नुन प्याकिंग गरेर जीविकोपार्जन

रुपनी जि एम, बाँके ।

सुर्खेतकी गीता मल्ल साल्ट्र ट्रेडिंग कर्पोरेसनको नुन गोदाममा प्रत्येक बिहान नौं बजे नै नुन प्याकिंग गर्न पुग्नुहुन्छ । विगत ४ वर्षदेखि उहाँले नुन प्याकिंग गरेर आफुसँगै आफ्ना छोराछोरीको पटे पाल्दै आउनुभएको छ । ३७ वर्षिया गीताको सबै घरखर्च नै नुनले धानेको छ । शुरुशुरुमा नुन प्याकिंग गर्न गाह्रो भएपनि हिजोआज सजिलो लाग्ने गीताको भनाई छ ।

साल्ट्र ट्रेडिंग कर्पोरेसनमा काम गर्नुभन्दा पहिला गीताले सामान्यतः घरमै दुईचार ओटा बाख्रा पालेर घरखर्च चलाएको गीताले बताउनुभयो,‘नुन प्याकिंग गर्न थालेको चार वर्ष हुन लागेको छ । योभन्दा पहिला मैले घरमै दुईचार ओटा बाख्रा पालेर घरखर्च चलाईरहेको थिएँ ।’ गीताले भन्नुभयो,‘श्रीमानको मृत्युपछि घर र छोराछोरीको सबै जिम्मेवारी नै मेरो काँधमा आईलाग्यो ।’

२०७२ सालमा वैदेशिक रोजगारीका लागि मलेसियामा जानु भएका श्रीमानको गएको डेढ महिनामा नै दुर्घटनामा परेर मृत्यु भएपछि शुरुका केही वर्ष घर चलाउन निकै नै गाह्रो भएको गीताले बताउनुभयो । ‘विदेश गएको दुई महिना पनि नपुग्दै परदेशको ठाउँमा उहाँको दुर्घटनामा परी मृत्यु भयो ।’ गीताले भन्नुभयो,‘श्रीमानको मृत्युपछि मेरो आँखा अगाडी सबै कुरा उजाडियो । तरपनि छोराछोरीका लागि मैले नै केही गर्नु थियो । त्यसैले हिम्मत हार्न सकिंन ।’

एलक महिला गीतालाई आफुसँगै आफ्ना तीनजना छोराछोरीको सबै जिम्मेवारी उहाँ एक्लैले पुरा गर्न परेपछि उहाँले शुरुशुरुमा जे जस्तो काम भेट्नुभयो त्यो सबै गर्नुभयो । बाख्रा पालेर घरखर्च सम्म चलाउन धौधौ भएपछि गीताले नुन प्याकिंग गर्न शुरु गरेको बताउनुभयो । गीताले एकदिनमा लगभग २७ बोरा नुन प्याकिंग गर्नुहुन्छ । मासिक १८ हजारसम्म तलब रहेकोमा सञ्चय कोष काटेर गीताले प्रत्येक महिना १४ हजार बुझ्ने गर्नुहुन्छ ।

गीताले जस्तै नुन प्याकिंग गरेर घरखर्च चलाउँदै आईरहनु भएको छ ५४ वर्षिया विन्दा शर्माले पनि । नेपालगञ्ज उपमहानगरपालिका १० आर्दशनगरमा बस्ने विन्दाले विगत ३० वर्षदेखि नुन प्याकिंग गर्दै घर परिवारको खर्च चलाउँदै आईरहनु भएको छ । उक्त साल्ट ट्रेडिंगमा नुन प्याकिंग गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ ।
पुर्वी जनकपुरबाट विवाह गरेर नेपालगञ्ज आउनु भएकी विन्दाले पाँच रुपैँयादेखि काम गर्न शुरु गर्नु भएको हो । उहाँले काम गर्न शुरु गर्दा बाह्र महिनामा छ महिना काम गर्ने र छ महिना बन्द हुने साल्ट्रेडिंगमा महिनाको पच्चिस रुपैँया पनि कमाउन गाह्रो हुने विन्दाले बताउनुभयो । ‘मैले काम गर्दा शुरुमा मेरो तलब पाँच रुपैँया थियो । त्यही पनि छ महिना काम हुन्थयो भने छ महिना बन्द हुन्थ्यो ।’ उहाँले भन्नुभयो,‘त्यतिबेला सामानको मूल्य, मंहगी र तलब सबैको तालमेल उस्तै भएर पनि होला घर चलाउन खासै गाह्रो थिएन ।’

पहिला पहिला एक बोरा नुन प्याकिंग गर्दा जम्मा पाँच रुपैँया पाउने विन्दाले हिजोआज एक बोरा नुन प्याकिंग गर्दा २५ रुपैँया पाउनु हुन्छ । एक बोरामा पचास वटा नुनका प्याकेट हुन्छन् । दिनमा तीसदेखि पच्पन्न बोरा नुन प्याकिंग गर्ने गरेको विन्दाको भनाई छ । साल्ट ट्रेडिंगले लामो समयसम्म तलब नबढाउँदा आन्दोलन गर्नु परेको विगतलाई पनि सम्झनुभयो विन्दाले ।

साल्टट्रेडिंग कर्पोरेसनको हिमालय खाद्य एवं प्याकिंग उद्योग लिमिटेडमा नुन प्याकिंग गरेर घर खर्च चलाउँदै आउनु भएका गीता र विन्दा जस्तै ४९ वर्षिया एस्तर रानी गुरुंगको पनि कथा उस्तै छ । बाँकेको मालपोत कार्यालयमा लेखापढी व्यावसायि गर्ने श्रीमानको तलब राम्रै हुँदापनि तलब जति सबै रक्सिमा सक्काएपछि उहाँले नुन प्याकिंग गरेर घर चलाउन परेको एस्तररानीको भनाई छ ।

श्रीमानको भर पर्दा स–साना खर्चमा पनि धेरै कुरा सुन्नु पर्ने एस्तररानीले आफ्नै श्रीमानको बचनका कारण आत्मासम्मान र स्वाभिमान गुमेको महसुस गरेको बताउँदै नुन प्याकिंग गर्ने काम रोजेको बताउनुभयो । ‘आफ्नो कमाई भनेको आफ्नै रहेछ । पहिला पहिला मेरो लगाउन मन लागेको कुरा र घर चाहिने नुनतेल किन्न उहाँसँग पैसा माग्दा धेरै नराम्रो बचन सुन्नु पथ्र्यो ।’ उहाँले भन्नुभयो,‘हिजोआज मलाई मन लाग्दो कुरा किन्न कसैको बचन सुन्नु पर्दैन ।’

विगत आठ वर्षदेखि एस्तररानीले नुन प्याकिंग गरेर घरखर्चसँगै आफ्ना र छोराछोरीको पनि सबै खर्चको जोहो गर्दै आउनु भएको छ । कक्षा चार सम्म पढ्नु भएकी एस्तररानीले पारिवारको आर्थिक अवस्थाका कारण पढ्न नपाएको पनि बताउनुभयो । चार कक्षासम्मको पढाईपनि एस्तररानीले आफ्ना सबै हिसाब आफै राख्न जानेको बताउनुहुन्छ । एकदिनमा २७ बोरो नुन प्याकिंग गर्दा सञ्चयकोष कटाएर उहाँको मासिक तलब १४ हजार हुने गर्दछ ।

उक्त साल्टट्रेडिंगमा नुन प्याकिंग गर्नका लागि शुरुमा चार जना महिला कामदार रहेकोमा हाल २६ जनाले काम गर्ने गर्दछन् । एक समूहमा छ जना महिला कामदारले काम गर्ने गर्दछन् । प्रत्येक एक महिला कामदारले दिनमा २७ बोरा नुन प्याकिंग गर्नै पर्ने कम्पनीको नियम रहेको छ । सोही नियम अनुसार एक समूहले दिनमा १ सय ६२ बोरा नुन प्याकिंग गर्ने गर्दछन् ।

साल्टट्रेडिंग कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख मनोज चौधरीका अनुसार एकजनाले एकदिनमा २७ बोरा नुन प्याकिंग गर्नै पर्ने लक्षय रहेको बताउनुभयो । उहाँका अनुसार लक्षित गरिएभन्दा बढी अतिरिक्त उत्पादन गरेर नुन प्याकिंग गरेबापत प्रतिबोरा २५ रुपैँया दिने गरिएको छ ।
साल्टट्रेडिंगमा काम गर्ने महिलाहरुले लक्षित गरिएको बोरा प्याकिंग गरेरपनि एकजनाले सात देखि आठ बोरासम्म नुन प्याकिंग गर्ने गर्दछन् । उक्त प्रदेश कार्यालय नेपालगञ्जमा प्याकिंग भएका नुन कर्णाली, लुम्बिनीको बाँके बर्दिया, रुकुम पुर्व र रोल्पामा जाने गर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया