अनुसन्धानमा भनिएका अधिकृत विदामा, वन प्रमुख बाहिर, काठमा वन कर्मचारीको मिलोमतो
समाचारदाता
दैनिक नेपालगन्ज
जिल्ला वन कार्यालय बाँकेले खजुरा क्षेत्रबाट बरामद भएको ३३ गोलिया काठमा प्रभावकारी अनुसन्धान गरिरहेको दावी गर्दा अनुसन्धान अधिकृत नै नतोकिएको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले गरेको संयुक्त अप्रेशनमा खजुराको विरपुरमा बरामद भएको सालको ३३ वटा गोलियामा संलग्न तस्करलाई खोज्ने कार्य सुरु भएको दावी गरेको वन कार्यालयका प्रमुख सहित अनुसन्धान अधिकृत पनि विदामा रहेको पाइएको छ ।
लुकाई छिपाई राखेको अवस्थामा प्रहरी र जिल्ला वन कार्यालय बाँके समेतको टोलीले सालको ३३ गोलिया बरामद गरेको थियो । खजुरा गाउँपालिका वडा नं.१ विरपुरमा इन्द्र मल्लको बगैचामा लुकाई छिपाई राखेको काठ कसको भएको भन्ने सन्दर्भमा अनुसन्धान सुरु गरिएको जिल्ला वन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेलले दावी गरेको तथ्य झुठ्ठा प्रमाणित भएको छ ।
बरामद भएको काठ २३० क्यु फिट भएको र घटनामा संलग्नताको आशंकामा रहेका ब्यक्तिहरु बारे अनुसन्धान सुरु गरिएको प्रमुख पौडेलको दावी थियो । उनले विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकारीमा सहायक वन अधिकृत मदन चौधरीलाई तोकिएको बताएका थिए । दैनिक नेपालगन्ज संग मंगलवार कुरा गर्दै अधिकृत मदन चौधरीले आफु विदामा रहेको र तीन दिन अघि मात्र कार्यालयमा फर्किएको बताएका छन् । ‘काठ बरामद भएको प्रसंगमा नै उनलाई जानकारी भएन’, उनले भने, ‘मलाई कुनैपनि अधिकारी तोकिएको छैन । काठ बरामद भएको विषयमा नै मलाई जानकारी छैन ।’
बरामद भएको काठ ब्यक्ति विशेषको भएको र वन कार्यालय आपसी मिलोमतोमा ब्यक्ति माथि मुद्दा नचलाउने श्रोतले दावी गरेपछि गारिएको खोजीमा अनुसन्धान अधिकारी विना नै वन कार्यालयले अनुसन्धान अघि बढाएको खुलेको हो ।
मंगलवार प्रतिक्रियाका लागि गरिएको कुराकानीमा पनि वन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेल आफु काठमाडौमा रहेको घटना बारे अनुसन्धानको जिम्मेवारी मदन चौधरीलाई दिएको प्रतिक्रिया दिएका छन् । मदन चौधरीले आफु विरामी भएका कारण लामो समय देखि भारतमा रहेको र काठ बरामद भएको विषयमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिएपछि बरामद भएको काठ बन कार्यालय भित्र नै अनुसन्धानको बहानामा बेवारिसे रहेको पाइएको हो । वन कार्यालय प्रमुख पौडेलले अनुसन्धान अधिकारीको प्रतिवेदन पछि काठमा थप कारवाही गर्ने बताउँदै आएका छन् ।