बडाबासीको माग किरिया घरदेखि वृद्धाश्रमसम्म
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जको धम्बोझी वडा नं. १ हो । वडाबासी आइतबार एकै ठाउँमा भेला हुने अवसर झुर्यो । त्यो अवसर वडा कार्यालयले नै जुराइदिएको हो । वडा नं. १ कार्यालयले सार्वजनिक सुनुवाईका आयोजना गरेपछि वडाबासीले जम्मा भए वडाले गरेका विकासका काम मात्र थाह पाएनन् आफ्ना गुनासाहरु समेत राख्ने अवसर पाए ।
नेपालगन्ज उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई गर्न धम्बोझी पहिलो वडा हो । वडाध्यक्ष प्रमोद रिजालले निर्वाचित भएको एक बर्ष पूरा भएसँगै आ.व. ०७४÷०७५ कार्यसमिक्षा र वडाबासीको धारणा बुझ्न, उनीहरुका गुनासा सुनेर आगामी दिनमा रणनीति तय गर्न सार्वजनिक सुनुवाई आयोजना गरेको बताए । धम्बोझी त्यस्तो वडा हो जसले राजनीतिक आस्था भन्दा पनि विकासको भरोसामा गतबर्ष मतदान मार्फत जनप्रतिनिधि छनोट गरेको थियो । फरक पार्टीका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई अत्याधिक मत दिएका वडाबासीले सार्वजनिक सुनुवाईमा खुलेर वडाले गरेका कामहरुको सरहना गरे, आलोचना गरे र सुझाव दिए ।
सहजीकरण गरेको बासले बडाबासीसँग वडाका कार्यबारे संकलन गरेको विचारको सार्वजनिक गरेपछि वडाध्यक्ष रिजालले चालु आ.व.का कामहरु एकएक गर्दै वडाबासी सामु राखे । त्यसक्रममा उनले वडाको समग्र बिकासका लागि वडा कार्यालय लागि परेको बताएका थिए । वडाबासीको सहयोग भएमा ५ बर्ष भित्र वडानम्बर १ लाई नेपालगन्जको पहिलो वडा बनाउने उद्घोष गरे । योजनाहरुमा बजेट छर्ने भन्दा निश्चित योजनाका लागि बजेट छुट्याएर प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता रिजालले राखे ।
वडाध्यक्ष रिजालले भौतिक पूर्वाधार निर्माण, बाटोघाटो, सडक नाला बाहेक स्वास्थ्य, शिक्षा, खेलकुद जस्ता विषय टोल भेलाहरुबाट आउने नसकेकोमा वडाबासीको ध्यानाकर्षण गराए । उनले खेत बाँझो नराख्न, आफ्नै बारीमा उत्पादन गरी तरकारीमा आत्मनिर्भर बन्न, विकास, निर्माणका काममा चासो दिएर निगरानी गर्न वडाबासीसँग आग्रह गरे ।
सार्वजनिक सुनुवाईमा बोल्दै धम्बोझी माविका प्राचार्य किरण आचार्यले विद्यालयलाई नमूना बनाउन जग्गा अभाव रहेको बताइन् । उनले विद्यालयले भवन भत्काएर पार्क बनाउन लागिएको भन्दै विकल्प खोज्न आग्रह समेत गरिन् ।
स्थानीयबासिन्दा प्रदिप डिसीले सन्तानविहीन नागरिकलाई लक्षित गरी वृद्धाश्रम निर्माणमा वडाको ध्यानाकर्षण गराए । उत्पादनको बजारीकरणका लागि कोल्ड स्टोरको आवश्यकता औंल्याउँदै डिसीले त्यसो भएमा एक घर एक उत्पादन नीति सफल हुने धारणा राखे ।
वाटरपार्क धम्बोझीको चिनारी भएको उल्लेख गर्दै डिसीले वाटरपार्कलाई वडाको पहिचान बनाउन वडाका योजना के छन् भनि प्रश्न गरेका थिए । उनले वडामा सेफ्टीट्यांकी नालमा मिलाउनेदेखि व्यक्तिगत स्वार्थका लागि बाटो नै बङ्ग्याउने काम भैरहेको भन्दै वडाको ध्यानाकर्षण गराए । खड्क बहादुरले आफ्नो टोलमा हुने गरेका विकासका कामहरुबारे जानकारी नहुने गरेको भन्दै सबैलाई जानकारी हुने व्यवस्था मिलाउन वडासँग आग्रह गरे । असारमा मात्रै विकासको कामले तिव्रता पाउने प्रति प्रश्न गरेका खड्काले खानेपानीको व्यवस्था नभएकाले त्यसको व्यवस्थापन गर्न वडासँग आग्रह गरे । उनले फोहोर व्यवस्थापनका लागि वडाको योजना माग समेत गरेका थिए ।
‘एक पटक पोलमा बत्ती बल्यो, बिग्रेपछि कोही बनाउन आएन’, बल बहादुर थापाले भने, ‘उज्यालो धम्बोझी भनेर मात्रै हुँदैन निरन्तर पोलमा बत्ती बल्ने व्यवस्था गरिनुपर्छ ।’ विरेन्द्र बहादुर थापाले आवश्यकता अनुसार बाटो निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले भने, ‘सेन्टथोमस विद्यालय जाने बाटो नबन्दा केटाकेटी बोकेर ओहोरदोहोर गर्नुपर्ने अवस्था छ ।’ मिना ढकालले सरसफाईमा प्लाष्टिक चुनौति बन्दै गएको भन्दै वडा नं. १ लाई प्लाष्टिक मुक्त बनाउने योजना बनाउन वडासँग माग गरिन् । उनले लागु औषध, सरसफाईका लागि नैतिक शिक्षा, गुनासो सुन्न हटलाइनको व्यवस्था गर्न माग गरेकी थिइन् ।
संगम टोलबासी भोजराज शर्माले विकासका योजना प्राथमिकिकरणका लागि आव्हान गरिएको टोल भेलाबारे आवश्यक प्रचार नभएको भन्दै प्रश्न गरे, ‘आवश्यक मात्रामा भेलाबारे प्रचार नै भएन ।’ उनले सार्वजनिक सुनुवाई, टोल भेला गर्दा टोलकै व्यक्तिलाई खबर गर्ने जिम्मा दिए प्रभावकारी हुने धारणा राखे । शर्माले सार्वजनिक सुनुवाईमा प्रस्तुत सर्वेक्षण रिपोर्ट प्रति नै प्रश्न उठाएका थिए । संगम टोलमा पानी निकासीका बनाइएको नालीले पानीको निकास दिन नसक्दा समस्या झन् बढेको प्रति वडाको ध्यानाकर्षण शर्माले गराएका थिए । ‘पानी निकासका लागि बनाइएको नाला विपरित दिशामा बग्छ’, शर्माले भने ।
अरविन्द कुमारले धम्बोझीको शिव मन्दिर जाने नाला सिधा नलगेर एल आकारमा बनाइएको विषय उल्लेख गर्दै यसले अन्यलाई पनि नाला र सडकका लागि क्षेत्रफल छाड्न निरुत्साहित गर्ने बताए । उनले त्यहाँ कुनै व्यक्तिले नालाका लागि ठाउँ नछाड्न नाला जथाभावी निर्माण गरिएको टिप्पणी गरेका थिए । अनन्त देवकोटाले विशाल नगर चोकमा खाल्टो रहेको भन्दै त्यसलाई पुर्ने व्यवस्था गर्न माग गरे । हिम सुनारले दलितका लागि योजना ल्याउन वडासँग माग गरे ।
मोतीलाल थापाले वडामा हुने विकास निर्माणमा प्रत्येक वडाबासीले चासो दिएर निगरानी गर्नुपर्ने धारणा राखे । ‘वडाले मात्रै गरेर हुँदैन यो हामीसबैको जिम्मेवारी हो भन्ने बोध हुनुपर्छ’, थापाले भने । उनले उपभोक्ता समिति बाहेक अन्यलाई पनि के काम, कति लागतमा हुँदैछ भन्ने जानकारी हुने व्यवस्था मिलाइनु पर्ने बताए ।
कमला पोखरेलले धम्बोझीमा घर तथा कोठा बहालमा लिएर बस्नेहरुको संख्या उल्लेख रहेको बताउँदै उनीहरुको सुविधाका लागि वडामा किरिया घर निर्माण गर्न वडासँग माग गरिन् । ‘घरधनीले किरिया बस्न दिंदैनन्, यसले भाडामा बस्नेहरुका लागि निकै समस्या भएको छ’, पोखरेलले भनिन् ।
वडाबासीले उठाएका प्रश्नको समाधान गर्दै अध्यक्ष रिजालले २०५४ सालमा नै नगरपालिकाले धम्बोझी स्कुलले भवन बनाउनु अघि नै बाल उद्यान बनाउने निर्णय गरेकाले बनेको भवन भत्काउनु पर्ने अवस्था आएको जानकारी दिए । उनले विद्यालयलाई सोको जानकारी दिंदादिंदै पनि भवन निर्माण गरिएको र हाल बाल उद्यानका लागि बजेट आइसकेको जानकारी आफुले पाएको बताएका थिए ।
अध्यक्ष रिजालले बजारीकरण भन्दा स्वास्थ्यका लागि आफ्नै बारीमा उत्पादन गरेर तरकारी किनेर खाने अवस्थाको अन्त्य होस्, बारी बाँझै नरहुन् भन्ने नीति वडाको रहेको बताए । त्यस्तै वृद्धाश्रम खोल्न भन्दा छोराछोरीलाई जिम्मेवार बनाउनु पर्ने धारणा अध्यक्ष रिजालको थियो । उनले सन्तानविहीनहरुका लागि वृद्धाश्रम खोल्ने कुरा सकारात्मक रहेको भन्दै त्यसका लागि विचार गरिने बताए ।
‘नालीमा ढल मिसाउनु अपराध हो’, वडाध्यक्ष रिजालले त्यस्तो कार्य गरेको पाइएमा कारवाही गरिने चेतावनी दिए । उनले बाटो, सडक माग गर्दा त्यसका लागि क्षेत्रफल छाड्न पनि अग्रसर हुन वडाबासीलाई आग्रह गरे । उनले हाल चलनचल्तीमा रहेको बाटोको बीचबाट दुवैतर्फ नापेर सडक क्षेत्रफलका लागि जग्गा माग गरिने बताए । अध्यक्ष रिजालले सबैको सहयोगले मात्र बाटो, नाला निर्माण हुनसक्ने भन्दै कसैको जग्गा जबर्जस्ती सडकका लिन नसकिने उल्लेख गरे ।
‘वाटरपार्क दुई बर्षभित्र बन्ने योजना हो’, अध्यक्ष रिजालले वडालाई वाटरपार्क वडालाई हस्तान्तरणपछि त्यसलाई थप योजनाका साथ अगाडि बढाउने बताए । ‘वाटरपार्क हाम्रो अधिनमा आएपछि वडा नं. १ र १८ को समन्वयमा थप योजना अगाडि बढ्छ’, रिजालले भने । वडा भित्र एडिबीको सहयोगमा निर्माण भैरहेका योजनाहरु टुक्रामा जानकारी लिन नसकिएको बताउँदै वडाध्यक्ष रिजालले भने, ‘एडिबीबाट समग्र योजना मात्र जानकारी हुने गरेको छ, वडासँग सडक, नाली क्षेत्रफल छाड्न विवाद भएमा मात्र समन्वय गर्ने गरिएको छ ।’
सडक निर्माणका क्रममा पोल सार्ने काम भैरहेको, वडामा हाल पोल बत्तीकालागि बजेट समेत अभाव रहेकाले आगामी आवमा सबै पोलमा बत्ती जडान गरिने अध्यक्ष रिजालले जानकारी दिए । ‘एक पटक सबै पोलमा बत्ती लगाएका हौं’ उनले बिग्रपछि प्राविधिक अभावमा पुनः जडाका लागि समस्या भएको स्वीकार गर्दै भने, ‘नगरपालिकाबाट वडाले महिनामा २ दिन मात्र त्यस कार्यका लागि प्राविधिक पाउने गरेको छ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले पाँच बर्षभित्र प्रत्येक टोलमा सडक पिच गरिने बताएका थिए । उनले पानी, बत्ती पहुँचमा वडाका सबै टोललाई पुर्याउने प्रतिबद्धता जनाए । ‘बजेट अभावले कतिपय ठाउँमा आवश्यक भएपनि सडक पिच गर्न सकिएको छ’, अध्यक्ष रिजालले भने, ‘आगामी आ.व.हरुमा बन्न नसकेका सडकहरु बनाउँदै जानेछौं ।’ वडा विकासका लागि प्रदेश तथा प्रतिनिधि सांसदहरुबाट समेत सहयोगका लागि पहल गर्ने रिजालले बताएका थिए । उनले योजना छनोटका लागि पर्याप्त मात्रामा सूचना प्रसार गर्ने गरेको बताए । विशालनगरचोकमा रहेको खाल्टो सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले बनाइदिने प्रतिबद्धता गरेको रिजालले जानकारी दिए ।
वडाध्यक्ष रिजालले नगरमा नै किरियाघरको आवश्यकता महसुस गरी उपमहानगरपालिकाले दुई वटा किरिया घर निर्माण गरिरहेको जानकारी दिए । ‘पहिलो बर्षबाट धेरै सिकेको छौं’, वडाध्यक्ष रिजालले वडा बनाउन वडाबासीको साथको आव्हान गर्दै भने, ‘सबै मिलेर वडा नेपालगन्जमै उत्कृष्ट बनाउने हो ।’