नाका खोल्न भन्दै ज्ञापन

६ महिनादेखि बन्द नेपाल– भारत सीमानाका खोल्न जनता समाजबादी पार्टी (जसपा) बाँकेले सरकारसँग माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा, बाँकेले लकडाउन र सीमानाका बन्द गर्दासमेत कोरोनाको संक्रमण रोक्न नसकिएको भन्दै नेपाल–भारत सीमानाका तत्काल खोल्न माग गरेको हो ।
भारतमा कोरोना संक्रमण दर बढ्दै गएका बेला नेपालमा कोरोना नभित्रियोस भन्ने उद्देश्यले सरकारले ११ चैत,२०७६ देखि नेपाल–भारत नाका सील गरि आवतजावतमा रोक लगाएको थियो । अतिआवश्यक काम बाहेक भारतबाट नेपाल आउन प्रतिवन्ध छ । सरकारले नेपाल–भारत आउजाउ गर्न प्रतिवन्ध लगाएपछि कोरोना नियन्त्रणमा केहि सहज भएको भन्दै अझै केही समय नाका नखोल्ने निर्णय सरकारले यसैसाता गरेको छ ।
नेपाली नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले ११ चैत, २०७६ देखि लकडाउनका साथै नेपाल भारत अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि कोरोनाको संक्रमण समुदाय स्तरसम्म पुगी सकेकोले सीमानाका बन्द गर्नुको औचित्य सकिएको जसपाले दावी छ । ‘कोरोना हाम्रो जीवनको अभिन्न अंग बनी सकेको छ । कोरोना भाईरसबाट सुरक्षा सतर्कता बाहेक बच्ने अर्को बिकल्प छैन,’ जसपा, बाँकेका अध्यक्ष गिरिजाप्रसाद पाठकले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ, ‘लकडाउन अन्त्य भई बजार, होटल, सार्वजनिक यातायात समेत सुरक्षा सतर्कता अपनाएर सञ्चालनमा आइसकेको अवस्थामा नेपाल–भारत सीमानाका खुल्ला नहुनु दुर्भाग्य मान्नु पर्दछ ।’
सीमानाका बन्द भएपछि नेपाल–भारत बीच रहेको आर्थिक, सामाजिक, साँस्कृतिक सम्बन्ध धरापमा परेको जिकिर जसपाले गरेको छ । ‘कोरोना भाइरसको संक्रमण रोक्नको लागि सीमा सिल गरिएको भनिए पनि हाल त्यसको औचित्य सकिसकेको छ,’ प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया