बाघ संरक्षणकै लागि भनेर स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा उद्देश्य प्राप्तिका लागि सामुदायिक साझेदारीबाट संरक्षण पहल थालिएको छ । राष्ट्रिय निकुञ्ज र सुरक्षार्थ तैनाथ नेपालीको सेनाको गणले समुदायसँगको साझेदारीमा बाघ संरक्षण कार्यलाई तिव्रता दिएको हो । ‘यसले संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणमा पनि उल्लेख्य सहयोग पुर्याएको छ’, निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले दैनिक नेपालगन्जसँग भने ।
बाँके राष्ट्रिय निकुञ्ज मुलुककै सबैभन्दा कान्छो निकुञ्ज हो । बाँकेसँगै बर्दिया, दाङ्ग र सल्यानको भुभागलाई समेटेर सन् २०१० जुलाई १२ तारिखमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको अध्यक्षमा बसेको मन्त्रीपरिषद् बैठकले बाघ संरक्षणको प्रमुख उद्देश्यका साथ निकुञ्ज घोषणा गरेको थियो । ‘उद्देश्य प्राप्तिका लागि निकुञ्ज प्रशासन, सेना र समुदायबीच दरिलो साझेदारी अपनाइएको छ’, अधिकृत भण्डारीले ५ सय ५० वर्गकिलोमिटर क्षेत्रफलको बाँके निकुञ्ज बिस्तारै बाघको सुरक्षित बासस्थान बन्दै गैरहेको औंल्याउँदै भने ।
निकुञ्जले वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापन गर्न ‘वन्यजन्तुलाई जंगलभित्रै र मानवलाई जंगल बाहिरै व्यवस्थित गर्ने विधि’ पनि अवलम्वन गरेको छ । ‘खासगरी वन्यजन्तुलाई जंगलभित्रै व्यवस्थापन गर्न विशेष पहल भैरहेको छ’, वन्यजन्तुलाई आवश्यक आहाराको संरक्षणदेखि तारजाली सम्मका व्यवस्थापनबारे जानकारी दिंदै संरक्षण अधिकृत भण्डारीले भने, ‘धेरै हदसम्म हामी सफल भैरहेका छौं ।’ निकुञ्ज, सेना र मध्यवर्ती क्षेत्रका समुदाय बीचको समन्वय र सहकार्यले नै सफल बनाउने विश्वास सम्बद्धहरुको छ ।
स्थापनाको आठ बर्षमा व्यवस्थित बन्दै संस्थागत संरचनामा पनि सुदृढ भैरहेको निकुञ्ज प्रशासन बाघका लागि सुहाउँदो बासस्थान खोजी र व्यवस्थापनमै मुख्यत केन्द्रित छ । ‘घाँसे मैदानको व्यवस्थापन र पानी पोखरी निर्माणमा जोड दिएका छौं’, बाघको सुहाउँदो बासस्थानसँगै १० देखि २० हेक्टरसम्मका आधादर्जन घाँसे मैदान र झण्डै २५ ठाउँमा पानी पोखरी निर्माण गरिसकेको जानकारी दिंदै संरक्षण अधिकृत भण्डारीले भने, ‘यसले सुख्खायाममा पनि पानी र हरियो घाँस प्राप्त हुँदा बाघ र बाघका आहारा प्रजातिका वन्यजन्तुका लागि सहज अवस्था बनेको छ ।’
सन् २०१३ मा भएको बाघको राष्ट्रिय गणनामा ४ वटा मात्र बाघ फेला परेको बाँके निकुञ्जमा बर्षेनी बाँघको संख्या बढिरहेको छ । राष्ट्रिय रुपमा ५ बर्षमा गणना गरिने बाघको संख्या १ सय भन्दा कम रहेको निकुञ्जमा भने बर्षेनी गणना भैरहेको छ । यसैबर्ष पनि गत पुसमा सुरु भएको गणनाको परिणाम सार्वजनिक गरिएको छैन । ‘गतबर्षको क्यामेरा ट्यापिङ्ग पद्धतिबाट गरिएको गणनामा ११ वटा बाघ देखा परेको अपुष्ट तथ्यांक निकालिएको थियो’, निकुञ्जका अनुसार, २ वटा बाघ बाँके, बर्दिया दुवैका क्यामेरामा देखा परेको थियो । ‘र डाटाले पनि बाघको संख्या बढेको पुष्टि हुन्छ’, संरक्षण अधिकृत भण्डारीले डाटा विश्लेषण भैरहेकाले पछिल्लो गणनाको तथ्यांक आउन ढिलाई भएको जानकारी दिंदै भने, ‘संख्या पक्कै बढेको छ, कति बढ्यो भन्ने कुराको एकिन गणनाको नतिजा सार्वजनिक भएपछि मात्रै भन्न सकिन्छ ।’
यसैबीच, आइतबार अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको छ । बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती व्यवस्थापन समिति, सेना र निकुञ्ज प्रशासन बीच अन्तरक्रियाको आयोजना गरी बाघ दिवस मनाएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जापुनको अध्यक्षतामा भएको अन्तरक्रियामा बाघ संरक्षणमा सामुदायिक साझेदारीबारे छलफल गरिएको थियो ।
मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, नेपाली सेनाका गणपति बासुदेव धिमाल, संरक्षण अधिकृत लाल बहादु भण्डारी लगायतले बाघ संरक्षणका उपलब्धी र यसले पार्ने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।
चार वर्षअघि सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १ सय ९८ पुगेको तथ्याङ्कले जनाएको छ ।
त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना यो वर्ष गर्ने तयारी रहेको वन्यजन्तु संरक्षण विभागले जनाएको छ । नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्याउने लक्ष्य अनुसार संरक्षणको काम भैरहेको सरकारले जनाएको छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्स बर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष दिवस मनाउने गरिन्छ । सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य पनि निर्धारण गरेको थियो । विश्वमा अहिले झण्डै साढे ३ हजारको हाराहारीमा बाघ रहेका छन् ।