बाँके : चेस खेल्ने ? खुल्यो खेलाडी दर्ता

आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै खेलाडी दर्ता आव्हान गरिएको हो

 
घरमंै बसीबसी आफन्तहरुसँग बुद्धिचाल (चेस) खेल्दै हुनुहुन्छ ? हो भने खेलकुदको महाकुम्भ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा तपाईले भाग लिन सक्ने सम्भावनाको ढोका खुलेको छ । आगामी माघको अन्तिम साता नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सञ्चालन हुने झण्डै तीन दर्जन खेलका प्रतिस्पर्धा मध्ये चेस पनि परेको छ । त्यसका लागि जिल्ला स्तरबाट छनोट भएर प्रदेश हुँदै राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाइन्छ ।

 
बाँके जिल्ला बुद्धिचाल संघले पहिलो पटक सार्वजनिक रुपमै खेलाडी दर्ताका लागि आव्हान गर्दै नेपालगन्जमा हुने आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा उपाधी जित्ने लक्ष्य लिएको छ । ‘हाम्रै ठाउँमा यति ठूलो प्रतियोगिता हुँदा बढी भन्दा बढी सहभागिता जनाइनु पर्छ भन्ने सोंचका साथ अभियानमा लागेका छौं’, जिल्ला बुद्धिचाल संघका अध्यक्ष धनराम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘बाँके जिल्ला खेलकुद विकास समितिले यही शुक्रबारसम्म खेलाडी दर्ता फारामका लागि म्याद दिएकाले सबैलाई सूचित गरिरहेका छौं ।’

 
सामान्य जोहोमा घरघरै खेल्न सकिने चेस खेललाई व्यापक बिस्तार गर्ने योजना बुद्धिचाल संघले अघि सारेको छ । गत भदौमा ओलीले नेतृत्व लिएपछि जिल्लामा भएका खेलाडीहरुको सूचि तयार गरेको संघले उनीहरु मध्ये अधिकांस नियमित अभ्यासमा नरहेकाले नयाँ खेलाडीमा रुचि देखाएको छ । ‘पुराना खेलाडी र विद्यार्थी गरी १ सय २५ जना हामीसँग सम्पर्कमा हुनुहुन्छ’, अध्यक्ष ओलीले सयौं खेलाडीको सम्भावना औंल्याउँदै भने, ‘एक दशकदेखि जिल्लामा बुद्धिचाल संघ संगठित रहेको देखिएपनि केन्द्रसँग सम्पर्क नहुँदा खेलकुदको विकास संस्थागत रुपमा हुन नसकेको देखियो ।’ ओली नेतृत्वमा आएपछि केन्द्रीय संघसँग सम्पर्क स्थापित मात्रै होइन जिल्ला शाखाको मान्यता पनि पाइसकेको छ ।

 
‘हामी प्रत्येक विद्यालयलाई बुद्धिचाल (चेस) प्रतियोगिता सञ्चालनका लागि प्रेरित पनि गरिरहेका छौं’, प्रतिस्पर्धालाई प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिंदै अध्यक्ष ओलीले ज्ञानोदय विद्या निकेतन, यूनाइटेड लगायतका कतिपय विद्यालयहरुले यसबीच प्रतियोगिता आयोजना गरिसकेको बताए । सार्वजनिक सूचना नै आव्हान गरेको जिल्ला संघले जिल्ला स्तरको छनोट हुँदै केन्द्रसम्म प्रतिस्पर्धी पुर्याउन सबै किसिमको सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया