धारा नेपालगन्ज म्याराथनलाई निदानको साथ
शनिवार आयोजना हुने धारा नेपालगन्ज म्याराथनको पाँचौं संस्करणदेखि साझेदार बढाइएको आयोजकले जनाएको छ । धारा नेपालगन्ज म्याराथनको लामो यात्राका लागि निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टरले दुई बर्षे सहकार्यको सम्झौता गरेको जानकारी दिंदै आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीले सबैको साझा आयोजनाका रुपमा नेपालगन्ज म्याराथनलाई भव्यदा दिइने बताए । निदानले धारा नेपालगन्ज म्याराथनमा विजयी सम्पुर्ण खेलाडीहरुको निशुल्क सम्पुर्ण शरिरको चेकजाँचको सुविधा गर्नेछ । त्यसैगरी सम्पुर्ण सहभागिहरुलाई पनि बिशेष छुटको सेवा प्रदान गरेको छ । बिभिन्न उमेरसमुहमध्ये ६० बर्षमाथिकालाई पचास प्रतिशत, ४० देखि ५९ बर्ष उमेरसम्मलाई ४० प्रतिशत र ४० बर्षसम्मलाई २५ प्रतिशत छुट दिनेछ । म्याराथन आयोजक र संलग्न अफिसियलका लागि पनि यो सेवा लागु हुने बताइएको छ ।

क्रिएटिभ ह्याण्ड्सले सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको छ । यसअघि ४ वटा संस्करणको सफलतापूर्वक आयोजनाबाट उत्साहित आयोजकले धारा शुद्ध तोरीको तेलसँग मुख्य प्रायोजकका रुपमा सहकार्य गरिसकेको छ ।
नेपालगन्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ भन्ने आयोजकको ठम्याई छ ।
पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुल्ला पुरुष, ५ किलोमिटर, ५ किलोमिटर स्कुल स्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ ।
यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भागलिदैआएका छन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् ।











