प्रविधिको दुरुपयोग गरी पाकिस्तानी नम्बरबाट फोन गरी खातामा रकम हाल्न लगाएर ठगीको धन्दा चलाइरहेको एउटा गिरोहलाई लामो प्रयास पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । २५ लाखको चिठ्ठा पर्यो भन्दै आम नागरिकलाई ठगी गर्दै आएको गिरोहलाई बाँके प्रहरीले फन्दामा लिन सफल भएको हो ।
देश भित्र विभिन्न जिल्लाका व्यक्तिहरुलाई पाकिस्तानको नं.बाट फोन गर्ने, भाईवर र ह्वाट्सएपमा म्यासेज पठाईउने र भ्वाइस कल मार्फत ठगी गर्दै आएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ र चिठ्ठा परेको वा कार, गाडी पुरुस्कार परेको भनेर झुक्याई ब्यक्तिहरुलाई ठगी गरेको घटनामा संलग्न भारत लखनउ वस्ने २२ वर्षिय अब्बु सैफ खान, नेपालगन्ज ५ बस्ने २२ वर्षिय अकिव ईद्रिसी, वडा नं.६ वस्ने १९ वर्षिय मोहम्मद फाहाद हलवाई र २१ वर्षिय अमिर बाबु कसगरलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान अघि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट आरोपीहरुले विगत १ महिना देखी मुगु घर भई काठमाण्डौ वस्दै आएकी सुमन सुनार, कपिलवस्तु वाणगंगा वस्ने गणेश घिमिरेबाट नगद ५ लाख १० हजार रुपैया लिन सफल भएको खुलेको छ । प्रहरीले आरोपीहरुले प्रयोग गर्ने प्रविधि र योजनाहरु बारे विशेष अध्ययन थाल्ने जनाएको छ । देश भित्र ठगी गरेको विषयमा अन्य घटनाहरु पनि देखिएकोले पक्राउ परेका ब्यक्तिहरु पुरानो हुन सक्ने प्रहरी ठम्याई छ ।
कम समयमा विना मेहनत बढि रुपैया कमाउने प्रलोभनमा पक्राउ परेका पाँचै जना आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि राखिएको छ ।
‘नयाँ तरिकाको अपराध भएकोले यसमा के कसरी ठगी हुँदैछ भन्ने विषयमा अनुसन्धान अघि बढाइएको हो’, दैनिक नेपालगन्ज डीएसपी राजेन्द्र आर्यालले भने, ‘ठगी भएका ब्यक्तिहरुको संख्या धेरै छ ।’ १० दिन अघि नै पक्राउ परेका पाँचै जना आरोपीलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । ‘सार्वजनिक अपराधको म्याद सकिएपछि प्रमाणको आधारमा ठगी तर्फ कारवाही अघि बढ्यो’, डीएसपी आर्यालले भने, ‘रकमको परिमाण र पीडितको संख्या बढ्ने प्रहरी अनुमान छ ।’
लामो समय देखि आम नागरिकलाई चिठ्ठा परेको आश्वासनमा ठगी गर्दै आएका युवाहरुको आर्थिक स्थिति समेत अनुसन्धानको दायरामा आउने भएको छ । उनीहरुले खर्च गरेको र जम्मा गरेको रकम, बैंक वा अन्य माध्यममा समेत प्रहरीले प्रमाण जुटाउन सुरु गरेको छ । यस किसिमका फोन कलबाट ठगीको सिकार भएका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरीको अहवान गरेको छ । पीडितहरु स्वस्फूर्त रुपमा प्रहरीमा उजुरी गर्नु पर्ने आवश्यकता रहेको प्रहरीले जनाएको छ ।