नरैनापुर : तलब भन्दा दोब्बर भत्ता

नेपालगन्ज/विनय दीक्षित

बाँके नरैनापुर गाउँपालिका कार्यालयको संचालनका लागि खटिएका कर्मचारी अर्थात प्रमुख प्रशासकीय अधिकृतले तलब भन्दा बढि भत्ता बुझेको तथ्य बाहिर आएको छ ।

 
नरैनापुर गाउँपालिकामा मंसिर १३ गते भएको गाउँसभाबाट निर्णय नं.११ मा कर्मचारीको ब्यवस्थापन तथा परिचालन सम्बन्धी विषयमा भत्ताको विषयलाई उल्लेख गरिएको छ । कर्मचारी ब्यवस्थापन, परिचालन, कल्याणका विषयमा २०७४ साल मंसिर १ गते देखि लागु हुनेगरि भत्ताको विवरण तय गरिएको छ ।

 
करारमा कार्यरत कर्मचारीहरु लाई सरकारले तय गरेको तलब बाहेक, इन्जिनियर वा सो सरह कर्मचारीका लागि ५ हजार, ओभरसियर वा सो सरहका लागि ४ हजार, सब इन्जिनियरको हकमा ३ हजार ५ सय, मुखियाका लागि २ हजार ५ सय र कार्यालय सहयोगी वा सो सरहका लागि २ हजार रुपैया मासिक प्रोत्साहन भत्ता निर्णय गरिएको हो ।
२०७३ साल चैत्र १८ गते देखि कार्यकारी अधिकृत (प्रमुख प्रशासकीय अधिकृत) मित्रलाल भट्टराईलाई २०७४ साल श्रावण १ गते देखि लागु हुने गरि मासिक २५ हजार रुपैया विविध सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको हो ।

 
‘मंसिरमा सरुवा भइजाने विषयमा पहिला नै तय भएको थियो’, कार्यालय श्रोतले भन्यो, ‘सरुवाको तयारीमा रहेका अधिकृत भट्टराईले २०७४ साल मंसिर १ गते देखि लागु हुने गरी खाजा खर्च वापत ४ हजार ५ सय, अतिथि सत्कारका लागि ४ हजार ५ सय र संचारका लागि १ हजार ५ सय रुपैया“ थप पाउने निर्णय भएको छ ।’ कर्मचारीको आकस्मिक उपचारका लागि २५ लाखको कोष परिचालन गर्ने निर्णय भएको उल्लेख छ । कर्मचारीको अवकाश कोष खडा गरी सो भित्र ५० लाख रुपैया दाखिला गर्ने समेत निर्णय भएको गाउँसभाबाट पारित सन्दर्भ सामाग्रीमा उल्लेख छ ।

 
गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहका लागि निर्णय नं.१७ मा २०७५ साल अषाढ मसान्त सम्म अतिथि सत्कार खर्च ५ हजार, संचार खर्च ५ हजार, सवारी साधनका लागि १ लाख र निजी सहायकका लागि १० हजार रुपैया मासिक भुक्तानी दिने गाउँसभाबाट पारित भएको छ ।

 
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले ओभर काम गर्नु परेका कारण भत्ता तय गरिएको बताएका छन् । ‘अधिकृतले ओभर टाइम र विदाको दिन पनि काम गर्नु पर्ने अवस्था विद्यमान भएकोले सो भत्ता निर्णय भएको हो’, उनले भने, ‘कुनै प्रकारको अवैधानिक रकम होइन ।’

 
गाउँपालिका प्रमुख शाहले कार्य सम्पादनका क्रममा खर्च हुने गरेकोले सो खर्च बाध्यकारी रहेको बताए । गाउँपालिका क्षेत्रमा जनताको समस्या सम्बोधन गर्न खटिनु पर्ने भएकोले सो कार्यका लागि सुविधा लिइएको बताए । यद्यपि उक्त सुविधा कुन रकमबाट लिइएको भन्ने विषयमा प्रष्ट जानकारी नभएको गाउँपालिका प्रमुख शाहले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया