गरेर अवैधरुपमा सामान भित्र्याउने विरुद्ध कारबाही कडा पारेको छ । तस्करी बढी हुने सम्भावित ठाउँहरुलाई प्रहरीले प्राथमिकतामा राखेर अनुसन्धान र कारबाही चलाउन सुरु गरेको छ ।
बाँकेमा मात्रै नभई पूरै देश भित्र पंक्षी र पंक्षीजन्य सामाग्री ल्याउन नपाउने कानूनी ब्यवस्था छ । भारतमा वर्डफ्लु र स्वाइन फ्लुको संक्रमण देखिएपछि सरकारले कुखुरा सहित पंक्षीजन्य सामाग्री भित्र्याउन प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धित कुखुरा र मासु क्वारेन्टाइन कर्मचारीको सेटिङमा भित्रिँदै गरेको तथ्य फेला परेपछि प्रहरी सक्रियता सिमा क्षेत्रमा बढेको छ । भारतबाट प्रतिबन्धित कुखुरा वा पंक्षीजन्य सामाग्री ल्याउन नपाउने तथा निगरानी लागि सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ बमोजिम सिमा नाकामा पशु क्वारेन्टाइन चेक पोष्ट संचालन गरेको छ ।
भारतीय क्षेत्रबाट आयात हुन सक्ने प्रतिबन्धित पशुपंक्षी नियन्त्रण, निगरानी र कारवाहीका लागि राखिएको चेकपोष्ट अघिबाटै हरेक दिन विहान कुखुरा नेपालगन्ज तर्फ पैठारी हुने गरेको श्रोतको दावी छ । क्वारेन्टाइनले पशुपंक्षीबाटै मानिसमा ७० प्रतिशत रोगहरु लाग्ने गरेकोले प्रतिबन्धित कार्य नगर्न सूचना प्रवाह गर्दै आएको छ । पशुबाट, बर्डफ्लु, रेबिज, स्वाइनफ्लु, इबोला, सिस्टीसकोर्सिस, लेप्टोस्पाइरोसिस, टोक्सोप्लाम्मोसिस, ब्रुसेलोसिस लगायत रोगहरु लाग्ने गरेकोले प्रतिबन्धित पशुपंक्षी नभित्र्याउन अनुरोध गर्दै आएको चेकपोष्टले कुखुरा हेर्न सकेको छैन ।
प्रदेश प्रहरी संगै जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज, र जिल्लाको ग्रामीण क्षेत्रमा रहेका प्रहरी युनिटले समेत कुखुरा तस्करी विरुद्ध कारवाही गर्दै आएपनि तस्करी न्युन हुन सकेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया