क्यान्सर अस्पतालको ओपीडी ८ बजेबाट संचालन गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको ओपीडी सेवालाई बिहान ८ बजेबाट सञ्चालन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्री बस्नेतले अस्पतालले हालै सुरु गरेको बालक्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको उदघाटन गर्दै ओपीडी सेवालाई बिहान ८ बजेबाट सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खनालले अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिनु भएको थियो । उहाँले स्थायी दरबन्दीका लागि पूर्व तयारी भइरहेको जनाउँदै छिट्टै त्यस तर्फ निर्णय हुने पनि बताउनुभयो । ‘अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । स्थायी दरबन्दीका लागि पूर्व तयारी पनि भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

मन्त्री खनालले बहुप्रचारित अस्पतालमा आएको लिन्याक मेसिनको गुणस्तरका बिषयमा आफुले चासो राखेको जनाउँदै यथासिघ्र संचालनका लागि बिक्रेता कम्पनीलाई पत्राचार भइसकेको जानकारी दिनुभयो । उहाँले पूर्णरुपमा संचालन नहुँदा सम्म भुक्तानी रोकिएको पनि बताउनुभयो ।


अस्पतालको संघीय सरकारले स्वामित्व ग्रहण गरेको ८ वर्ष पुरा भएपनि शुन्य दरबन्दीमा अस्पताल संचालन हुँदै आएको छ । करार, काज र ज्यालादारी कर्मचारीबाट अस्पताल संचालन भइरहेको र चिकित्सकहरु अभ्यास गर्ने र सुगम खोज्दै जाने कार्यले अस्पतालमा समस्या देखिँदै आएको छ ।

अपरान्ह लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाल सहित अस्पताल पुग्नु भएका मन्त्री बस्नेतले अस्पताको रेडियोलोजी विभाग, जनरल वार्ड, अपरेशन थियटरको अवलोकन गर्नु भएको थियो ।– रुपनी जि एम-रासस

प्रतिक्रिया

प्रतिक्रिया