प्रजातान्त्रिक पत्रकारहरुको संस्था, नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन ओली निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनबाट ओलीले चेतकान्त भट्टराई र नवीन गिरीलाई उछिन्दै ओली निर्वाचित भएका हुन् ।
लामो समयदेखि युनियनमा सक्रिय पत्रकार ओलीले ७७ मत, भट्टराईले ४० र गिरीले ३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सचिवमा विजय मल्ल निर्वाचित भएका छन् । मल्लले ८४ मत र प्रियास्मृति ढकालले ६४ मत प्राप्त गरेका थिए ।
बुधवारदेखि चलेको युनियनको अधिवेशनले यसअघिनै उपाध्यक्षद्वय समीरमान श्रेष्ठ र विनय त्रिपाठी, सहसचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्विरोध चयन गरिसकेको थियो । अध्यक्षमा तीनैजना दावेदारलाई मनाउन नसकिएपछि शुक्रवार मतदान गरिएको हो ।
कार्यसमिति सदस्यहरुमा रविन्द्र घिमिरे, रामबहादुर रावत, कमल केसी, संगिता पाठक, लक्ष्मी गौडेल, दीपक कुमार राई, गणेश बहादुर राई, नरेन्द्र सिंह र नन्दलाल साहु निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।