सुदूरपश्चिमका मतदाताले यसपटक चुनाव लडेका ११ पूर्वमन्त्री र एक पूर्वमुख्यमन्त्रीलाई विजयी हुन दिएनन्। प्रदेशका मतदाताले पटक–पटक अवसर पाएका र लामो समयदेखि राजनीति गर्दै आएका पुराना नेताहरूलाई जिताउने गरी भोट नदिएको स्पष्ट देखिएको छ।
फेरि पनि संसद् पुग्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएका विभिन्न दलका ११ जना पूर्वमन्त्री र एक पूर्वमुख्यमन्त्रीलाई मतदाताले अस्वीकार गरेका हुन्। यस पटकको चुनावमा सुदूरपश्चिमका धेरै वर्षदेखि सक्रिय नेताहरूले समेत आफ्नो राजनीतिक साख जोगाउन सकेनन्।
अछाम–१ मा नेकपाका नेता डा. भीमबहादुर रावललाई नेपाली कांग्रेसका भरतकुमार स्वारले ५२६ मतको झिनो अन्तरले पराजित गरे। उता, डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो स्थानमा सीमित भए। सो क्षेत्रमा नेपाली कांग्रेसका भरतबहादुर खड्काले जित हासिल गरे।
यसपटक पुराना दलका चर्चित नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नयाँ उम्मेदवारहरूले ठूलो चुनौती दिएका छन्। कैलाली–५ मा पूर्वमन्त्री प्रेमबहादुर आले रास्वपाका आनन्दबहादुर चन्दसँग पराजित भए भने कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगर रास्वपाकै जनकसिंह धामीसँग पराजित हुँदै संसद् पुग्न असफल भइन्।
त्यसैगरी कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्ट र कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउद पनि पराजित भए।
यस्तै बैतडीमा दामोदर भण्डारी, कञ्चनपुर–३ मा मानबहादुर सुनार, बाजुरामा प्रकाशबहादुर शाह, कैलाली–३ मा गौरीशंकर चौधरी, कैलाली–१ मा जनकराज चौधरी र कञ्चनपुर–१ मा तारा लामा तामाङलाई पनि यसपटक मतदाताले पत्याएनन्।
यद्यपि, यसअघि मन्त्री भइसकेका दुई जना पूर्वमन्त्रीले भने चुनौतीका बाबजुद पनि यसपटक चुनाव जित्न सफल भएका छन्।
दार्चुलाबाट नेकपा एमालेका गणेशबहादुर ठगुन्ना र बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरीले विजय हासिल गर्दै प्रतिनिधिसभामा स्थान बनाउन सफल भएका हुन्।










