नेपालगन्जमा मेयर कप फुटबलको आगामी संस्करण तय भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा आगामी माघ ५ गतेदेखि मेयर कप फुटबल आयोजना गरिने तय भएको हो । ‘गतबर्ष भन्दा अझ भव्य र व्यवस्थित आयोजना गर्ने योजना अनुसार तयारी अगाडि बढाइएको छ’, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने ।
गत बर्ष तीन दर्जन विद्यालयहरुले सहभागिता जनाएको विभिन्न तीन चरणका प्रतियोगिता मध्ये यसबर्ष के–कसरी अझ व्यापकता दिन सकिन्छ भन्नेबारे छलफल भैरहेको अध्यक्ष शाहीले जानकारी दिए ।
एकेडेमीलाई रकम माग
बालबालिकाहरुलाई फुटबलसँग जोड्दै खेलकुदको विकासमा बृहत्तर योजनामा लागेको बाँके जिल्ला फुटबल संघले मिनि फुटबल एकेडेमीका लागि प्रस्तावित मैदान सुरक्षाका लागि बजेट माग गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा २३ कठ्ठा जग्गा व्यवस्थापन गरी सुरु गरिएको मिनि फुटबल एकेडेमीको प्रारम्भिक व्यवस्थापनका लागि रकम खोजी गरिएको हो । ‘मैदानमा तारबार, शौचालय, चेन्जिङ रुम जस्ता आधारभूत संरचना नहुँदा बालबालिकाका लागि नियमित प्रशिक्षणमै समस्या देखिएको छ’, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सरोकारवाला विभिन्न ठाउँमा रकम माग गरेका छौं ।’
नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजालको विशेष पहलकदमीमा नेपालगन्जमा मिनि फुटबल एकेडेमीका लागि धम्बोझी स्थित श्री गोकुलेश्वर रामजानकी महादेव मन्दिरको २३ कठ्ठा जग्गामा उपलब्ध गराएपछि बालबालिकाहरु प्रशिक्षणमा आउन थालेका छन् ।
‘तर, तारबार नहुँदा सिनियर खेलाडीहरु मैदान अभावले यसैलाई उपयोग गर्न बाध्य छन्’, शनिबार अध्यक्ष शाहीले रकम अभावको गुनासो गरिरहँदा दुई दर्जन बढी बालबालिका प्रशिक्षणका लागि मैदान बाहिर प्रतिक्षारत थिए । उनीहरुले विभिन्न व्यवसायिक व्यक्तिहरुले आपसी प्रतिस्पर्धात्मक खेल सकिने समय पर्खिरहँदा बालबालिकाको प्रशिक्षण समय घर्किरहेको थियो ।
दुई महिनायता दर्जनौं बालबालिकाहरु प्रत्येक साता शुक्रबार र शनिबार फुटबलसँग रमाउँदै आएका छन् । ‘यसलाई आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्राक्टिस भेनुका रुपमा विकास गर्न बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छु’, यसबीच मैदान अनुगमनका लागि पुगेका मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने । समितिले खेलाडीहरुको प्राक्टिस भेनुका लागि जिल्लाका विभिन्न पायक पर्ने उचित मैदानहरुलाई आर्थिक सहयोग गरी व्यवस्थित गर्न खोजेको छ ।
मिनि फुटबल एकेडेमीका लागि योजना अगाडि बढाएको बाँके जिल्ला फुटबल संघले आठौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारका लागि करोडौं बजेट परिचालन भैरहँदा प्रस्तावित एकेडेमी मैदानमा पनि सहयोग पाउने विश्वास व्यक्त गरेको छ । प्रत्येक शुक्रबार र शनिबार ५० बढी बालबालिकाहरु नियमित फुटबल प्रशिक्षणमा आउने उक्त मैदानमा तत्काल आवश्यक १५ लाख रुपैयाँ यथाशक्य रकम आठौं अन्तर्गत समितिबाट अपेक्षा गरिएको अध्यक्ष शाहीले बताए । ‘त्यसका लागि अपेक्षित आशयको प्रस्ताव समेत समितिमा दर्ता गराइसकेका छौं’, अध्यक्ष शाहीले भने, ‘बाँकी अपुग रकम वडा नं. १ वा नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त हुनेमा विश्वस्त छौं ।’
बाँके जिल्ला फुटबल संघले मिनी फुटबल एकेडेमीको विभिन्न चरणका योजना अगाडि बढाएको छ । अध्यक्ष शाहीका अनुसार, पहिलो चरणमा एन्फाको पाँच लाख र स्थानीय स्रोत व्यवस्थापन गरी पाँच लाख जुटाएर प्रारम्भिक मैदान तयार गरिएको हो ।
नेपालगन्जमा गोल प्रोजेक्टका लागि समेत उपयुक्त मानिएको उक्त मैदानका आधारभूत भौतिक पूर्वाधार निर्माण गर्न सके एन्फाले फिफा मार्फत ठूलो लगानी नेपालगन्ज ल्याउने आशा समेत बाँके जिल्ला फुटबल संघको छ । ‘फुटबल खेलाडीका लागि यो एउटा उर्बर मैदान साबित हुनेछ’, अध्यक्ष शाहीले आफ्नो ड्रिम प्रोजेक्ट सुनाउँदै भने, ‘पश्चिम क्षेत्रकै लागि आशलाग्दो मैदानका रुपमा यसलाई विकास गर्न सकिन्छ ।’