धनगढीमा रहेका पाकिस्तानी कैदीबाट बाँकेमा जोखिम, १३ जनालाई अन्यत्र सारियो, सुरक्षा कडा
समाचारदाता
दैनिक नेपालगन्ज
जेल(कारागार) लाई कानूनको भाषामा सुधार गृह पनि भनिन्छ । तर, मानिसले गरेको अपराधको पश्चाताप गरि सुधार भएर नयाँ तरिकाले जीवन बाँच्न सकोस् भन्ने उद्देश्यले स्थापित कारगार भित्र रहेका कैदीबाटै बाहिर अपराध संचालन भइरहेको खुलेको छ । आफु अनुकूल अपराधमा काम गर्न नपाएको भन्दै कैदीले राजनीतिक पावर प्रयोग गरी निमित्त कारागार प्रमुख श्याम लामिछानेको सरुवा नै गराए । बाँके कारागारमा बसेर लागुऔषधको कारोबार देखि हतियार ब्यवसाय र चन्दा असूली कार्यमा संलग्न रही भारत विरोधी गतिविधिमा काम गर्दै धनगढी कारागारमा रहेका पाकिस्तानी कैदी नासिर अली खाँ नेपालगन्ज आउन खोज्दैछन् ।
कारागार भित्र रहेकै अवस्थामा आफ्नो मान्छे परिचालन गरेर बाहिरी तहमा अवैध कारोबार र अपराध गर्न भ्याउने कैदी नासिर अली खाँ बारे यसअघि दैनिक नेपालगन्जले समाचार प्रकाशित गरिसकेको छ । गत वर्ष मंसीरमा संघीय इकाई प्रहरी कार्यालय नेपालगन्जले नासिरको लगानीमा भारत गइरहेको २१ केजी चरेस बेतहनीबाट बरामद गरेको थियो ।
सामाचार बाहिर आएपछि तत्कालै तुलसीपुर कारागारमा सरुवा गरिएका नासिर सिमावर्ती कारागारमा बस्न रुचाउँछन् । सिमाक्षेत्रमा बसेर भारत विरुद्ध विभिन्न अपराध संचालन गर्ने आशंकामा उनी माथि धनगढी कारागारमै पनि सुरक्षा बढाइएको छ । तुलसीपुरबाट तीन महिना भित्र धनगढी सरुवा भएका नासिरको कनेक्सनमा रहेका योग प्रसाद ढकाल (रिगल) सहित १३ जना कैदीलाई बाँकेबाट अन्यत्र सारिएको हो ।
‘उनीहरुसंग एकपासमा कनेसक्न थियो, फरक फरक कारागारमा बसेर पनि अपराधमा भूमिका निर्वाह गरेको आशंकामा सरुवा गरिएको’ कारागार नेपालगन्जका निमित्त प्रमुख श्याम लामिछानेले बताए । कैदीहरुको सरुवाको सिलसिला अघि बढेपछि कारागार विभागले लामिछानेलाई पनि २०७४ चैत्र ३० गते सरुवा गर्यो ।
कारागारमा रहेका चुन्नन जसगढ, युनुस खाँ र योग ढकाल बीच भइरहेको कारोबार बारे कारागार प्रशासनलाई सूचना प्राप्त भएपछि थालिएको कारवाहीमा कारागार कर्मचारी र सुरक्षा अधिकारीहरुका पनि आशंकाको घेरामा पर्न थालेका छन् ।
‘कारागार सुरक्षाका लागि खटिएको नेपाल प्रहरीले नै कैदीलाई अदालत र अस्पताल लैजाने भएकोले उनीहरुबाटै सेटिङमा बाहिरी आवरणको अपराध हुन सफल भएको हो’, कारागार श्रोतले भन्यो, ‘हरेक ६ महिनामा प्रहरीको सरुवा गर्ने नियम विपरीत एक वर्ष भन्दा बढि समय सम्म कतिपय प्रहरी बस्ने गरेको पाइयो ।’
नासिर अली ब्राउन सुगर सहित काठमाडौ पक्राउ परेका थिए । पाकिस्तानबाट भारतमा सप्लाई गर्न ल्याएको लागुऔषध काठमाडौंमा एक दशक अघि नै पक्राउ परेको थियो । उनी सोही मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैया जरिवानाको सजाय खेपिरहेका छन् । काठमाडौबाट धादिङ, त्यहाँबाट तुलसीपुर र त्यसपछि बाँके पुगेका नासिरलाई कारागारले सम्हाल्न नसकिरहेको अवस्था छ ।
‘राजनीतिक पावर र अन्य नेपाली अपराधीहरु बीच ठूलो कनेक्सन देखियो’, कारागार श्रोतले भन्यो, ‘कर्मचारीको सुरुवा देखि प्रहरीको ड्युटी सम्म परिवर्तन गराउने हैसियत राख्ने कैदीबाट असुरक्षा र अपराध बढेको हो ।’
‘बाहिर जाने आउने काम प्रहरी रोहबर र नियन्त्रणमा हुन्छ, कुनै कैदी विना प्रहरी साँठगाँठ कसरी अपराध गर्न सक्छ ?,’ निमित्त प्रमुख लामिछानेले भने, ‘सुरक्षा ब्यवस्थापन अहिलेको अवस्थामा मुख्य चुनौतीको विषय बन्दै गएको हो ।’
२०६३ साउन ८ बाट बाँके कारागारको निमित्त प्रमुखको भूमिका रहेका लामिछानेको २०७५ माघ १० भित्र अनिवार्य अवकास हुने समय छ, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने, ‘कानून बमोजिम सरुवा गर्न नमिल्ने स्थितिमा अचानक विना सूचना अर्को ब्यवस्था नगरी कसरी सरुवा भयो यो गम्भीर विषय हो ।’
‘कैदीको भूमिका बारे आंशिक रुपमा सूचनाहरु प्राप्त भएका छन्’, यद्यपि प्रमाणित छैनन्’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रजिअ केसीले भने, ‘कैदीको आवागमन, कारागारको सुरक्षा अवस्था र नियमित अनुगमनको ब्यवस्थालाई प्रभावकारी बनाइएको छ ।’ योग प्रसाद ढकाल(रिगल) लाई कारागारले बर्दिया सरुवा गरेको छ । उनी संग रहेका १३ जनालाई विभिन्न फरक फरक कारागारमा सरुवा गरेपछि कारागार प्रमुख लामिछाने सरुवाको कारवाहीमा परेका हुन् ।
अपराधमा संलग्न रही फन्दामा परेका कैदीको आचरणमा सुधार गर्न कारागार प्रशासन सक्रिय रहेपनि बाहिरी रुपमा भइरहेका अपराध अनुसन्धानको क्रममा कारागार कनेक्सन देखा परेको अनुसन्धान अधिकारीहरुको दावी छ ।
‘कारागार भित्र मोबाइल फोन देखि इन्टरनेटको पहुँचले भित्र बसेर पनि अपराधलाई परिचालन गर्ने गरेको देखियो’, दैनिक नेपालगन्ज संग एक अनुसन्धान अधिकृतले भने, ‘सोही आधारमा अपराधमा संलग्नहरुलाई बाहिरी जिल्लामा सारिएको हो ।’ नासिरको केहि सहयोगी अहिले पनि नेपालगन्ज कारागारमा छन्, चुन्नन र युनुसलाई कारागारले सरुवा गरेको छैन । उनी दुबै मध्ये चुन्नन कारागार भित्र चौकीदारको भूमिका निर्वाह गरिरहेका छन् ।
कारागार श्रोतका अनुसार बाँकेका कैदीको हातमा १३ वटा मोबाइल छ । आफु अनूकल फोन सुविधा देखि होटेल रेस्टुरेन्ट सम्म प्रहरी सेटिंगमा कैदी पुग्ने गरेको बताइएको छ । ‘औषधी उपचारको नाममा प्रहरी संग बाहिर जाने कैदीहरुको संख्या धेरै छ’, श्रोतले भन्यो, ‘आवश्यक परेको सबै सुविधा जेल भित्रै पनि उपभोग गर्न सकिन्छ, त्यसका लागि लगानी चाहिन्छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी केसी, प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ लगायत सुरक्षा अधिकारीले विहिवार कारागारको अवस्था सुधार गर्नु पक्ष बारे आवश्यक छलफल गरेका छन् । ‘तत्काललाई निगरानी बढाइयो’, प्रजिअ केसीले भने, ‘भित्र प्रयोग भइरहेका मोबाइल निषेध देखि कैदी भेटघाटको विस्तृत अनुसन्धान गर्न भनिएको छ ।’ बाहिर आवतजावत गर्ने कैदीको विवरणमा पनि अनुसन्धान सुरु गरिएको उनले बताए ।