प्रदेश ५, प्रदेश राजधानी टुङ्ग्याउन समिति

प्रदेश ५ ले प्रदेश नामाकरण र स्थायी राजधानीको टुङ्गो लगाउन समिति गठन गरेको छ । बिहिबार भएको संसदको दोस्रो अविधेशनको अन्तिम बैठकमा प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि विशेष समिति गठन गरेको हो ।

 

 
दाङ वा बुटवल प्रदेशको स्थायी राजधानी हुने विषय पेचिलो बन्दै गएपछि समिति गठन गरिएको हो । बैठकमा प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तिले तीन महिनामा प्रतिवेदन बुझाउने गरी १५ सदस्यीय विशेष समितिको नाम घोषणा गरेका थिए ।

 

 
समितिको सदस्यहरुमा रुपन्देहीबाट तुल्सी चौधरी र रमा अर्याल रहेका छन् । अर्घाखाँचीबाट कल्पना पाण्डे, निर्मला क्षेत्री र चेतनारायण आचार्य छन् । त्यस्तै कपिलवस्तुबाट विष्णु पन्थी र सहषराम यादव, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य, बर्दियाबाट भुवनेश्वरी चौधरी, रोल्पाबाट दीपेन्द्र कुमार पुन, प्युठानबाट तारा जीसी, गुल्मीबाट दिनेश पन्थी, दाङबाट सरस्वती गौतम र बाँकेका बाबुराम गौतम रहेका छन् ।

 

 
समितिले तीन महिनामा पूर्वाग्राही नभई उचित र सवैलाई स्वीकार्य हुने गरी प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने छ । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रतिवेदन बनाउँदा सदस्यहरुले आफु कहाँको हो भनि नभनी तयार गरे विवाद उत्पन्न नहुने बताए । सदस्यहरुले आग्रह पूर्वाग्राह नभई प्रतिबेदन बनाए नामकरण र स्थायी राजधानीको टुंगो लगाउन ग्राहो नहुने उनको भनाई छ ।

 

 
जनतालाई विभाजन गर्ने गरी सरकारले काम गर्ने भन्दै मुख्यमन्त्री पोखरेलले सबैलाई सहजता, अनुकुल र स्वीकार्य हुने गरी नामकरण र राजधानीको टुंगो लगाउने बताए । त्यस्तै प्रदेश सभा बैठकले बिहिबार नै ११ सदस्यीय विशेष अधिकार समिति समेत गठन भएको छ । जसमा दाङबाट अमर बहादुर डाँगी, रुपन्देहीका अष्टभुजा पाठक सन्तोष कुमार पाण्डेय, फकरुद्दिन खाँ, गुल्मीका कमलराज श्रेष्ठ, अर्घाखाँचीकी कल्पाना पाण्डे, प्युठानकी तारा जिसी हरि प्रसाद रिमाल, रुकुमका तेज कुमार वली, बाँकेका पार्वती पुन, बावुराम गौतम रहेका छन् ।

 

 
प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सन्तोष कुमार पाण्डेयले प्रदेशको स्थायी नामाकरण र राजधानी छिटटै तोक्नुपर्ने बताए । उनले बुटवल जस्तै भैरहवामा समेत भौतिक पूर्वाधार पर्याप्त रहेकाले कुनै न कुनै मन्त्रालय भैरहवामा लैजानुपर्ने उनले बताए । बैठकमा सांसदहरु भोज प्रसाद श्रेष्ठ, अमर डाँगी, विमला क्षेत्री, बावुराम गौतम, कुल प्रसाद पोखरेल लगायतले बोलेका थिए ।

 

 
बैशाख ३१ गते सुरु भएको प्रदेश सभाको दोस्रो अधिवेशन ५३ घण्टा १७ मिनेट बसेर बिहिबार सकिएको छ ।
यसबीचमा पहिलो अधिवेशन सहित प्रदेश सभामा १६ वटा विधेयक प्रस्तुत भएका छन् । लोकसेवा आयोग सम्बन्धी विधेयक अन्य १५ वटा विधेयक प्रदेश सभा बैठकबाट पास भएका छन् । विषयगत समिति र विशेष समिति सहित ८ वटा समितिहरु गठन भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया