नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा उच्च स्तरीय ट्रमा सेन्टर स्थापना गर्न पहल थालिएको छ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले त्यसका लागि सकारात्मक धारणा व्यक्त गरेपछि पहल अगाडि बढाइएको हो ।
प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले त्यसका लागि सोमबार भेरी अञ्चल अस्पतालसँग छलफल गरेका छन् । प्रदेश सभा सदस्य हमालले भारतीय राजदुत पुरीसँग आइतबार एउटा कार्यक्रममा औपचारिक रुपमै उक्त प्रस्ताव गरेका थिए । राजदुत पुरीले सांसद हमालको प्रस्तावमा सकारात्मक धारणा व्यक्त गरेपछि कार्यक्रम आयोजक नेपाल–भारत मैत्री संघले आर्थिक सहयोग जुटाउन पहल थालेको जनाएको छ ।
‘त्यसका लागि अस्पतालको औपचारिक पत्र सहित हाम्रो एउटा टोली भारतीय दुतावास जान लागेका छौं’, नेपाल–भारत मैत्री संघका अध्यक्ष प्रदिप कुमार गुप्ताले आफुसँगै केन्द्रीय सदस्य धु्रव दाहाल जान लागेको जानकारी दिंदै भने । अध्यक्ष गुप्ताका अनुसार, संघको केन्द्रीय बैठक पनि हुन लागेकाले केन्द्रीय समिति समेतले सहयोग गर्ने आशा गरिएको छ । ‘त्यस लगत्तै केन्द्रीय साधारणसभा पनि गरिंदैछ’, केन्द्रीय सदस्य समेत रहेका गुप्ताले नेपाल–भारत मैत्री संघको विशेष पहलमा भारत सरकारको सहयोग भित्र्याउन आफु लागि पर्ने योजना सुनाए । साधारणसभाका लागि नेपालगन्जबाट ठूलो टोली काठमाडौं जान लागेको जानकारी दिंदै गुप्ताले भने, ‘राजदुत नै सकारात्मक भएकाले एकपटक दुतावासमै औपचारिक छलफल गर्नेछौं ।’
भेरी अञ्चल अस्पतालमा उपचारका लागि भारतीय बिरामीहरु पनि उत्तिकै आउँछन् । उच्चस्तरीय ट्रमा सेन्टर बनेमा नेपालीसँगै सीमावर्ती क्षेत्रका भारतीयहरुको पनि उपचारका लागि सुविधा उपलब्ध हुने भएकाले राजदुत पुरी सकारात्मक देखिएका छन् । फत्तेबाल आँखा अस्पतालको सेवा बिस्तारमा भारत सरकारले ठूलो आर्थिक सहयोग गरेको छ । भारतीय नागरिकहरुको ठूलो उपस्थिति रहने बिरामीको संख्यामा आँखा अस्पताल अगाडि छ । ‘भारतीय कामदारहरु नेपालगन्जमा ठूलो संख्यामा छन्’, भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले दैनिक नेपालगन्जसँग भने, ‘उद्योग कलकारखानामा काम गर्ने मजदुरहरु सधै ट्रमाको जोखिममा रहने हुनाले पनि ट्रमा सेन्टरको आवश्यकता खड्किएको हो ।’
डा. थापाका अनुसार, बढी मात्रामा सर्पदंशका बिरामीहरु भारतका विभिन्न सीमावर्ती जिल्लाबाट भेरी अञ्चल अस्पतालमा उपचारका लागि आउँछन् । ‘ट्रमा सेन्टर बन्यो भने सडक दुर्घटनामा घाइतेहरुका लागि पनि ठूलो राहतको विषय बन्छ’, डा. थापाले भने ।
राजदुत पुरीसँग सांसद हमालले नेपाली खेलाडीहरुलाई भारतका स्तरीय प्रशिक्षण केन्द्रमा छात्रवृत्तिको प्रस्ताव पनि गरेका थिए । ‘राजदुत पुरी दुवै कुरामा सकारात्मक हुनुहुन्छ’, अध्यक्ष गुप्ताले पुरीसँग भएको छलफलबारे जानकारी दिंदै भने, ‘यस विषयमा पनि हामी फलोअप गर्नेछौं ।’ सांसद हमालले भेरी अञ्चल अस्पताललाई काठमाडौं बाहिर सुविधा सम्पन्न ट्रमा सेन्टर नभएकाले भएको अप्ठ्यारो र त्यसको आवश्यकताबारे अध्ययन गरी ‘लेटर अफ इन्टे«ष्ट’ तयार गर्न निर्देशन पनि दिएका छन् ।