कहिले बन्ला घरबारीटोल ?

नेपालगन्ज वडा नं. २ मा मात्रै १९ वटा सडक निर्माण तथा स्तरोन्नतीका योजना चलिरहेका छन्

दैनिक नेपालगन्ज/देवेन्द्र पौडेल

नेपालगन्जको अति व्यस्त बजार घरबारीटोलका लागि बर्षाको डुबान र साँघुरो बाटो सधै समस्याका रुपमा रह्यो । धम्बोझी चोकबाट बजार क्षेत्र प्रवेशको बाटो घरबारीटोल भएका कारण यात्रुहरुको चाप नेपालगन्जका अन्य ठाउँमा भन्दा बढी नै हुन्छ । नालाको उचित व्यवस्थापन नहुँदा बर्षौदेखि थोरै पानी पर्दा पनि यहाँको सडक जलाम्मे मात्र हुँदैन पसलहरुमा पानी नै पस्ने गरेको छ । बर्षाको पानीले बर्षात्मा व्यवसायीहरुले लाखौंको क्षति समेत व्यहोर्दै आएका छन् ।

 

सानो बाटो, सवारीसाधन तथा यात्रुको चाप, जीर्ण सडक घरबारीटोलको नियतिनै बनेको छ । सहरको मुख्य र महत्वपूर्ण भाग भएपनि अहिलेसम्म सरोकारवालाले खासै चासो देखाएको पाइदैन । तर, यसपटक भने यी सबै समस्याको समाधान गर्ने अवसर घरबारीटोलले पाएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाको सहरी विकास आयोजना, परियोजना कार्यान्वयन इकाइ कार्यालय अन्तर्गत नेपालगन्जमा निर्माण हुन लागेको ४१ वटा सडकहरु मध्ये घरबारीटोलको सडक पनि परेको छ ।

 

‘धम्बोझी चोकदेखि त्रिवेणीमोडसम्म नाली सहित १० मिटरको बाटो योजना भित्र छ’, नेपालगन्ज वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमालले भने, ‘यो घरबारीटोलका लागि महत्वपूर्ण अवसर हो ।’ तर, हाल ६ मिटरको बाटो रहेको घरबारीटोलमा सडक क्षेत्रफलका लागि धेरै घरहरु भत्काउनु पर्ने हुन्छ । ‘विकास सबैले चाहनु भएको छ’, वडाध्यक्ष हमाल भन्छन्, ‘बन्दै गरेको सदरलाइनको सडकले पनि घरधनीलाई सडक चौडा पार्न क्षेत्रफल छाड्नका लागि प्रेरित गर्नेछ ।’ उनले वडा नं. २ मा हाल १९ वटा सडक निर्माण योजना चलिरहेको जानकारी दिंदै विकासका लागि कोही पनि बाधक नहुनेमा आफु विश्वस्त रहेको बताए ।

 
‘चौडा सडक निर्माण भएपछि यहाँको व्यवसायमा सकारात्मक प्रभाव पर्नेछ’, वडाध्यक्ष हमालले सडक छेउमा बन्ने नालाले बर्षात्मा हुने डुबान समस्या समेत समाधान हुने बताउँदै भने । सडक क्षेत्रफलका लागि कति क्षेत्र छाड्नु पर्छ भनेर रेखांकनको काम भैसकेकाले असहजता नहुने गरी घर भत्काउने र निर्माण कार्य कहिले सुरु गर्ने भन्नेमा वडाबासीसँग छलफल गरिरहेको पनि वडाध्यक्ष हमाल बताउँछन् । उनले राजनीतिक दलहरुसँग सोबारेमा छलफल गरी सहमति गरिसकेको र घरधनीहरुसँग व्यक्तिगत रुपमा भेटेर सडकका लागि क्षेत्रफल छाड्न अनुरोध गरिरहेको बताए । ‘सबैले सहज रुपमा घर भत्काउनुहुन्छ भन्ने विश्वास छ’, वडाध्यक्ष हमाल भन्छन्, ‘कोही कसैले अवरोध गर्नुभयो भने सम्झाएर सहमतिमा ल्याउनेछौं ।’ ‘घर भत्काउदा आर्थिक क्षति मात्र हुन्छ भन्ने होइन’, उनी भन्छन्, ‘फराकिलो सडकले जग्गाको मूल्य र व्यापार व्यवसायमा वृद्धि पनि हुन्छ ।’

 
घरबारीटोलको बाटो तथा नाला परियोजनामा रहेको भएपनि कहिलेबाट काम सुरु गर्ने भन्ने तय भने गरिएको छैन । कारण, बर्षात्को सन्त्रास । बर्षात्को समयमा घर भत्काउँदा सडक अझै अव्यवस्थित हुने भएकाले बर्षापछि नै काम सुरु हुने देखिन्छ । वडाध्यक्ष हमाल भन्छन्, ‘सडक र नाला १० मिटर क्षेत्रफल छाडेपछि पनि थप २ मिटरमा खाली छाड्नुपर्ने भन्ने विषयमा छलफल भैरहेकाले समय लाग्न सक्छ ।’

 

बर्षाअघि सडक र नाला बन्ने सम्भावना नभएपछि गतबर्ष जस्तै यसबर्ष पनि डुबानको समस्या दोहोरिने देखिन्छ । यसबर्ष फेरि घरबारीटोल डुब्ने त होइन भन्ने प्रश्नमा वडाध्यक्ष भन्छन्, ‘त्यसो हुँदैन, हामी निर्वाचित भएपछि आउने वित्तिकै गतबर्षपनि नगरलाई डुबानबाट जोगाउन नाला सरसफाई गरिएको थियो, यस बर्ष थप योजनाका साथ ढल तथा नालाहरु सफाई गरिनेछ ।’ उनी उपमहानगरपालिकाबाट नै सरसफाईका कामहरु हुने बताउँछन् । ‘उपमहानगरपालिकाबाट पर्याप्त रुपमा नाला र ढल सफाई नभएमा वडाबाट पनि जनताको सहयोगमा ढल र नाला सफाईको काम गरिनेछ’, वडाध्यक्ष हमाल भन्छन्, ‘पानीको सहज निकास बनाउने छौं, जसले डुबानको समस्या पहिले जस्तो हुनेछैन ।’

 

नेपालगन्ज उपमहानगरपालिकाले कालिका कन्ट्रक्सनसँग सम्झौता गरेपछि नेपालगन्जमा सडक तथा ढल/नाला निर्माणको काम भैरहेको रहेको छ । एक अर्ब ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी सम्झौता भएको उपमहानगरपालिकाले बताएको छ । ‘सम्झौता समय भन्दा निकै छिटो काम पुरा हुने देखिएको छ,’ नगर प्रमुख डा. धवल समशेर राणाले दैनिक नेपालगन्ज सँग भने ।
परियोजना अन्तर्गत नेपालगन्जको सदरलाइन पनि चौडा पार्ने काम अहिले दु्रत गतिमा अगाडि बढिरहेको छ । सदरलाइनमा घरधनीहरुले सडक क्षेत्रफल छाडिसकेकाले अहिले धमाधम नाला निर्माणको काम सुरु भैसकेको छ । बर्षाअघि निर्माण सक्ने योजनाका साथ काम भैरहेको उपमहानगरपालिकाले जनाएको छ ।

 

2075-01-07

प्रतिक्रिया

प्रतिक्रिया