गाउँमा खुलेआम ‘म्यानफोर्स’

नेपालगन्ज सहित कोहलपुर, खजुरा क्षेत्रमा गोप्य तरिकाले बिक्री हुने गरेको उत्तेजक र गर्भपतनको औषधी ग्रामीण क्षेत्रमा खुलेआम बिक्री भइरहेको पाइएको छ । खुल्ला सिमानाबाट भारतीय क्षेत्रमा रहेका औषधी तस्कर सिधै मेडिकल संचालकलाई प्रतिबन्धित औषधी पठाउने गरेको खुलेको हो । बाँकेको बेतहनी क्षेत्रमा झोले उपचारमा सक्रिय एक युवाले गाउँमा अधिकाँश मानिसहरुलाई औषधीको नामनै कण्ठ भएको बताए ।
अचेल औषधीको नामबाट नै संख्या तोकेर उपभोक्ताले माँग्छन्, दैनिक नेपालगन्ज संगको सम्पर्कमा युवाले भने, ५० एमजी देखि ५०० एमजी सम्मका उत्तेजक औषधी म्यानफोर्स, भिगोरा, भियाग्रा खुलेआम बिक्री हुन्छ ।
महिलाहरुको प्राथमिकतामा गर्भपतन किट पर्छ, युवाले भने, बाँकेको ग्रामीण क्षेत्रमा जहाँ औषधी ब्यवस्था विभागको अनुगमन हुँदैन त्यस्तो क्षेत्रमा यस्ता औषधीको माँग बढि छ । कुनै कारणवशः गर्भ रहन गएमा सुरक्षित तरिका अपनाउँदा कुरो बाहिर जाने डरले महिलाहरु आफै औषधी किनेर खान्छन्, उनले भने, भारतीय क्षेत्रमा प्रतिबन्ध नरहेका कारण पाउन सजिलो छ ।
उत्तेजना सम्बन्धी सबै कम्पनीको फार्मूला ‘सिल्डोनफिल’ नै हो, चिकित्सक भन्छन्, यस्तो औषधी सेवन गर्ने विभिन्न तरिकाहरु छन् । क्षति गर्ने विषयमा अनुमान गर्न त्यति सजिलो नभएपनि यसका प्रभावहरु धेरैछन् ।
पहिलो कुरो त कम्पनी, कम्पोजिसन, प्रभावकारिता, साइड इफेक्ट, विचार गरेर मात्र औषधी सेवन गर्नु पर्छ, डा.बद्री चापागाई भन्छन्, औषधीको प्याकेजिंग, मात्रा, सेवन विधिहरु पनि विचार गर्नु पर्ने विषय हुन् ।
‘उत्तेजनात्मक औषधी सेवन गर्नुको प्रभाव मुटु रोगीलाई तत्काल पर्न सक्छ’, डा.चापागाईले भने, ‘यस्तो औषधीले नसाहरु फुलाउने भएकोले टाउको र मुटुमा चाप बढ्ने खतरा हुन्छ ।’ उत्तेजनात्मक औषधीहरु दीर्घकालिन रुपमा सेवन गर्दा त्यसको प्रभाव बढि हुन जान्छ । ‘चिकित्सकको राय विना औषधी सेवन गर्नु आफैमा जोखिमयुक्त काम हो’, डा.चापागाईले भने, ‘ब्यक्तिको आवश्यकता अनुसार औषधीको फरक फरक मापदण्ड र सेवन विधि हुन्छ, पालन नगरे हानि हुनु स्वभाविक हो ।’ यस बारे औषधी ब्यवस्था विभाग संग गरिएको सम्पर्क प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया

प्रतिक्रिया