पछिल्लो एक महिना भित्र दुई पटक ठूलो परिमाणको लागुऔषध चरेस बरामद गरेर प्रहरीले चरेस कारोबार बढ्दो स्थितिमा रहेको पुष्टि गरेको छ ।
हालै मात्रै एसएसबीले ढाई करोडको चरेस बरामद गरेको थियो । रुपईडिहा स्थित सिमासुरक्षा बल (एसएसबी) ले दुई फरक फरक स्थानमा छापा हानेर दुई करोड ६० लाख रुपैया बराबरको चरेस बरामद गरेको थियो । नेपाली क्षेत्रबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा एसएसबीले दशगजामै बरामद गरेको उक्त चरेसमा संलग्न एक जना फरार भएका थिए र एक जनालाई एसएसबीले पक्राउ गरेको थियो । बल्लु उपनामका एक भारतीय ब्यक्तिलाई पक्राउ गरेर एसएसबीले आवश्यक कारवाही अघि बढाएको दुई साता वित्न नपाउँदै नेपाल प्रहरीले ठूलो परिमाणको चरेस बरामद गरेको छ ।
संघीय ईकाइ प्रहरी कार्यालय नेपालगन्जले १४ किलो चरेस सहित जाजरकोट कुसे गाँउपालिका ८ पजारुका अर्जुन बस्नेत, राम बहादुर खत्रि, प्रेम बहादुर खत्रिलाई चरेस सहित नियन्त्रणमा लिएको हो । बौजनाथ गाँउपालिका वडा नं.१ बाट १४ किलो चरेस र नगद सहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको एसएसपी महेश बिक्रम शाहले बताए ।, भारतीय क्षेत्रमा महंगो दरमा बिक्री हुने चरेस कतिपय जिल्लामा पराम्पराका हिसाबले पनि कारोबार भइरहेको पाइयो, उनले भने, भरियाहरुको चरण धेरै हुने भएकोले मुख्य अभियुक्त पक्राउ हुने सिलसिला पूर्ण हुन पाउँदैन ।
‘मध्यपश्चिम क्षेत्रका रुकुम, रोल्पा, जाजरकोट, सल्यान, सुर्खेत लगायत जिल्लाबाट भारतीय क्षेत्रमा चरेस निकासी हुन बाँके जिल्लाको नाका प्रयोग हुँदै आएको छ’, एसएसपी शाहले भने, ‘भारतीय क्षेत्रमा झण्डै तीन गुणा अन्तरको रेट पाउने भएकोले कारोबारीहरुले अफीम र चरेसलाई भारतीय क्षेत्रमा बिक्री गर्ने गरेका छन् ।’
भारतबाट बाँकेमा ब्राउन सुगर र लागुऔषधजन्य अन्य पदार्थहरु भित्रिएपनि अफीम र चरेस भारतीय क्षेत्रमा निकासी हुँदै आएको एसएसपी शाहले बताए । केहि महिना अघि मात्रै बाँके कारागारमा रहेका एक पाकिस्तानी नागरिकले भारतीय क्षेत्रमा पठाउँदै गरेको चरे बाँके बेतहनीबाट बरामद भएको थियो । भारतीय क्षेत्रमा चरेसको माँग महँगो छ, शाहले भने, लागुऔषध माफियाले नेपाली चरेसलाई उत्कृष्ट मान्ने हुनाले अधिकतम मुल्यमा यसको कारोबार भइरहेको तथ्यहरु प्राप्त हुँदै आएका छन् ।
भारतीय क्षेत्र रुपईडिहाबाट ब्राउन सुगर, नाइट्रोजेपाम, कारेक्स लगायत लागुऔषधहरु नेपाली क्षेत्रमा भित्रिएपनि चरेस र अफीमका लागि नेपाली बजार उर्बर रहेको अनुसन्धान अधिकारीहरुले बताएका छन् । पक्राउ परेका चारैजनालाई प्रहरीले लागुऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको
छ ।