नेपालगन्ज न्यूरोडका बासिन्दाले न्यूरोड निर्माण तत्काल सक्न माग गरेका छन् । निर्माण सुरु भएको सडक बीचमै रोकिंदा सडक अस्तव्यस्त भएको गुनासो स्थानीय घरधनी तथा व्यवसायीहरुको छ । सडक निर्माण रोकिएपछि यात्रु तथा व्यवसायीलाई समस्या देखिन थालेपछि न्यूरोड टोल सुधार समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । ‘सहरी विकास तथा भवन डिभिजन कार्यालय र नेपालगन्ज नगर विकास समितिलाई समस्याबारे ध्यानाकर्षण गराइएको हो’, समितिका महासचिव भीम बहादुर रानाभाटले भने ।
महासचिव रानाभाटले न्यूरोड ग्रिन बेल्टमा लगाइएका सडक बिग्रार्न सक्ने खालका रुखको ठाउँमा सडकलाई असर नपर्ने रुख रोप्न दुवै कार्यालयको ध्यानाकर्षण गराइएको जानकारी दिए । ‘न्यूरोड क्षेत्रमा फोहोर व्यवस्थापनमा देखिएको समस्या, सडकमै राखिने गरेका निर्माण सामाग्रीले पारेको समस्याका बारेमा पनि अवगत गराइएको छ’, रानाभाटले दुवै कार्यालयले समितिले राखेका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएको बताए ।
डिभिजनका इन्जिनियर होमनाथ भुसाल, नगर विकास समितिका गोपाल पुनले महासचिव रानाभाट, झबिन्द्र पौडेल र सुदिप खड्काले बुझाएको ध्यानाकर्षण पत्र बुझेका थिए । फोहोर व्यवस्थापन लगायतका विषयमा समितिले उपमहानगरपालिकामा पनि ध्यानाकर्षण पत्र बुझाउने तयारीमा रहेको महासचिव रानाभाटले बताए ।