निरीक्षण शाखा कर्मचारीको फर्जी चेकजाँच र अनुगमनले अतिक्रमणकारीलाई हाईसन्चो, सडकमा हिढ्नुपर्दा यात्रुलाई सास्ती
दैनिक नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिकाले सडक कब्जा, अतिक्रमण र सार्वजनिक सम्पत्तिको संरक्षण सम्बन्धी काम गरिरहँदा नेपालगन्जमा प्रतिफल भने आलोचनात्मक देखिएको छ । उपमहानगरपालिकाले ५ जना कर्मचारीलाई सडक अतिक्रमण देखि ठेला, फुटपाथ लगायत ब्यवस्थापनको जिम्मेवारी तोकेपनि कर्मचारीले सडक अतिक्रमण नै हेर्न नसकेको गुनासो आएको छ ।
सहरमा अतिक्रमण अनुगमन गर्दा कर्मचारीले फुटपाथ कब्जा गरेका पसल धनीलाई भेटघाट गरि अवैधानिक रकम असूल गरी अवैध कब्जा र अतिक्रमणको पक्ष पोषण गरिरहेको समाचार यसअघि दैनिक नेपालगन्जले प्रकाशित गरिसकेको छ । तर, उनै कर्मचारीहरु कै भरमा छाडिंदा समस्या बझै बढिरहेको छ । यात्रु फुटपाथबाट हिढ्न पाउँदैनन्, सडकमा यात्रु हिढिदिंदा सवारी साधनलाई सास्ती र दुर्घटनाका जोखिम उत्तिकै छन् ।
समाचारपछि अवैध असूली गर्ने कर्मचारी बारे जाँच गर्न गठिन समिति प्रतिवेदन नै नबुझाएर कारवाही विचमै छाडेको थियो । सडकमा देखिएको फुटपाथ कब्जा, अनियन्त्रित ठेला र अवैधानिक तरिकाले नक्सा पास नगरी निर्माण भइरहेका भवनमा समेत कर्मचारी संलग्न रही अवैध रकम असूल गरी रहेको बारे उपमहानगरपालिकाले समेत अझसम्म आँखा चिम्लेको छ । किन त ? जवाफ दिने अधिकारी खोज्नु भन्दा बजारको दृष्यनै जवाफ दिन्छ, अबैध चलखेल प्रष्ट छ ।
दृष्य १, यसअघि निरीक्षण कर्मचारीको जिम्मेवारीमा रहेका तर अहिले राजश्व उपशाखाको पत्राचार कार्यमा खटिएका दुइ जना निरीक्षण कर्मचारी शुक्रवार न्युरोडका केहि पसलमा फुटपाथ कब्जा गरेको र कर तिर्ने बारे छलफल गरिरहेका थिए । पसल धनीले फुटपाथमा कोही नहिँडेकोले सामाग्री राखेको दावी गरिरहँदा कर्मचारीले यसलाई नहटाए जफ्त गर्ने सम्मको घुर्की देखाए र नियमानुसार कर तिर्न उपमहानगरपालिकामा निम्त्याएका थिए । केहि बेरको घम्साघम्सीपछि समस्या टर्यो । पसल संचालकले चिसो खुवाए र केहि रकम दिएर उनीहरुलाई विदा गरे ।
दृष्य २, यही सिलसिला अर्को पसलमा अघि बढ्यो । दैनिक नेपालगन्ज संवाददाताले उनीहरुको अनुगमन र कारवाहीलाई १० वटा पसलमा प्रत्यक्ष निगरानी गर्यो । अधिकाँश स्थानबाट अवैध तरिकाले केहि रकम असूल गरेका ती दुई कर्मचारी पहिला तात्तिने र पछि कुरो मिलाएर अघि बढिरहेका देखियो । पसल संचालक संग केहि बेरको छलफल पछि केहि रकम सहित कुरा टुंगियो । भे.५ प.१५५२ नं.को मोटरसाइकलमा पुगेका दुबै कर्मचारीले दर्जन बढि पसलबाट सिलसिलेवार ढंगले रकम असूली गरिरहेका पाइए ।
पसल संचालक भन्छन्, ‘कर तिर्नका लागि दबाव बढिरहेको छ, केहि रकम दिएर नै काम चलेकोले कुनै प्रकारले समस्या टारिएको हो ।’ नेपालगन्जका दर्जन बढि स्थानका फुटपाथ प्रत्यक्ष रुपमा कब्जा गरिएको पाइयो । त्यसमा चोकहरु मुख्य रुपमा ठेला र रिक्सा चालक तथा पसलहरुबाट भरिभराउ अवस्थामा पाइए ।
दिउँसो कार्यालय समयमा सहरमा अनुगमन निरीक्षणमा खटिएका कर्मचारीले आफ्नो समय र सुविधा विपरीत हुने ठेला र पसललाई मात्रै कारवाही गर्दै आएका छन् । कारवाही वास्तविक हो भने ठेला र कब्जा हटेको स्थानमा केहि बेरपछि सोही ठेला र सामाग्री कसरी देखिन्छ ? यसअघि ती कर्मचारी निरीक्षण कर्मचारीको रुपमा जिम्मेवारी पाएका थिए, एक महिना जति भयो उनीहरु राजश्व शाखामा कार्यरत रहेका कारण के कसो भएको हो मलाई सूचना छैन’, दुबै दृष्यबारे दैनिक नेपालगन्जको प्रश्नमा निरीक्षण शाखा इन्चार्ज पवन कनोजियाले भने, ‘अहिले हामी तीन जना कर्मचारी मात्रै अनुगमनमा काम गरिरहेका छौं ।’
उपमहानगरपालिकाको फुटपाथ कब्जा र अवैध निर्माण सम्बन्धी अनुगमन र सार्वजनिक सम्पत्ति संरक्षणका लागि यसअघि ५ जना कर्मचारी थिए । शुक्रवार हर्कतमा भेटिएका ती कर्मचारीले राजस्व शाखामा जिम्मेवारी पाएपछि अहिले कनोजिया सहित सुदामा सिंह, अनिरुद्ध कुमार शर्माले सहरको अतिक्रमण हटाउँदै आएका छन् ।
थुप्रै प्रयास, सकस र सम्भावना पछि पनि सडकको अतिक्रमण र कब्जा हट्न सकेन नि, दोषी को रहेछ ? नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल भन्छन्, पहिलो कुरो त ती दुबै कर्मचारीलाई राजश्व उपशाखाको चिठी बुझाउनका लागि प्रयोग मात्र गरिएको हो ।’ ‘उनीहरुको काम चिठी बुझाएपछि अनुगमन निरीक्षण गर्ने नै हो, उनीहरु राजश्व शाखामा काम गर्ने ब्यक्ति होइनन्,’ प्याकुरेलले भने, ‘घटना बारे प्रमाण सहित विषयहरु बाहिर आए ‘अन द स्पट’ निलम्बन देखि हदैको कारवाही सम्म हुन्छ ।’
‘वर्दी लगाउँदैमा कुनै ब्यक्तिलाई अवैध तरिकाले रकम बुझाउँने ब्यक्ति पनि उत्तिकै दोषी हो,’ प्याकुरेलले भने, ‘घटनामा तत्काल जाँच अघि बढाएर कारवाही थालिन्छ । अवैध असूल गर्नका लागि कर्मचारीको नियुक्ती र जिम्मेवारी दिइएको होइन ।’