बाँकेका तीन स्थानीय तह साक्षर घोषित हुन सकेनन्

सरकारले २०७७ असार मसान्तभित्र देशभरका ७० जिल्लालाई साक्षर नेपाल वर्ष घोषणा गर्ने लक्ष्य राखेको थियो । हालसम्म ५५ बढी जिल्ला सोही अनुसार साक्षर घोषणा भैसकेका छन् । अब साक्षर घोषणा हुन बाँकी जिल्ला मध्ये बाँके पनि एक हो । बाँकेको आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका अझै साक्षर भएका छैनन् । उनीहरु त्यसका लागि तयारीमा रहेको बताउँछन् । बाँकी तीन स्थानीय तहले साक्षर घोषणाका लागि आवश्यक कार्यक्रम सञ्चालन गरेर यसै आ.व. भित्र पालिकालाई साक्षण घोषणा गर्ने बताएका छन् ।


सरकारले आर्थिक वर्ष २०६५/०६६ मा १ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरेर दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको थियो तर हालसम्म पनि साक्षर नेपाल घोषणा भने हुन सकेको छैन । तत्कालीन सरकारले निरक्षरता उन्मूलन गर्ने अठोटका साथ ‘अक्षर चिनौँ सभ्य बनौँ’ भन्ने मुल नाराका साथ सारक्ष नेपाल अभियान सञ्चालन गरेको थियो । त्यसपछि सरकारले उक्त अभियानलाई हालसम्म निरन्तरता दिइरहेको छ । साक्षर नेपाल बनाउने घोषणा गरेको १३ वर्षसम्म पनि लक्ष्य प्राप्ती नगर्नु आफैमा विडम्बनापूर्ण कुरा हो । साक्षर घोषणा गर्न कै लागि सरकारले हालसम्म ८ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको छ ।

बाँकेका आठ वटा स्थानीय तह मध्ये पाँच वटा यसअघि साक्षर घोषणा भैसकेका छन् । कोहलपुर, खजुरा, जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका साक्षर घोषणा भैसकेका छन् । साक्षर घोषणा गर्ने स्थानीय तहलाई सरकारले पुरस्कृत समेत गर्दै आएको छ । जिल्ला समन्वय समिति बाँकेले जिल्ला मै सबै भन्दा पहिला साक्षर घोषणा गरेको कोहलपुर नगरपालिकाले ५० लाख, खजुरा गाउँपालिकाले २५ लाख, जानकी गाउँपालिकाले १२ लाख २५ हजार र राप्ती सोनारी गाउँपालिकाले ६ लाख २५ हजार प्राप्त गरिसकेका छन् ।

नरैनापुर गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले नरैनापुरलाई पुस महिना भित्र साक्षण घोषणा गर्ने गरी कार्यक्रमलाई तिव्रता दिएको जानकारी दिएका छन् । उनले साक्षरता कक्षा सञ्चालन भएको र त्यसको मूल्यांकनको रिपोर्ट आगामी एक साताभित्र आउने जानकारी दिएका छन् । औपचारिक रुपमा भन्न नपाएपनि नरैनापुरले हस्ताक्षर गर्न नजाने पालिकोको सेवाबाट वञ्चित हुनसक्ने ‘हल्ला’ फिजाएपछि त्यहाँका स्थानीयले साक्षरता कक्षामा सहभागिता जनाएका थिए । ‘हाम्रो साक्षरता कक्षाबाट कति प्रगतिभयो मूल्यांकन पछि थाहा हुन्छ’, शिक्षा शाखा प्रमुख थारुले भने । तथ्यांक अनुसार नरैनापुरमा ९ हजार ५ सय १८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।

त्यस्तै, बाँकेको डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पनि सक्षरता अभियान गाउँपालिकाको कार्यक्रममा रहेको जानकारी दिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले आगामी दुई महिना भित्र उपमहानगरपालिकालाई साक्षर घोषणा गर्ने गरी तयारी अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिएका छन् ।

नेपालगन्ज साक्षर अभियानमा

पश्चिमकै ठूलो आर्थिक केन्द्र रहेको नेपालगन्ज हालसम्म साक्षर घोषणा हुन सकेको छैन । बाँकेमा अब तीन स्थानीय तह मात्रै साक्षर हुन बाँकी रहेका छन् । त्यसमध्ये नेपालगन्ज मात्रै बाँकी हो । नेपालगन्जमा यसअघि पनि साक्षरता अभियान सञ्चालन नभएको भने होइन । तर, कोरोनाका कारण त्यो अभियान अवरुद्ध भयो । हाल पुनः नेपालगन्जले दुई महिनाभित्र जिल्लालाई साक्षर घोषणा गर्ने गरी तयारी अगाडि बढाएको छ ।

सुगम मानिएको नेपालगन्ज उपमहानगरपालिका अझै साक्षर घोषणा भएको छैन । यद्यपी १, १२ र १८ लगायतका वडा सक्षर घोषणा भैसकेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको पछिल्लो तथ्यांक अनुसार, उपमहानगरपालिकामा १५ वर्षभन्दा माथि उमेर समूहका २० हजार ९ सय ४४ निरक्षर रहेका छन् । तर, यसअघि विभिन्न वडामा सञ्चालित साक्षरता अभियानका कारण अब १५ हजार मात्रै निरक्षरलाई साक्षर बनाउन बाँकी रहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिएका छन् । ‘९५ प्रतिशत जनसंख्यालाई साक्षर बनाएपछि वडालाई साक्षर घोषणा गरिनेछ’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘त्यसका लागि अब अभियान नै सञ्चालन गर्दैछौं ।’

नेपालगन्ज उपमहानगरपालिकाको तथ्यांक अनुसार, नगरमा १५ बर्ष भन्दा माथि उमेर समूहका ८ हजार ७ सय ८८ पुरुष र १२ हजार १७९ महिला निरक्षर रहेका थिए । तर, कोरोना अघि सञ्चालित साक्षरता कक्षाका कारण त्यो संख्या अब १५ हजारको हाराहारीमा रहेको अनुमान गरिएको हो । ‘पुनः तथ्यांक संकलन गरेर निरक्षरको संख्या एकिन गरिनेछ’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ।
नेपालगन्ज उपमहानगरपालिकाले ज्येष्ठ नागरिक तथा मधेसी तथा मुस्लिम समुदायका निरक्षरलाई साक्षर बनाउन निकै मिहेनत गर्नुपर्ने देखिन्छ । बिहीबार उपमहानगरपालिकाका आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले फागुन मसान्त भित्र सबै प्रक्रिया पूरा गरेर साक्षर घोषणा गर्ने लक्ष्य राखेको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाले नागरिकलाई साक्षर बनाउन १ सय ३० जना बाल शिक्षिकालाई जिम्मेवारी दिंदै उनीहरुसँग अन्तरक्रिया समेत गरेको छ । उनीहरुले आवश्यकता अनुसार दैनिक दुई वटा कक्षा समेत सञ्चालन गर्नेछन् । ‘एक जना शिक्षकको एउटा कक्षामा ४० जनालाई सहभागिता गराउने लक्ष्य छ’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘हामी पुन पुस ८ गतेसम्म वडास्तरमा निरक्षरको तथ्यांक संकलन गरी १० गतेदेखि कक्षा सञ्चालनको योजनामा छौं ।’ उनले साक्षर अभियान सफलताका लागि सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने भन्दै त्यसमा सकारात्मक र सुझावात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

अब कक्षा लिने निरक्षरले राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढाइ र लेखाइ गर्नसक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्नसक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने शून्यदेखि ९ सम्मका अङ्क अक्षर लेखाइ गर्नसक्ने, १ देखि सयसम्म गणना गर्नसक्ने, लेनदेनका हरहिसाब राख्नसक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने र बैंक भौचर भराइ र चेक खिचाइ गर्नसक्ने हुनुपर्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया