नागरिक सुरक्षाको सवालमा ध्यानाकर्षण, अदालतको आदेश कार्यान्वयनको लागि दबाव
समाचारदाता
दैनिक नेपालगन्ज
बाँकेमा केहि दिन यता बढि रहेको तापक्रममा हुन सक्ने भौतिक र स्वास्थ्य समस्यालाई मध्यनजर जिल्ला प्रशासन कार्यालय बाँकेले सतर्कता बढाएको छ । ‘खासगरि नेपालगन्ज क्षेत्रमा आवतजावत गर्ने बटुवाहरुका लागि चोकमा उचित छायाँ र पानीको ब्यवस्थापनका लागि समन्वय गर्ने योजना तत्काल अघि बढेको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रमुख जिल्ला रमेश कुमार केसीले भने, ‘त्यस बाहेक मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने सडकको धुलो समाधानका लागि पनि पहल सुरु भएको हो ।’
‘सबै काम हाम्रो पक्षबाट मात्रै हुन नसक्ने भएकोले अन्य सम्बन्धित र सरोकारवाला संघ संस्था र सरकारी कार्यालयहरु संग बैठकको तयारी पनि छ’, प्रजिअ केसीले भने, ‘नागरिकको हितका लागि सबैको भूमिका सकारात्मक रुपमा अघि सर्नु पर्ने देखियो ।’ बाँकेमा पछिल्लो केहि दिनदेखि तापक्रम बढेका कारण गर्मीको अवस्थाले नागरिकहरु सास्ती खेप्न बाध्य भएका छन् । विद्युतको अनियन्त्रित कटौती, रुखविरुवा विहिन नेपालगन्जको सडक र धूलो तथा फोहोरको समस्याले नागरिकलाई थप सास्ती भएको गुनासो बढेपछि सो तर्फ जिल्ला प्रशासन कार्यालयले चासो बढाएको हो ।
सो क्रममा कानून ब्यवसायीहरुको एउटा टोलीले अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यवस्त रहेको बताउँदै नागरिक हित र सुविधामा ध्यान दिन प्रशासनको ध्यानाकर्षण गराएको छ । सडक, नाली निर्माणका कारण सडक, बाटोहरु धुलाम्य अवस्थामा रहेको र अत्यधिक गर्मी तथा धुलो धुवाँका कारण वातावरण नै प्रदूषित बनेको भन्दै कानून ब्यवसायीको टोलीले हालै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट भएको अन्तरिम आदेश कार्यान्वयनको पनि माग गरेको हो ।
अत्यधिक गर्मीका कारण हरेक वर्ष छाडा पखाला लगायतका रोगको संक्रमण भई दर्जनौं नागरिकले ज्यान गुमाउनु अवस्थालाई चित्रण गर्दै नियमित रुपमा विद्युत आपूर्ति र खानेपानी सहज ढंगबाट उपलब्ध गराउन माग गरिएको टोलीमा सहभागी अधिवक्ता लोक बहादुर शाहले बताए । गर्मीका कारण जेष्ठ नागरिक, बालबालिका, विरामीहरु बढी प्रभावित भइरहेकोले नागरिकको सुविधा र स्वास्थ्यमा प्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्न प्रशासनलाई आग्रह गरिएको अधिवक्ता शाहले जानकारी दिए ।
गर्मीयाममा हुन सक्ने आगलागी र सोबाट हुने जनधनको क्षति व्यवस्थापनको विषयमा सम्वन्धित सरोकारवाला संग समन्वय र सहकार्य गरी हुन सक्ने सम्भाव्य दुर्घटनालाई नियन्त्रण गरेका अधिवक्ताहरुले विद्युत लोडसेडिङ गर्न नपाउने अदालती फैसलालाई कार्यान्वयनको माग गरेका छन् । विकास निर्माणको क्रममा उत्पन्न हुने धुलो नियन्त्रणका लागि विहान, दिउसो र बेलुका गरी कम्तीमा तीन पटक नियमित रुपमा पानी हाल्ने व्यवस्था गरी उच्च अदालत नेपालगन्जबाट भएको अन्तरिम आदेशको कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको अधिवक्ता पूर्ण ढकालले बताए ।
‘बजार क्षेत्रको फोहरमैलाका कारण झाडा पखाला लगायतका रोगहरु फैलिन सक्ने बढी सम्भावना भएकोले प्रत्येक विहान ५ बजे भन्दा पहिले र साझ ७ बजे पछि सडक, नाली नियमित रुपमा सरसफाई गर्ने व्यवस्था माग गरिएको हो’, अधिवक्ता ढकालले भने, ‘विद्युत आपूर्ति नियमित र सहज गर्न तथा फैसलाको पूर्ण पालना गर्न भनिएको छ ।’
प्रहरी, प्रशासन, मालपोत, नापी, अदालत, यातायात, बसपार्क लगायतका बढी उपभोक्ताहरुको उपस्थिति हुने सार्वजनिक कार्यालय एवं स्थानमा र प्रत्येक चौकहरुमा नियमित रुपमा पिउने चिसो पानीको उचित व्यवस्थापन गर्न कानून ब्यवसायीले माग गरेका हुन् ।
ध्यानाकर्षण गराउन गएका अधिवक्ताहरु लोक बहादुर शाह, पुर्ण प्रसाद ढकाल, विश्वजीत तिवारी, बल बहादुर चन्द र सुदिप भट्टराईले गर्मीका कारण बाँकेमा उत्पन्न भइरहेको समस्या र समाधानको उपायहरुबारे समेत छलफल गरेका थिए । ‘प्रमुख जिल्ला अधिकारी केसीले कानून ब्यवसायीले उठान गरेको विषयहरुमा प्रशासन गम्भीर रहेको र सो बारे पहल अघि बढि रहेको बताएका छन् । मानवीय हितमा हामी अग्रसर छौं’, उनले भने, ‘गर्मीका कारण अहिले नागरिकहरुलाई समस्या भइरहेको बारे जिल्ला विपद ब्यवस्थापन समितिमा पनि छलफलको तयारी छ ।’
विद्युत समस्याबारे छलफल
दैनिक नेपालगन्ज/प्रेम विश्वकर्मा
अनियमित विद्युत समस्यालाई लिएर सांसद सहितको एक प्रतिनिधि मण्डलले बुधबार नेपालगन्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादव सँग भेटघाट गरेको छ । बाँकेको नेपालगन्ज वरपरका क्षेत्रमा फेरि पनि गर्मी मौसममा अनियमित विद्युत र लो–विद्युत भोल्टेज समस्या दोहेरिएपछि पाँच नम्बर प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेल (आइपी)को नेतृत्वको टोलीले नेपालगन्जको विद्युत समस्या बारे वितरण केन्द्र प्रमुख सँग छलफल गरेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्य, ब्यवसायी आदेश आग्रवाल, चिरञ्जीवि ओली, रेडियो मर्निङ स्टारका प्रमुख डक्ट प्रसाद धिताल लगायत सहभागी टोलीले वितरण प्रमुखसँग भेटी विद्युत समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने छलफल गरेका हुन् । त्यसक्रममा छलफलमा प्रदेश सभा सदस्य खरेलले वितरण केन्द्र प्रमुख यादवसँग राजनीतिक पहल गर्नु परे जानकारी दिन आग्रह गर्दै भने, ‘चर्को गर्मीमा लोडसेडिङ, विद्युत भोल्टेजको अनियमित समस्या समाधान गर्न ठोस पहल गर्नुस् ।’
छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्य, व्यवसायी अग्रवालले नेपालगन्जलाई आवश्यक विद्युत क्षमता, ट्रान्सफर्मर, विद्युत सप्लाई तार क्षमता बारे चासो राखेका थिए । भेटघाटका लागि पुगेको टोली सँग नेपालगन्ज वितरण केन्द्र प्रमुख यादवले विद्युत समस्या समाधान गर्न प्राविधिक काम भैरहेको जानकारी दिंदै पूर्ण रुपमा विद्युत समस्या समाधान गर्न गर्मीको समयमा नियमित रुपमा राष्ट्रिय प्रसारण ग्रिडबाट १५ मेगावाट विद्युत नेपालगन्जका लागि आउनु पर्ने बताए । ‘आकस्मिक रुपमा आउने हावाहुरीले बुटवलदेखि भारतको गोण्डा सम्म कही पनि तार र पोलमा क्षति पुग्यो भने प्रसारण लाइन अवरुद्ध हुन्छ’, यादवले भने ।
विद्युतको नेपालगन्ज वितरण केन्द्र अन्तर्गत बाँकेमा ४ वटा ट्रान्सफर्मर रहेको छ । ८ एमभीएका २ वटा ट्रान्सफर्मर, १६ एमभीएको १ ट्रान्सफर्मर र ३ एमभीएको १ ट्रान्सफर्मर रहेकोमा अहिले ३ एमभीएको ट्रान्सफर्मरलाई ८ एमभीएमा अपग्रेड गरिदैछ । त्यसै कारणमा पनि विद्युत सप्लाईमा केही समस्या सिर्जना भएको नेपालगन्ज वितरण केन्द्रको दाबी छ । नेपालगन्जमा हाल २५ मेगावाट सम्म दैनिक विद्युत खपत हुने वितरण केन्द्रको अनुमान छ ।