बाँकेमा १३ हजार ४४२ मत बदर, क्षेत्र नं २ मा सबैभन्दा धेरै

बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत कूल १३ हजार ४४२ मत बदर भएका छन्। जिल्लाका निर्वाचन क्षेत्र नं १, २ र ३ मा खसेका मतमध्ये उक्त सङ्ख्यामा मत बदर भएको हो।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार मतदाता शिक्षा सञ्चालन गरिएको भए पनि धेरै मतपत्रमा दुई वटा सङ्केत गरिएको, ल्याप्चे हानेको, चिह्नमाथि छाप लगाएको तथा मत माग्न आएका सबै उम्मेदवारका चिह्नमा छाप लगाएको पाइएको छ। उनले समानुपातिकतर्फ पनि सबै चिह्नमा छाप लगाएको भेटिएको बताए।

शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नं १ मा कूल खसेको ७४ हजार ९९२ मतमध्ये चार हजार ८५ मत बदर भएको छ। निर्वाचन क्षेत्र नं २ मा कूल खसेको ७२ हजार सात मतमध्ये पाँच हजार ३०६ मत बदर भएका छन् भने निर्वाचन क्षेत्र नं ३ मा कूल खसेको ७४ हजार ३१० मतमध्ये चार हजार ५१ मत बदर भएको छ।

तीमध्ये सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नं २ मा रहेको छ भने सबैभन्दा कम बदर मत निर्वाचन क्षेत्र नं ३ मा रहेको छ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन्। तीमध्ये दुई लाख २१ हजार ३०९ मत खसेको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा १५ हजार ३३५ मत बदर भएको थियो।

यसैबीच, बाँकेको निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले सबैभन्दा बढी ३४ हजार ३८२ मत प्राप्त गरेको छ। समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चुनाव चिह्नले १४ हजार २२४ मत ल्याएर दोस्रो स्थान हासिल गरेको छ भने नेकपा (एमाले) को सूर्य चुनाव चिह्नले १० हजार ३२० मत ल्याएर तेस्रो स्थान प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पाँच हजार ८४३ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ चार हजार २८४ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

प्रतिक्रिया