कैलालीमा जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डमा रहेका १ लाख ६० हजार र कार्यालयमै भण्डारण गरिएका ४० हजार राष्ट्रिय परिचयपत्र आगलागीमा परेर नष्ट भएका हुन्। विभिन्न पालिकाका वडाबाट ती परिचयपत्र वितरणको क्रममा रहेका थिए।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, जलेर नष्ट भएका परिचयपत्र सरकारले पुनः छापेर पठाउने छ। “परिचयपत्र जले पनि सबै विवरण सुरक्षित छन्,” उहाँले भन्नुभयो, “नयाँ परिचयपत्र छापेर सम्बन्धित स्थानमा पठाइनेछ।”
यसै क्रममा, राणाकालमा बनेको पुरानो भवनमा सञ्चालन हुँदै आएको राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम पनि आगलागीबाट प्रभावित भएको छ। सो भवनसहित त्यहाँका कागजात, उपकरण तथा अभिलेखहरू समेत जलेर नष्ट भएको कार्यालयले जनाएको छ।












