मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

२३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।

एक समय कर्णाली २८.२ ओभरमा १०४–७ को अवस्थामा पुगेको थियो । आठौं विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी गर्दै कर्णालीको जितको आशा कायमै राखेका थिए । तर तीव्र गतिका बलर राजेश यादवको ४० औं ओभरको चौथो बलमा दिनेश आउट भएपछि कर्णालीको जितको सम्भावना लगभग सकिएको थियो । सट बलमा छक्का हान्न खोज्दा टप एज लागेर उनी मिडअफमा मयन यादवबाट क्याच हुन पुगेका थिए ।

अर्जुन अन्तिम विकेटको रुपमा लङअनमा पवन सरार्फबाट क्याच आउट भए । कर्णालीले कप्तान तथा प्रमुख ब्याटर रवीन्द्रजंग शाहीलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर राजेश यादवको बलमा रवीन्द्र एज लागेर फस्टस्लिपमा रञ्जित कुमारबाट क्याच आउट भएका थिए ।

राजेश यादवले नै हिमांशु शाहीलाई २ रनमा क्याच आउट गराए । तेस्रो विकेटका लागि विपिन शाही र अर्जुन घर्तीले ४४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । विपिन शाही स्पिनर रञ्जित कुमारको बलमा कभरमा रुपेशबाट क्याच आउट भएपछि कर्णालीलाई ठूलो झड्का लागेको थियो । विपिन शाहीले ३८ बलमा ६ चौकासहित ३१ रनको इनिङ खेले ।

मधेशका राजेश यादवले ६ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १-१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। मधेशका कप्तान हरिशंकर शाहले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेले । युवा ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए । अनिलकुमार साहले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनको योगदान दिए ।

प्रतिक्रिया

प्रतिक्रिया