बर्दिया निकुञ्ज आसपासका कृषक सामुहिक रुपमा बेसार खेती गर्दै, हात्ती बेसार ब्रान्डबाट बिक्री 

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका आसपासका किसानहरु वर्षौदेखि निकुञ्ज तथा सामुदायिक वन भित्रबाट आएका वन्यजन्तुबाट पिडित छन् । किसानहरुले लगाएको अन्नवाली धान, मकै, गहुँ भित्र्याउन नपाउँदै बाली स्याहार्ने बेला जंगली हात्ती, गैँडा, निलगाई, चित्तल, ब‌देल लगायतका वन्यजन्तुले खाएर कुल्चेर नोक्सानी पुर्याउँछन् । 

तर पछिल्लो समय वन्यजन्तु पीडित निकुञ्ज तथा सामुदायिक वन आसपासका किसानहरु वैकल्पीक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन् । बेसार खेतीलाई जंगली जनावरले क्षति नपुर्‍याउने भएकाले पनि किसानहरु बेसार खेतीतर्फ आकर्षित भएका हुन् ।

बर्दिया निकुञ्ज किनारमा पर्ने ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाका किसानहरु वन्यजन्तुले क्षति पुर्याउँदा अन्नबालीको उत्पादन लिन नसकेकेपछि साहारा कृषक समुहमा आवद्ध ९४ जना मध्ये समुहका आधा ४२ जना किसानहरुले सामुहिक रुपमा बेसार खेती गरि मनग्य आम्दानी गर्न थालेका हुन् ।

व्यवसायीक रुपमा बेसार खेती सुरु गरेपछि  दलित महिला उत्थान संघबाट तालिम र बेसारलाई धुलाे बनाउने मेसिन, स्थानीय पालिका मधुवन नगरपालिकाबाट ५ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण काेष (एनटिएनसि) बाट ८ लाख रुपैयाँ आर्थिक सहयाेग पनि पाएका छन् ।

समुहमा बार्षिक ९ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको साहारा कृषक समुहका सचिव नयाँराम सुनारले जानकारी दिनुभयो । सामुहिक रुपमा बेसार खेती गरेर एक जना किसानले आंसिक रुपमा काम गरेर वार्षिक ४० हजार रुपैँया आम्दानी गरिरहेका उहाँले बताउनुभयो ।

वन्यजन्तु पीडित किसानहरुलाई बेसार खेतीबाट आफ्नो समस्या टार्न सहज भएको छ । जंगली जनावरले धान, मकै, गहुँ लगायतका अन्नबाली नोक्सान पारीदिँदा परम्परागत ढंगले खेती गर्दै आएका किसानहरु विकल्पका रुपमा व्यवसायीक बेसार खेती सुरु गरेका हुन् ।

मधुवन नगरपालिका १ कैलासीमा रहेको साहारा कृषक समुहका सचिव नयाँराम सुनारले विगत ४ बर्षदेखि सामुहिक रुपमा व्यवसायिक बेसार खेती गर्दै आएको बताउनुभयो । पहिलो पटक ४२ विगाह जग्गामा बेसार खेती गरेपनि पछिल्लो समय बजारीकरणमा समस्या हुन थालेपछि हाल झन्डै २२ विगाह जग्गामा बेसार खेती गर्दै आएको उहाँले बताउनुभयो । 

व्यवसायीक बेसार खेती सुरु गरेपछि साहारा कृषक समुहलाई मधुवन नगरपालिकाले टहरा निर्माणका लागि ४ लाख रुपैयाँ, गाडिका लागि १ लाख ५० लाख रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दिया संरक्षण कार्यक्रम (एनटिएसी) ले झण्डै ८ लाख रुपैयाँ बराबरको सहयोग गरेको समुहका सचिव नयाँराम सुनारले बताउनुभयो ।

दलित महिला उत्थान संघ गुलरियाले किसानहरुलाई वैकल्पीक रुपमा व्यवसायिक बेसार खेतीका लागि तालिम प्रदान गर्नुका साथै मेशिन उपलब्ध गराएको उहाँले बताउनुभयो । यसैगरि मधुवन नगरपालिकाले मेशिन राख्ने टहरा, ढुवानीका लागि गाडी पनि उपलब्ध गराएको उहाँले बताउनुभयो । 

उहाँले सामुहिक रुपमा राम्रोसँग मलजल गरेर प्रति कठ्ठा ५ देखि ६ क्वीन्टलसम्म बेसार फलाउने गरेको र पहिले खेतीबालीबाट अन्न भित्र्याउन नपाएका किसाहरुले पछिल्लो समय बेसार खेतीबाट फाइदा लिइरहेका बताउनुभयो ।

बेसार खेतीका लागि आफूहरुले साहारा कृषक समुहबाट २ लाख रुपैयाँबाट लगानी गरेर सुरु गरेको बताउनुभयो ।

उत्पादन गरिएको बेसार हात्ती बेसार ब्रान्ड गरि प्याकिङ गरेर गाउँघरमै बेच्ने गरिएको छ । समुहलाई अहिले बजारीकरणमा समस्या हुँदा बाहिर निर्यात गर्न अझै नसकिएको उहाँको भनाइ छ । 

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का कृषकसहित मधुवन नगरपालिका १ का गरि ८४ जना किसानहरु समुहमा आवद्ध रहेका छन् । समुहमा आवद्ध मध्ये ४२ जना किसानहरु बेसार खेतिमा जुटेका छन् ।

समुह भन्दा बाहिरका किसानहरुले उत्पादन गरेको बेसारसमेत प्रति किलो १४ देखि २० रुपैयाँमा किनेर धुलाे बनाएर हात्ती बेसार नामका ब्रान्ड गरि प्याकिङ गरेर प्रति किलो २ सय ५० रुपैयाँमा बेच्ने गरेको उहाँले जानकारी दिनुभयो । 

निकुञ्ज किनारका मध्यवर्ती क्षेत्रका स्थानीयबासिन्दालाई (एनटिएनसि) राष्ट्रिय प्रकृति संरक्षण काेषले वन्यजन्तुबाट क्षति नहुने खालका खेति गर्न विभिन्न सहयाेग गर्न थालेको (एनटिएनसि) राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्राकृतिक स्राेत संरक्षण सहायक उमेश पाैडेलले बताउनुभयाे । पछिल्लो समय मधुवन नगरपालिकाले पनि यस क्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरी बेसार खेतीलाई प्रोत्साहन गर्ने प्रयास थालेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया