परिवार सहित जेल बस्न पाइने

३ हजार कैदी राख्न सक्ने क्षमताको क्षेत्रीय कारागारको ब्यारेक निर्माण पूरा

 
यसअघि कारागारलाई सुधार गृहको रुपमा परिभाषित गरिएपनि सो अवस्था कार्यान्वयन हुन नसकेबाट पीडित भइरहेको बन्दीलाई बिस्तारै राहत हुने संकेत छ । नेपालकै पहिलो खुल्ला कारागार बाँकेमा निर्माण हुँदैछ ।
बाँके गनापुरमा निर्माणाधीन खुल्ला कारागारको मापदण्ड र अवधारणा प्रष्ट रुपमा बाहिर नआएपनि परिवार सहित विभिन्न ब्लकमा बस्न पाइने ब्यवस्था सहितको भौतिक संरचना निर्माण कार्य पूरा हुँदैछ ।

 
‘कस्तो सजाय पाएको बन्दी त्यहाँ बस्न पाउने वा कति दिनको सजायमा बस्न पाउने भन्ने अझै प्रष्ट मापदण्ड निर्माण भइसकेको छैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँके कारागारका प्रमुख श्याम लामिछानेले भने, ‘तरपनि एक प्रकारले राम्रो र नेपालमै पहिलो कारागारको रुपमा निर्माण भइरहेको छ ।’

 
बाँके जानकी गाउँपालिका वडा नं.६ गनापुरमा निर्माण भइरहेको खुल्ला कारागारको सुरक्षा ब्यारेक निर्माण कार्य पूरा भएर हस्तान्तरण भइसकेको र बाँकी भौतिक संरचना निर्माण कार्य भइरहेको प्रमुख लामिछानेले बताए । गनापुर औद्योगिक क्षेत्रको पश्चिम तर्फ निर्माण भइरहेको खुल्ला कारागार बारे विभिन्न मापदण्ड निर्माण सम्बन्धी कार्यहरु अघि बढिरहेका छन् । १ करोड ४६ लाखको लागतमा सुरक्षा निकाय बस्ने ब्यारेक निर्माण पूरा भएपछि अन्य भौतिक संरचना निर्माण सम्बन्धी टेण्डर अहवानको काम सुरु भएको छ ।

 
‘भन्सार विभागले भौतिक संरचना निर्माणका लागि प्रक्रियाहरु पूरा गरिरहेको छ’, लामिछानेले भने, ‘अन्य संरचना पनि चाँडै निर्माण हुने तयारी छ । कस्तो बन्दी, कति सजाय पाएको र कुन सजाय पाएकोलाई खुल्ला कारागारमा राख्न पाइने भन्ने विषयमा अझै छलफल भइरहेको छ ।’

 
‘जिल्ला न्यायाधीशको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको सहभागितामा रहेको समितिले बन्दीको मापदण्ड निर्धारण गर्ने भनिएको छ’, लामिछानेले भने, ‘सो सन्दर्भमा अझै छलफल भइरहेको छ ।’
‘विभिन्न कोठाहरु निर्माण हुने तयारीमा रहेको खुल्ला कारागारमा बन्दीहरु आफ्नो परिवार सहित बस्न पाउने, दिउँसो आफ्नो पेशा रोजगार गर्न पाउने र रातिको समयमा मात्र कारागारमा बस्न आउनु पर्ने ब्यवस्था सहितको छलफल र मापदण्ड अघि बढाइएको छ’, लामिछानेले भने, ‘प्रष्ट मापदण्ड आएपछि सो सन्दर्भ पनि टुंगो लाग्नेछ ।’
तीन हजार कैदी बन्दी राख्न सक्ने क्षमताको क्षेत्रीय कारागार बाँके नौवस्तामा निर्माण जारी छ । ‘कारागार तीन हजार क्षमताको बन्दी अट्न सक्ने खालको निर्माण भइरहेको छ’, कारागार प्रमुख लामिछानेले भने, ‘त्यसपछि नेपालगन्ज कारागारमा बढेको चापलाई सहजै ब्यवस्थापन गर्न सकिन्छ ।’

 
क्षेत्रीय कारागारको पनि सुरक्षा ब्यारेक निर्माण पूरा भएर बाँकी भौतिक संरचना निर्माणको क्रममा रहेको छ । नेपालगन्ज कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी र थुनुवाको रहेको सन्दर्भ पटक पटक विवादमा तानिएपछि सरकारले क्षेत्रीय कारागार निर्माण थालेको हो । ३ सय जनाको क्षमता रहेको नेपालगन्ज कारागारमा ५६ महिला सहित ६ सय ५४ कैदी बन्दी र थुनुवा रहेका छन् । अन्य जिल्लाको समेत रिफरल कारागार भएको कारण बाँकेमा अन्य कैदीबन्दी र थुनुवाको संख्यामा बृद्धि हुने गरेको लामिछानेले बताए ।

 
‘छिमेकी जिल्लामा मुद्दा चलेका वा पुर्पक्षको लागि थुनामा रहेका कैदीबन्दी थुनुवाहरु उपचारको लागि नेपालगन्ज कारागार सरुवा भएर आउने गरेका कारणले पनि यहाँ चाप बढ्ने गरेको छ’, लामिछानेले भने, ‘नेपालगन्ज कारागारमा सबै भन्दा बढी लागु औषधको कारोबारी र ओसारपसारमा संलग्न १७९ जना, कर्तव्य ज्यान १६६, बलात्कारको मुद्दामा ७६ कैदी २७ थुनुवा गरी १०३, अपहरण र शरिर बन्धक गरी ४७ जनाले कैदीबन्दी र थुनुवाको रुपमा रहेका छन् ।’

 
केही सार्वजनिक अपराधका मुद्दा र पटके चोरीको मुद्दामा जसले एक दुई हजार जरिवाना समेत तिर्न नसकेर सजाय काट्न कारागार पठाउने गर्दा पछिल्लो समयमा कारागारमा थुनुवा र कैदीको संख्यामा बढोत्तरी हुने गरेको पाइएको छ । नेपालगन्ज कारागारमा रहेका कैदी थुनुवा मध्ये ५४ जना गैर नेपाली छन् । उनीहरुमा १ जना पाकिस्तानी २ जना बंगलादेशी र बाँकी ५१ जना भारतीय नागरिक विभिन्न मुद्दामा कैदीबन्दीको रुपमा थुनिएका छन् ।
एक जना पाकिस्तानी नागरिक र २८ जना भारतीय नागरिक लागु औषध ओसार पासार र कारोवारको मुद्दामा, २ जना बंगलादेशी कृर्ते नागरिकता र राहदानी बनाएको मुद्दामा, ३ जना बलात्कार, १ जना मानव बेचविखन, ५ जना कर्तव्य ज्यान, १ ज्यान मार्ने उद्योग, एक महिला सहित ४ जना अपरहरण र शरिर बन्धक बाँकी ७ जना विविध मुद्दामा थुनामा रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया