तरुण सभापति शाह जेल चलान, समातिए खड्का

हतियार सहित पक्राउ परेका तरुण दल नेपालगन्जका सभापति सन्दिप जंग शाह जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । शाह सहित चार जना विरुद्ध सोमबार अदालतमा भएको थुनछेक बहस पछि अदालतले शाहलाई थुनामा राख्ने र अन्य तीन जनालाई धरौटी दिने आदेश गरेको हो ।


इलाका प्रहरी कार्यालयका अनुसार, तरुण अध्यक्ष शाह, माधव नेपाली, प्रितम थापा र यमबहादुर बुढामगरलाई प्रतिवादी बनाएर हातहतियार तथा खरखजना मुद्दा अदालतमा दायर गरिएको थियो । अदालतले माधव, प्रितम र यम बहादुरलाई जनही डेढ लाख रुपैैयाँ धरौटीको आदेश दिएको अधिवक्ता लोक बहादुर शाहले जानकारी दिएका छन् ।


सरकारी वकिलको कार्यालयले हातहतियार तथा खरखजना मुद्दामा उनीहरु विरुद्ध पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । मुलुकी अपराध संहिता–२०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


युवा व्यवसायी समेत रहेका शाहलाई गत कार्तिक १३ गते प्रहरीले पक्राउ गरेको थियो । शाहलाई गनापुर स्थित एक रेष्टुरेन्टबाट एकथान लोडेड पेस्तोल सहित पक्राउ गरिएको थियो । कोहलपुर प्रहरीले शाहलाई एक थान मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोल सहित पक्राउ गरेपछि अनुसन्धान सुरु गरेको थियो । शाहसँग फेला परेको पेस्तोलमा दुई थान गोली समेत लोड थियो ।


आसन्न एउटा ठेक्कालाई लिएर आफ्ना सहकर्मीहरु माझ योजना बनाइरहँदा शाहलाई त्यहीबाट गएको सूचनाका आधारमा कोहलपुर प्रहरीले छापा हानेको थियो । प्रहरीका अनुसार, सन्दिप गाडी चढेर जान खोज्दा उनको गाडीको बायाँ पट्टीको सिटमूनि पेस्तोल राख्ने विशेष व्यवस्था सहितको ठाउँमा हतियार फेला परेको थियो ।


नेपाली काँग्रेस बाँके आफ्ना कार्यकर्तालाई फसाउन लागेको भन्दै आन्दोलित हुँदै आएको छ । त्यसक्रममा एक दिन जिल्ला बन्द समेत गरिएको थियो । काँग्रेस बाँके सभापति किरण कोइरालाले सोमबार प्रहरीको फसाउने क्रियाकलाप विरुद्ध काँग्रेसले गरेको आन्दोलन सफल पार्न सहयोग गर्नेहरुप्रति धन्यवाद समेत व्यक्त गरेकी छन् ।

समातिएर तरुण नेता खड्का


तरुण दल बाँकेको कोषाध्यक्ष केशर खड्कालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । ज्यान मार्ने उद्योगमा फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो । उनीमाथि गत २६ असोज २०७६ मा बाँकेको बैजनाथ गाउँपालिका–३ मा आयोजित मेलामा मेला संयोजक लोकेन्द्र शाहीलाई खुकुरी प्रहार गरेर आरोप छ ।


घटना लगत्तै प्रहरीले घटनामा संलग्नताको आरोपमा तेजु रोकाया, यमबहादुर राना, पुस्कर राना, विष्णु रोकाया र सुरेश रानालाई पक्राउ गरेको थियो । तर, घटनाका आरोपी खड्का सोही समयदेखि फरार रहेका थिए । प्रहरीले उनीहरु विरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिसकेको छ । उक्त मुद्दामा अदालतले यमबहादुर रानालाई पुर्पक्षका लागि थुनामा पठाउने र अन्यलाई धरौटीको आदेश दिएको थियो ।


जिल्ला प्रहरी कार्यालय बाँकेले खड्का फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउ गरिदिन अनुमति दिएको थियो । ज्यान मार्ने उद्योगमा प्रतिवादी बनाइएका केशर खड्कालाई फरार सूचीमा राखिएको थियो । महाशाखाले खड्कालाई कोहलपुर प्रहरीको जिम्मा लगाउने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया