गृहमन्त्री सुधन गुरुङले रु २५ लाख बराबरको सेयर सम्बन्धी विषय आफ्नो सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको बताएका छन्।
आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा आएका टिप्पणीहरूलाई स्पष्ट पार्दै उनले सो विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताएका छन्।
मन्त्री गुरुङको सचिवालयका अनुसार सबै सेयर एउटै प्रकृतिका हुँदैनन् र धितोपत्र बजारमा कारोबार हुने सेयरमा दुई करोडभन्दा बढी लगानी रहेको कुरा सम्पत्ति विवरणमै स्पष्ट छ।
सचिवालयले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि यही समूहभित्र समेटिएको जनाएको छ।
त्यसैगरी, मन्त्री बन्नुअघि सेयर किनिएको विषयमा नकारात्मक धारणा बनाइएकोप्रति असहमति जनाउँदै उनले सेयरमा लगानी गर्नु कुनै अपराध नभएको बताएका छन्।
साथै, सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र बैंकबाट गएको रकमको सम्पूर्ण विवरण स्पष्ट रहेको पनि उनले बताएका छन्।




