भावुक योगी, बर्दिया, चैत १९
बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहत स्वरुप १० लाख रुपैँया प्रदान गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका २ कर्मलाका बिश्राम बादीलाई बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले राहत स्वरुप १० लाख रुपैँयाको चेक सनिवार हस्तान्तरण गर्नुभएको हो ।
जंगली हात्तीले कुल्चीँदा एकमात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयबासी सडकमा उत्रिएर सव उठाउन नदीएपछि निकुञ्ज संग बार्ता गर्दा विश्राम बादी पिडीत भएको भन्दै स्थानियवासी र श्रीरामनगर उपभोक्ता समितिको पहलमा थप ५ लाख राहत रकम प्रदान गरिएको हो । मृतकका बुवालाई जीवीकोपार्जनका लागि आयमुलक कार्यक्रममा समेत सहयोग गर्ने निकुञ्जले जनाएको छ ।
नेपाल सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत रकम उपलब्ध गराउने ब्यवस्था छ तर एक महिना अघि देखि जंगली हात्तीले निकुञ्ज आसपासका गाउँमा आतंक मच्चाइरहेका बेला हात्तीले कुल्चिदा एक मात्र छोराको ज्यान गएपछी श्रीरामनगर उपभोक्ता समिति र अन्य संघसंस्थाको सहयोगमा थप ५ लाख गरी राहत स्वरुप १० लाख प्रदान गरिएको हो ।
वन्यजन्तु संरक्षणमा लाग्दा लाग्दै वन्जन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुप प्रदान गरिने ५ लाख रकमबाट बढाएर १० लाख राहत रकम उपलब्ध गराउन प्रस्ताव गरिएको निकुञ्जका निमित्त संरक्षण प्रमुख थापाले बताउनुभयो ।
यसैबिच जंगली हात्तीलाई निकुञ्ज बाहीर आउनबाट रोक्न पाताभार क्षेत्रमा बिद्युतिय तारबार लगाउने तयारी भइरहेको र जंगली हात्तीले सताउने क्षेत्रमा कंक्रीट वालका लागि पहल गरिरहेको श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
निकुञ्जबाट गाउँमा पसेको जंगली हात्ती भगाउँन गएका बेला हात्तीले कुल्चिदा गत फागुन २४ गते ठाकुरबाबा २ कर्मलाका २० वर्षिय बिजय बादी नेपालीको ज्यान गएको थियो । बर्दिया निकुञ्ज आसपासका बस्तीमा जंगली हात्तीले कुल्चिदा एक वर्ष भित्र ६ जनाको ज्यान गइसकेको छ ।