आज नेपालगन्जमा माक्र्सवाद पढाइँदै

समाचारदाता
दैनिक नेपालगन्ज

माक्र्सवाद के हो ? दुई सय बर्षपछि पनि उत्तिकै सान्दर्भिक बन्दै गैरहेको कार्ल माक्र्सको नीति, सिद्धान्त र विचार बारे नेपालगन्जमा आजबाट प्रदेश स्तरीय प्रशिक्षण हुँदैछ । कार्लमाक्र्स जन्म द्वीशतबार्षिकी समारोहको सन्दर्भमा प्रदेश स्तरीय प्रशिक्षण गर्न लागिएको हो । ‘देशभर १० हजार युवालाई माक्र्सवाद पढाउने छुट्टै कार्यक्रम पनि चलाइँदैछ’, कार्ल माक्र्स जन्म द्वीशतबार्षिकी समारोह समितिका प्रदेश ५ का संयोजक ठाकुर गैरेले बिहिबार तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसअघि सातवटै प्रदेशमा सामाजिक, राजनीतिक अगुवाहरुलाई यसबारे अनुशिक्षण गरिंदैछ ।’

 
देशभरको प्रशिक्षणपछि छानिएकाहरुलाई प्रशिक्षक प्रशिक्षण दिइनेछ । प्रदेश संयोजक गैरेका अनुसार, उनीहरु प्रशिक्षकका रुपमा ३० बर्ष मूनि उमेर समूहका युवाहरु माझ माक्र्सवाद पढाउन जानेछन् । यसरी कार्ल माक्र्स जन्मिएको दुई सय बर्ष पुगेको अवसरमा नेपालीहरुलाई माक्र्सवादलाई बृहत रुपमा बिस्तार गर्न खोजिएको बताइएको छ ।
आज शुक्रबार र शनिबार प्रदेश ५ का १२ वटै जिल्लाबाट झण्डै १ हजार प्रतिनिधि प्रशिक्षणमा सहभागी हुँदैछन् । ‘तयारी पूरा भएको छ’, पत्रकार सम्मेलनमा संयोजक गैरेले भने, ‘कतिपय सहभागी आउने क्रम पनि सुरु भैसकेको छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका वरिष्ठ नेताहरुको वक्तव्य रहने उद्घाटन सत्रपछि दुई दिनसम्म चल्ने प्रशिक्षणमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह मुख्य प्रशिक्षकका रुपमा प्रस्तुत हुनेछन् । ‘प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि आमन्त्रण गरेका छौं’, गैरेले कार्यक्रमको भव्यता बारे भने ।
आयोजक समितिका संयोजक गैरेका अनुसार, नेकपाका स्थायी समिति सदस्य समेत रहेका मूल समारोह समितिका घनश्याम भुषाल र सहसंयोजक राम कार्की मात्रै होइन नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरी, गणेश शाह लगायतले पनि विषयगत प्रशिक्षण गर्दैछन् । नेपालगन्जमा प्रशिक्षण सकिए लगत्तै कर्णाली प्रदेशका लागि सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया