पाउला त नेपालगन्जले हवाई रुट !, आज निर्णय हुँदै

समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जको भाग्य र भविष्यसँग जोडिएको नयाँ हवाई प्रवेश बिन्दुका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय नागरिक उड्डयन प्राधिकरण बीच राजधानी काठमाडौंमा छलफल सुरु भएको छ ।
हवाई यातायात थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन लामो समयदेखि प्रयास गर्दै आएका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई) प्रतिनिधिबीच भएको वार्तामा नेपाली पक्षका तर्फबाट प्राधिकरणका उपमहानिर्देशक एवं एयर नेभिगेशन प्रमुख नरेन्द्रबहादुर थापा र भारतीय पक्षको नेतृत्व एयर नेभिगेशन प्रमुख एके दत्ताले गरेका छन् ।
बिहिबार काठमाडौंमा सुरु भएको दुई पक्षीय वार्तामा नेपालका लागि नयाँ हवाई प्रवेश बिन्दु मुख्य मुद्दा भएको सम्बद्ध स्रोतले जनाएको छ । झण्डै दुई बर्षदेखि नयाँ हवाई प्रवेश बिन्दुका विषयमा नेपालले मुद्दा उठाइरहेपनि भारतले वास्ता गरेको थिएन ।
सरकारले लामो समयदेखि भारत सरकारसँग ‘ट्रान्स हिमालय टु’ र अन्य चार स्थानबाट नेपाल प्रवेश गर्ने र बाहिरिने मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको थियो । ती विषयमा भारतीय अधिकारीसँग छलफल शुरु भएको उपमहानिर्देशक थापाले जानकारी दिनुभयो ।

 

‘सकारात्मक संकेत प्राप्त भएको छ’, नेपालगन्जबाट प्रवेश बिन्दु माग गर्दै आएको विषयमा दबाब दिन संगठित प्रयास गरिरहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले बिहिबार साँझ दैनिक नेपालगन्जसँग भने, ‘भोलि (आज शुक्रबार)सम्म प्रष्ट संकेत पाइनेछ ।’ नगर प्रमुख डा. राणाले त्यसबारे दिनभर आफुले चासो राखेको जानकारी दिए ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पक्षीय छलफलको पहिलो प्राथमिकतामा नेपालगन्जलाई प्रवेश बिन्दु राख्ने संकेत दिएको हो । तर, भारतले भने उक्त कुरामा कुनै प्रतिक्रिया वार्ता अगाडि दिएको छैन । ‘छलफल सुरु भएको छ, के–के कुरा उठे वा छलफल भए भन्ने कुराको जानकारी आइसकेको छैन’, नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप बाबु तिवारीले भने, ‘छलफल सकिएपछि जानकारी प्राप्त भइहाल्छ ।’ छलफल आज शुक्रबार सकिने छ ।
नेपालमा नयाँ हवाई प्रवेश बिन्दुबारे २०१६ डिसेम्बरदेखि छलफल सुरु भएपनि निष्कर्षमा पुग्न सकिएको छैन । नयाँ हवाई बिन्दुको इजाजत भारतले नदिदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सीमराबाट प्रवेश गराउनु पर्ने बाध्यता छ । जसले गर्दा अन्य विमानस्थलहरुमा पुग्ने जहाजका लागि लामोदुरी पर्छ ।
सम्बद्ध स्रोतका अनुसार, नेपालले महेन्द्रनगर बिन्दुलाई दुईतर्फी बनाउनु पर्ने माग अगाडि सारेको छ । बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडानका लागि नेपालगन्जबाट दिल्ली महेन्द्रनगर हुँदै फर्कन पाउने रुटका लागि पहल गरिदिन नेपाल सरकारसँग माग गर्दै आएको थियो । सीमराको तुलनामा महेन्द्रनगर प्रवेशद्वार निकै सहज र छोटो दुरी पर्छ । यसले सीमराको ट्राफिक जाम पनि कम हुने भन्दै नेपालगन्ज प्रवेश बिन्दु र महेन्द्रनगरलाई दुईतर्फी खुला गर्ने कुरामा नेपाली टोली लागि परेको बताइएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय समकक्षी प्राविधिक टोली बीच छलफल चलिरहेको हो ।
सरकारले यसबर्षको नीति तथा कार्यक्रममा नेपालगन्ज, जनकपुर र विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउने घोषणा गरेको छ । नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका अनुसार, नेपालगन्जका अनुसार सरकारले त्यसबारे प्राधिकरणलाई औपचारिक जानकारी पठाएको छैन । ‘अब मन्त्रालय हुँदै प्राधिकरणसम्म त्यो विषय आइपुगेपछि बिस्तृत जानकारी होला’, प्राधिकरणका नेपालगन्ज प्रमुख प्रताप बाबु तिवारीले भने, ‘विमानस्थलको दायरा बढाउन खोजिएको हुनुपर्छ ।’
यसैबीच, नेपालगन्ज विमानस्थललाई स्तरोन्नतीका लागि प्राधिकरणले सरकारसँग बजेट माग गरेको खुलेको छ । ‘नियमित प्रक्रिया भित्रै विमानस्थल बिस्तारका लागि प्राधिकरणले सरकारसँग बजेट माग गरेको छ’, तिवारीले दैनिक नेपालगन्जसँग भने, ‘हामी रेडि अवस्थामा छौं ।’ उनले तीन सय मिटर रनवे बिस्तार, अस्थायी खालको टर्मिनल भवन निर्माण लगायतका कामका लागि बजेट माग गरिएको जानकारी दिए ।
बुद्ध एयरले रुट इजाजत पाउनासाथ नेपालगन्ज–दिल्ली उडान भर्ने प्रक्रिया सुरु गरेकाले दैनिक तीन वटा उडानका लागि पूर्वाधारमा जोड दिइएको छ । ‘त्यसका लागि पहिलो कुरा रुट हो’, प्राधिकरण प्रमुख तिवारीले भने, ‘त्यसपछि अध्यागमन भन्सार भएको अलग्गै टर्मिनल भवन चाहिन्छ ।’ त्यसका लागि प्राधिकरण तयारी अवस्थामा बस्न विभिन्न पूर्वाधारका लागि सरकारसँग बजेट माग गरिसकेको हो । ‘जुनसुकै विमान कम्पनीले पनि त्यसखालको उडान गर्न चाहे भने हामी तयार अवस्थामा बस्नुपर्छ भन्ने हो’, तिवारीले स्थायी प्रकृतिको ट्रमिनल निर्माणका लागि ५÷६ बर्ष लाग्ने तर्क गर्दै भने, ‘छिमेकी देश सँगका कनेक्टिङ्ग फ्लाइटका लागि रुट इजाजत प्राप्त हुनासाथ चाहिने आवश्यक पूर्वाधार तयार गर्न खोजेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया