आजबाट ‘ग्रास रुट’ फुटबल

नेपालगन्ज रंगशालाको बरमुडा घाँसमा कलिला बालक आजबाट ‘ग्रासरुट फुटबल’ खेल्ने भएका हुन् ।

फुटबलको भविष्य निर्माणका लागि बाँकेमा आज शुक्रवारदेखि ‘ग्रासरुट फुटबल’ प्रतियोगिताको आयोजना हुने भएको छ । नेपालगन्ज रंगशालाको सुविधासम्पन्न खेलमैदानमा बालबालिकाहरु फुटबलको प्रतिष्पर्धा गर्ने भएका हुन् ।


बाँके जिल्ला फुटबल संघको आयोजनामा जिल्लाका ९ वटा विद्यालयका ३ सय ८ जना बालबालिका सहभागी हुने प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एउटा विद्यालयको टिममा सात खेलाडी रहनेछन् ।


आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाहीले भविष्यका लागि प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर ग्रासरुट फुटबल प्रतियोगिता गर्न लागिएको बताए ।
आयोजनाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । ‘बालबालिकालाई सानै उमेरमा फुटबल खेल्ने सीप, फुटबल प्रति आकर्षण बढाउन ग्रास रुटले सहयोग गर्छ,’ अध्यक्ष शाहीले पत्रकारसँग भने, ‘हरेक देशले भविष्यका लागि यस्ता कार्यक्रमको आयोजना गर्ने गर्छ । बाँके जिल्ला फुटबलले यसलाई भविष्यमा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य बोकेको छ ।’


आयोजकका अनुसार, ग्रासरुट प्रतियोगितामा दीपज्योति सेकेन्डरी स्कुल चिसापानी, जनज्योति पब्लिक हाइस्कुल कोहलपुर, नेपालगन्ज मोडेल एकेडेमी, ग्रिनपीस सेकेन्डरी स्कुल कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी, होप इन्टरनेसनल एकेडेमी, स्टार फयुचर स्कुल, एबिसी रेसिडेण्टल स्कुलले सहभागिता जनाएका छन् ।


बाँके जिल्ला फुटबल संघकै पहलमा यसअघिपनि प्रस्तावित फुटबल एकेडमीको मैदानमा बालबालिकाका लागि फुटबल प्र्रशिक्षण सञ्चालन गरिएको थियो । ‘यो त्यसैको नयाँ चरण हो,’ अध्यक्ष शाहीले दैनिक नेपालगन्जसँग भने, ‘खेलकूद विकास समितिले रंगशाला उपलब्ध गरायो भने अब निरन्तर उक्त प्रशिक्षणलाई अगाडी बढाइनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया