राप्तीसोनारीको समशेरगन्ज स्थित मनमोहन पार्क नजिक गौशाला अवलोकन गरिंदै ।
पछिल्ला दिनहरुमा चौपायाको अस्तव्यस्तताले नगर कुरुप बन्दै गएपछि नेपालगन्जले व्यवस्थापनका लागि विकल्प खोज्न लागि परेको छ
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो छाडा चौपायाको बिगबिगी न्यूनीकरणका लागि व्यवस्थापनको विकल्प खोज्न थालिएको छ । नेपालगन्जबाट जंगल क्षेत्रमा लगिने कार्यलाई राष्ट्रिय निकुञ्जले निरुत्साहित गरेपछि छाडा चौपायाको व्यवस्थापनका लागि विकल्प खोज्न लागिएको हो ।
त्यसका लागि सोमबार एउटा उच्चस्तरीय टोली राप्तीसोनारीको समशेरगन्ज जंगल क्षेत्रमा रहेको गौशाला स्थलगत अनुगमनमा पुगेको छ । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगन्जको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी समेत सम्हालेकी उपप्रमुख उमा थापा मगर, कोहलपुरका नगर प्रमुख लुट बहादुर रावत सहितको उच्च स्तरीय टोली उक्त गौशाला क्षेत्रको स्थलगत अनुगमनमा पुगेको हो ।
राप्तीसोनारीका प्रमुख लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री समेतको सहभागितामा भएको अनुगमनका क्रममा व्यवस्थित रुपमा सञ्चालन भैरहेको स्थानीय गौशाला सञ्चालक समितिसँग उच्चस्तरीय टोलीले अन्तरक्रिया पनि गरेको छ । ‘उचित व्यवस्थापनका लागि विकल्प खोज्ने क्रममा प्रारम्भिक अध्ययन थालेका छौं’, प्रमुख जिल्ला अधिकारी भुजेलले दैनिक नेपालगन्जसँग भने, ‘त्यसक्रममा राप्तीसोनारीको समशेरगन्ज स्थित गौशाला पुगिएको हो ।’
टोलीले स्थानीयबासीसँग समेत छलफल, अन्तरक्रिया गरेको छ । दैनिकजसो सडक दुर्घटना बढ्ने, सहर नै कुरुप हुने अवस्था आएपछि छाडा चौपाया व्यवस्थापनमा सबैको चासो केन्द्रित भएको हो । ‘नेपालगन्ज मात्रै होइन कोहलपुरमा पनि समस्या सिर्जना हुन थालेको छ’, प्रजिअ भुजेलले सामूहिक प्रयासमा छाडा चौपाया व्यवस्थापनको प्रभावकारी उपाय खोज्न प्रयास भैरहेको जानकारी दिंदै भने, ‘केही समस्या बाहेक गौशाला क्षेत्रमा व्यवस्थापनको सम्भावना देखिएको छ ।’
अन्तरक्रियाका क्रममा स्थानीयबासीहरुले पठाइएका पशु, चौपायाहरु छाडा छोड्न नहुने कुरामा जोड दिएका थिए । उनीहरुले बाली, नाली खाने अवस्था भएमा आफुहरु गौशालाको पक्षमा नहुने चेतावनी पनि दिए । अहिले पनि झण्डै २ सयको हाराहारीमा पशु, चौपाया आश्रित रहेको मनमोहन पार्क नजिकको गौशालामा सामान्य व्यवस्थापनबाटै ठूलो संख्यामा चौपाया राख्न सकिने सम्भावना औंल्याइएको छ । ‘तारबारदेखि गोठ निर्माणसम्मका कामहरु गर्न आवश्यक छ’, प्रजिअ भुजेलले पशु, चौपायाका लागि पानीको व्यवस्थापनदेखि हरियो घाँसपात नहुँदा परालको व्यवस्था गरिनुपर्ने देखिएको जानकारी दिंदै भने ।
राप्तीनदीको छेउमै भएकाले बाढीको जोखिम भने गौशालालाई रहने जानकारी स्थानीयबासीले दिएका छन् । ‘कहिलेकाहीँ बाढीको जोखिम रहेको देखियो’, स्थानीयबासीलाई उद्धृत गर्दै प्रजिअ भुजेलले भने, ‘होचो भुभाग भएकाले बाढीको जोखिम बाहेक अरु खासै ठूलो समस्या छैन ।’
छाडा चौपायाका कारण दुर्घटनाबाट प्रहरी समेत घाइते हुनेदेखि कतिपयको ज्यानै गएको अवस्था छ । छाडा चौपायाले गर्ने फोहोरका कारण नेपालगन्जको फोहोर व्यवस्थापन समेतमा चुनौति थपिंदै गएको छ । नगरलाई पशु, चौपायाका कारण हुने दुर्घटना र फोहोर न्यूनीकरणका लागि स्थायी समाधान खोज्न नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राजमार्गमा हुने दुर्घटना समेतको कारक रहेको भन्दै सुरक्षा चासो समेत उत्तिकै बढ्दै गएको हो । ‘त्यससँगै अरु विकल्प र सम्भावनाहरुमा पनि ध्यान पुर्याइने छ’, प्रजिअ भुजेलले भने ।