वसन्त गौतम
नेपालगंजका कानून ब्यवशायीहरुले अदालतबाट भएका फैसला कार्यान्वयनमा न्यायिक सक्रियताको खाचो रहेको बताएका छन् ।
न्याय सम्पादनको कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले आयोजना गरेको बार र बेन्चको बैठकमा सहभागी कानून ब्यवशायीहरुले नागरिकता लगायतका सार्वजनिक सरोकारका मुद्धामा अदालतबाट भएका फैसला कार्यान्यन नभएको प्रति गंभिर चिन्ता ब्यक्त गरेका छन् ।
अदालती काम कारवाहीहरु जनआस्था बढाउने खालका हुनु पर्ने भन्दै कानून ब्यवशायीहरुले लगतमुखी भन्दा पनि गुणस्तरिय न्याय सम्पादन हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपालगंज उच्च अदालत बार एशोसिएनका अध्यक्ष अधिवक्ता बल बहादुर चन्दले अदालत प्रति जनताको जनआस्था बढाउन अदालतले गरेका फैसला कार्यान्वयन हुनु पर्ने र यसको लागी अदालतको भुमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए ।
पुनरावेदन बार इकाइ नेपालगंजका पुर्व अध्यक्ष अधिवक्ता सुनिल कुमार श्रेष्ठले आदेश पाएको मितिले एक महिना भित्र नागरिकता दिई त्यसको जानकारी अदालतलाई दिनु भनी अदालतले आदेश दिएको एक बर्षसम्म पनि आदेश कार्यान्वयन नभएको बताए । न्याय क्षेत्र समन्वय समितिको बैठकमा अदालती फैसला कार्यान्वयन बारे छलफल भए पनि निकाश ननिस्कनु बिडम्बना भएको बताउदै अधिवक्ता श्रेष्ठले अदालतले आफुले गरेको फैसला कार्यान्वयनमा ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष अधिवक्ता शालिकराम सापकोटाले गुणस्तरिय न्याय सम्पादन हुनु पर्नेमा जोड दिदै सार्वजनिक सरोकारका मुद्धामा भएका आदेश कार्यान्वयन जोड दिए ।
कार्यक्रममा बोल्दै उच्च अदालत तुल्सीपुर नेपालगजं इजलासका वरिष्ठतम न्यायाधीश बिष्णु देव पौडेलले अनावश्यक रुपमा पेशी स्थगित गर्ने कार्यले न्याय सम्पादनमा ढिलाई हुने भन्दै न्याय सम्पादनमा सबैको सहयोग रहनु पर्नेमा जोड दिए । न्यायाधीशको भबिश्य आदेश र फैसलामा हुने भन्दै न्यायाधीश पौडेलले गुणस्तरिय न्याय सम्पादनमा आफुहरु प्रतिवद्ध रहेको बताए ।
बार बेन्चको बैठकमा बोल्दै न्यायाधीश खुसी प्रसाद थारुले फैसला कार्यान्वयनमा कानून ब्यवशायीको साथै अदालत र पक्षको पनि सरोकारको बिषय बन्नु पर्नेमा जोड दिए । न्यायिक आदेश भएमा फैसला कार्यान्वयनमा मद्धत पुग्ने न्यायाधीश थारुको भनार्इं थियो ।
वरिष्ठ अधिवक्ताहरु बिजय कुमार गुप्ता, भोला सिंह, श्याम प्रसाद गौतम, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता लक्ष्मी नारायण दाहाल, नेपाल बारका पुर्व उपाध्यक्ष टिका जंग सिंह, नेपालगंज उच्च अदालत बार एसोसिएसनका सचिव कृष्ण प्रसाद जैसी, उपाध्यक्ष ओम प्रकाश त्रिपाठी, बाके जिल्ला बारका अध्यक्ष उदयराज बर्मा, पुनरावेदन बार पुर्व अध्यहरु लोक बहादुर शाह इश्वरी प्रसाद ज्ञवाली, बाँके जिल्ला बारका पुर्व अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी लगायतका कानून ब्यवशायीहरु उपस्थित रहेको बार बेन्चको बैठकमा उपस्थित कानून ब्यवशायीहरुले अदालतबाट भएको फैसला कार्यान्वयन हुनु पर्ने, अदालतद्धारा गठित फैसला कार्यान्वयन समिति प्रभावकारी बन्नु पर्ने,अदालतमा कानून ब्यवशायी प्रतिक्षालय कक्षको स्थापना गरिनु पर्ने, न्यायिक निर्णयहरु गुणस्तरिय र न्यायमुखि र बिश्वसनिय हुनु पर्ने, पेशी सुचिमा कानून ब्यवशायीको नाम उल्लेख हुनु पर्ने, अर्ध न्यायिक निकायमा मुद्धाको सुनुवाई हुँदा कानून ब्यवशायीको प्रतिनिधित्वको सुनिश्चितता गरिनु पर्ने, बाँके जिल्ला अदालतमा सेवा ग्राहीले प्रयोग गर्ने सार्वजनिक शौचालयको सरसफाईमा ध्यान दिनु पर्ने, मालपोत, भुमिसुधार र नापी कार्यालयका काम कारवाह चुस्त दुरुस्त हुनु पर्ने, अदालतमा ब्यवस्थित चमेनागृह र सवारी साधन पाकिङ्गको लागी समुचित ग्यारेजको ब्यवस्था गरिनु पर्ने, १७ ंनं निवेदनको कैफियत प्रतिवेदन सिघ्र आउनु पर्ने, कानून ब्यवशायी प्रति न्यायालयको ब्यवहार समान हुनु पर्ने, प्रमाण बुझ्नु भन्दा पहिले मुद्धा मेलमिलाप केन्द्रमा पठाउन उपयुक्त हुने बताएका थिए ।
अदालतका रजिष्टार भुवन गिरिले रणनैतिक योजना अनुसार अदालत न्याय सम्पादनमा लागी परेको भन्दै फैसला कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको जानकारी गराउदै अदालतको फैसला कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेलले बार बेन्चमा बैठकमा उठेका कुराले न्याय सम्पादनमा अदालतलाई सघाउ पुग्ने बताए । बार बेन्चको बैठकमा उच्च अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, गुणराज ढुंगेल, गोपाल भट्टराई, गणेश प्रसाल बराल र खुसी प्रसाद थारु समेतको सहभागिता रहेको थियो ।