समाचारदाता
दैनिक नेपालगन्ज
असार सँगै बाँकेका स्थानीय तहहरुको व्यस्तता बढेको छ । असार १० गतेसम्म बजेट ल्याउनु पर्ने व्यवस्थाका कारण स्थानीय तहका जनप्रतिनिधिहरुलाई बजेटको चटारोले व्यस्तता ल्याएको हो ।
‘दिनभरी वडाध्यक्षहरुसँग बहसमै व्यस्त भइयो’, बजेट बनाउन केन्द्रित भैरहेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले भनिन्, ‘चालु आर्थिक बर्षको बजेटबाट प्राप्त सिकाइका आधारमा आगामी आर्थिक बर्षका लागि केही विशेष गर्न खोजिएको छ ।’ चालु आर्थिक बर्षमा २ अर्ब बढीको बजेट ल्याएको नेपालगन्जले संघीय सरकारको अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शिर्षकका रकम र आन्तरिक आम्दानीबाट बजेट बनाउने तयारीमा छ ।
‘आन्तरिक आम्दानी सोंचे जस्तो नहुने देखिएको छ’, उपप्रमुख थापाले करका विभिन्न शिर्षकहरुमा व्याप्त अन्योलताबारे भनिन्, ‘एकीकृत सम्पत्ति करबाट आन्तरिक आम्दानीको स्रोत राम्रो हुने अनुमान थियो, तर त्यो सम्भावना घटेको देखिंदैछ ।’ थापाका अनुसार, १३ करोडबढी आन्तरिक आम्दानी बाँधेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी बर्षका लागि १५ करोड ११ लाख रुपैयाँ बनाउने योजना राखेको छ ।
खजुरा गाउँपालिकाले बजेटकै सन्दर्भमा मंगलबार राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुसँग छलफल चलाएको छ । गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले गठन गरेको विज्ञ समूहबाट पनि सुझाव संकलन गरिएको जानकारी दिंदै जतिसकिन्छ बढी भन्दा बढी जनसहभागितामा बजेट बनाइने बताए ।