शुक्रबार रातीबाट परेको बर्षाका कारण बाँकेमा ठूलो जनधनको क्षति भएको छ ।
बर्षात्को बाढीका कारण बाँके राप्तीसोनारी–४ स्थित लाललपुरमा घर भत्किदा एक परिवारका तीन बालिकाको मृत्यु भएको छ । कविराज थारुको घर भत्कदा अञ्जु थारु, रिता थारु र सुस्मिता थारुको मृत्यु भएको हो । एक जना पुरुषको शव डुबेको अवस्थामा फेला परेको छ ।
अविरल बर्षाका कारण राप्ती नदीको सतह खतराको स्तर भन्दा माथि रहेको छ । बाढीले गावरखोला र गढौली नाकाको पुलमा समेत क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नदीहरुमा जलस्तर बढेकाले सचेत रहन आग्रह गरेको छ ।
बाँकेको विभिन्न गाउँहरुमा बाढीले ठूलो क्षति पुर्याएको छ । मटेहियाका ७५ बढी घरहरुमा पानीले क्षति पुर्याएको स्थानीयबासीले बताए । गंगापुरको भोजपुर, कुदरवेटवा, तोन्द्रा, गंगापुर, सोनबर्ष, राप्तीसोनारीको पिप्रहवा, गेदवा, झगडिया, सर्रा, महेमानपुर, सिधनवा, बैजापुर र बिनौनाका केही गाउँ, होलियाको चौफेरी, टेपरी, पिप्रहवा, खडैचा, बेतहनीको सन्तलिया, बेतहनी चौराहा, हलबलडोली, कटलिया, कम्दीको मसहा लगायतका स्थानमा बाढीले क्षति पुर्याएको छ ।
बाँके जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले सुरक्षाकर्मीहरुले उद्दार गरिरहेको सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पनि खटिइसकेको छ । खजुरामा पनि बर्षात्को पानीका कारण विभिन्न ठाउँहरु जलमग्न भएका छन् । खजुरा गाउँपालिक वाड नम्बर ६ का सयौं घर डुबान मा परेका छन् ।
Photo : Ramesh Gautam Vijan / राप्तीसोनारी गाउँपालिका
Min B Malla / बाँकेमा बाढी, कम्दी डुडुवा
Dakta Dhital / facebook
[Photo Video Mamta Thapa]
[Photo Ranta khatri/Khajura]