लोड भन्दा हावाहुरीले चुनौती, विहिवार भारत र राष्ट्रिय प्रसारण लाइन एकैपटक अवरुद्ध
समाचारदाता
दैनिक नेपालगन्ज
गर्मीमा विद्युत नेपालगन्जका लागि चुनौतीपूर्ण बन्ने गरेको छ । विहिबार विहानैदेखि नेपाल र भारत दुबै प्रशारण अवरुद्ध भएपछि समस्या जटिल भएको प्राधिकरणले जनाएको छ । विहान ७ः३० बजे भारतको अगैया स्थित क्षेत्रमा तार सट भएका कारण भारतीय प्रशारण नेपालगन्ज क्षेत्रमा विहिवार राति ९ः१५ बजे सम्म अवरुद्ध भयो । ११ बजेपछि नेपाली क्षेत्रबाट प्रशारण भइरहेको १२ मेगावाट विद्युतको लाइन पनि अवरुद्ध भयो ।
‘विद्युत दुवै क्षेत्रबाट एकै पटक अवरुद्ध भएपछि अचानक राष्ट्रिय प्रशारण लाइनबाट लाइन सप्लाईको लागि जोडबल गरियो’, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख राम दुलार यादवले भने, ‘दिउँसो पछि नेपालगन्ज क्षेत्रमा प्रशारण भएको विद्युत नेपालकै हो ।’ ‘भारतीय क्षेत्रबाट प्रसारण भइरहेको लाइन नानपारा अघि ओभर ब्रिजमूनि अण्डरग्राण्ड भएको र त्यहाँ सट भएका कारण पूरै प्रशारण अवरुद्ध भएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रमुख यादवले भने, ‘कर्मचारीले दिनभरि खटिएर प्रसारण अस्थायी रुपमा सुचारु गरेका छन् ।’
‘समस्या देखिए बमोजिम विद्युत अपुग छैन’, यादवले भने, ‘मौसमका कारण चुनौती थपिएको हो । ‘२४ घण्टामा २÷३ घण्टा अपुग रहेको अवस्थालाई खासै ठूलो मानिँदैन’, उनले भने, ‘तर प्राकृतिक रुपमा हुने समस्याले अवरुद्ध हुने समय थपेको हुन्छ ।’ यही समयमा विकास निर्माणको काम र हावाहुरी चल्ने भएकोले विद्युतलाई समस्या हुने गरेको हो, प्रमुख यादव भन्छन्, दीर्घकालिन विद्युत अपुग नहुने गरि समस्या समाधानको विषयमा पनि काम भइरहेको छ ।
बिहिवार परेको पानी र हावाहुरीका कारण १२ मध्ये २ वटा फिडरमा रुख ढलेका कारण प्रसारण अवरुद्ध भएको छ । ‘अबेर रातिसम्म कर्मचारीले काम गर्दा पनि समाधान हुन नसकेका कारण अवरुद्ध भएको बाहेक क्षेत्रमा विद्युत सप्लाई नियमित गरिएको हो’, यादवले भने, ‘कर्मचारी नियमित रुपमा समस्या संग जुध्न तयारी अवस्थामा रहेपनि प्राकृतिक चुनौतीको सामना गर्न समय लाग्ने गरेको छ ।’
‘नेपालगन्जको विद्युत समस्या समाधानका लागि गत वर्षहरुमा प्राधिकरणबाट पत्राचार गरिएको अवस्था छ’, यादवले भने, ‘तर, कोहलपुरमा ६३ केभीएको ट्रान्सफर्मर जडान र अपर तामाकोशीबाट ३० मेगावाट विद्युत प्रसारणको तयारी रहेकोले भारतीय तार मर्मत गर्नु पर्दैन ।’
‘ट्रान्सफर्मर त केहि महिना भित्रै जडान हुन्छ’, यादवले भने, ‘तर, एकवर्ष भित्रै तामा कोशीको प्रसारण पनि नेपालगन्जमा भित्रिन्छ ।’ ‘समस्या हल हुने तर्फ नै अग्रसर छ’, उनले भने, ‘दीर्घकालिन समाधान तिर विद्युत अग्रसर छ ।’ ‘विहिवार साँझ ९ः३० बजेको समयमा नेपालगन्जमा १७ एमभीए लोड मापन गरियो’, प्राधिकरण प्रमुख यादवले भने, ‘गर्मी निकै बढेका बेलापनि २५ एमभीए भन्दा बढी लोड नेपालगन्जमा हुँदैन ।’
‘हावाहुरीले विद्युतमा प्राविधिक क्षति हुने गरेकोले प्रशारणमा समस्या देखिएको हो, यसलाई सहजताका साथ लिन सक्नु पर्छ’, यादवले भने, ‘नेपालगन्जमा विद्युत अपुग छैन ।’ नेपालगन्ज क्षेत्रको विद्युत कटौती समस्या समाधान गर्न पटक पटक राजनीतिक र ब्यवसायिक समूहले पहल छलफल गर्दै आएको छ । विहिवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यको नेतृत्वमा एउटा टोलीले विद्युत समस्या समाधान बारे प्रमुख यादव संग छलफल गरेको छ ।