सन्दर्भ : प्रहरी दिवस

नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं २०१२ सालको ’प्रहरी ऐन’ जारी भए पछि आश्विन महिनामा भएको हो । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा नेपाल प्रहरीले देशै भरि बिभिन्न कार्यक्रम गरि मनाउदै छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने नेपाल प्रहरीको प्रमुख कार्य रहि आएको छ ।

अपराध नियन्त्रण र देशमा शान्ति सुरक्षा गराउने प्रमुख दायित्व नेपाल प्रहरीको हो । प्रहरीले यस कार्यमा ठुलै फड्को पनि मार्दै आएको छ । प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदार लगायतका बिभिन्न नाराका साथ प्रहरी आम नागरिकसम्म पुग्न खोजेको देखिन्छ । कोभिड–१९ संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारमा पनि प्रहरीको भुमिका महत्व पुर्ण रहेको छ । कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले गत बैशाख देखि संचालन गर्दै आएको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमलाई पनि सराहनिय कार्यको रुपमा लिन सकिन्छ । यस्तै विपद् व्यवस्थापनमा नेपाल प्रहरीको भुमिका उल्लेखनीय एवं प्रभावकारी रहेको छ । तर पनि आम जनमानसमा प्रहरीले जुन बिश्वास जित्नु पर्ने हो त्यो बिश्वास अझै प्राप्त गर्न सकेको देखिदैन ।

राजनैतिक दलहरुले प्रहरी संगठनलाई आफु अनुकुल प्रयोग गर्न खोज्नु,प्रहरीका काम कारवाहीमा राजनैतिक हस्तक्षेप गरिनु, अपराधको राजनैतिकरण गरिनुले प्रहरीको ब्यवशायिकतामा बाँधा पु¥याउने गरेको छ । लोकतान्त्रिक ब्यवस्थामा पनि प्रहरी संगठनलाई स्वायक्त र स्वतन्त्र भई काम गर्न नदिनु, सरुवा बढुवामा दक्षता क्षमता र योग्यता भन्दा राजनैतिक प्रभाव हावी हुन, नेताको घरदैलो धाउने सस्कृतीले प्रहरी संगठनको ब्यवशायिकतालाई कमजोर बनाउने काम गरेको छ ।

अपराध नियन्त्रण प्रहरीको पहिलो काम हो । प्रथमत देशको कानून अनुसार अपराध हुनै नदिन प्रहरी परिचालित भएका हुन्छन् । तर पनि बिभिन्न प्रबिधिको बिकाश संगै अपराधका प्रकृती पनि फेरिदै गएका छन् । बिकाश संगै नया नया स्वरुपमा अपराधका घटनाहरु घट्ने गरेका छन् । यस्तो अवस्थामा बदलिदो परिस्थिति अनुकुल नेपालको प्रहरी संगठनमा श्रोत साधन सम्पन्न हुनु पर्दछ । अपराध अनुसन्धानको पुरानो बयानमुखीलाई पद्धतीलाई परिवर्तन गर्दै बैज्ञानिक र प्रमाणमुखि अनुसन्धान पद्धतीको अवलम्बन गरिनु पर्दछ ।

देशमा शान्ति सुरक्षा, अमनचयन कायम राख्ने, अपराध नियन्त्रणका साथै राजनैतिक दल र अन्य समुहद्धारा बेला बखत भईरहने नाराजुलुस आन्दोलनको प्रत्यक्ष सामाना प्रहरीले गर्नु पर्ने हुन्छ । यस्तोमा बिभिन्न माग राखी आन्दोलनमा उत्रिएका उत्तेजित भिडको पहिलो निशाना नेपाल प्रहरी हुने गर्दछ । रातबिरात भोक प्यास नभनी भिड नियन्त्रणमा खटिने प्रहरीहरु आन्दोलनकारीको सरकारसंगको आक्रोसको निशानामा पर्ने गर्दछन् । आन्दोलनकारीको ढुंगाबुढाले उत्तेजित प्रहरीहरु भिड नियन्त्रणमा संयमता अपनाई कानून बमोजिम शक्तिको प्रयोग नगरि एक्कासी अत्याधिक बल प्रयोग गर्दा मानव अधिकार उल्लघंनको आक्षेप लाग्ने गर्दछ । मानव अधिकार उल्लघंनमा आरोप लागी घटनाको अनुसन्धान नहुदा आरोपीत प्रहरीमा भेटिङमा परि युएन मिसन लगायतका बिभिन्न अवसर पाउनबाट बन्चित हुने गरेका छन् ।

प्रहरी संगठन कानूनत शक्ति प्रयोग गर्ने बैधािनक निकाय भएकाले उसका हरेक काम कारवाहीहरु कानून सम्मत हुनु पर्दछ । जस्तो सुकै परिस्थितिमा पनि उसले संयमता गुमाउनु हुदैन । तर प्रहरीहरु पनि यहि समाजबाट आएका मानव भएको हुनाले चाडै संयमता गुमाइहाल्ने, हतियार साथमा भए पछि दम्भ बढीहाल्ने स्वभावले कतिपय अवस्थामा अप्रिय घटना पनि हुने गर्दछ । प्रहरीको कुटाई र गोलीका कारण मान्छेको मृत्यु हुदा घटनाले झन उग्र रुप लिने र प्रहरी संगठनमा माथी मानव अधिकार उल्लघंनकर्ताको आक्षेप लाग्ने गर्दछ । यस्तोमा प्रहरी संगठनले त्यस्ता घटनाको निश्पक्ष अनुसन्धान र दोषीलाई कारवाही गर्न चुक्नु हुदैन ।

पीडितको न्यायका लागी प्रहरीले खेल्ने भुमिकाका आधारमा प्रहरी मानव अधिकारको पहिलो रक्षक हो । मानव अधिकारको रक्षा गर्दा सम्म प्रहरी मानव अधिकार रक्षक नै हो । तर प्रहरी माथी पनि यातना, गैर कानूनी थुना, गैर न्यायिक हत्या लगायतका मानव अधिकार उल्लघंनकर्ताकोे आरोप लाग्ने गरेको छ । संगठन भित्रका हरेक प्रहरी मानव अधिकार र कानूनी शासन प्रति प्रतिवद्ध छन् त्यस बिपरित कार्य गर्नेहरु अन्य नागरिक सरह सजायका भागी हुन्छन् भन्ने देखाउन, प्रहरी संगठन प्रतिको जनबिश्वास बढाउन र दण्डहिनताको सस्कृती अन्त्यका लागी पनि त्यस्ता घटनाको प्रभावकारी अनुसन्धान गरिनु पर्दछ । एकाध ब्यक्तिका कारण समग्र प्रहरी संगठनको गरिमामा आँच आउन नदिन गल्ती गर्नेलाई कारवाही गरि प्रहरी संगठनलाई बिश्वासनिय बनाउनु पर्दछ ।

प्रहरी संगठन जनचाहाना र समयको गतिसंगै संगठनको सुदृढिकरण एवं यसको प्रणालीगत विकास हुन जरुरी छ । यसका लागी विभिन्न कार्ययोजना तय गरी कार्यान्वयनमा ल्याउनु पर्दछ । प्रहरी संगठनको सस्थागत बिकाश गरि प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न संगठन हरदम क्रियाशिल रहनु पर्दछ ।

समाजको कार्यशैली र व्यवहारमा सुधार भएमा प्रहरीको व्यवहार एवं कार्यशैलीमा समेत स्वयं सुधार देखिने भएकाले प्रहरीका राम्रा काममा सहयोग गर्ने र नराम्रा कामको खवरदायी नागरिक स्तरबाट निरन्तर गरिरहनु पर्दछ । प्रहरीले जनसहभागिताका कार्यक्रमलाई अभिवृद्धि गर्दै प्रहरी नागरिकको लागी हो भन्ने भावनाको बिकाश गर्दछु ।

अहिलेको अवस्थामा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले बिभिन्न कठिनाई तथा चुनौतिको सामना गर्नुपरेको छ । यसमा सरकारका अन्य निकाय र नागरिक स्तरबाट प्रहरीका राम्रो काममा सहयोग हुनु पर्दछ । मातहत प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उनीहरुको वृत्ति विकास, हकहित लगायतका विषयमा संगठनको समुचित ध्यान जानु पर्दछ । वर्तमान लोकतान्त्रिक ब्यवस्था अनुसार प्रहरी कर्मचारीहरुको समायोजन, समुचित ब्यवस्थापन र संगठनको संरचना निर्माणमा उचित ध्यान पु¥याउनु पर्दछ ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरुबाट प्राप्त अनुभव, राय, सुझाव एवं निर्देशनहरु संगठनको नीति निर्माण तथा सुदृढिकरणमा अत्यन्त उपयोगी हुने भएकाले बेला बखतमा उनीहरुको अनुभव, राय, सुझाव ग्रहण गर्नु पर्दछ ।

नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा लागी परेको छ । यो संगठनले व्यवसायीक मर्यादाका साथ जन अपेक्षालाई मध्यनजर राख्दै उनीहरुसंगको सहकार्यमा कार्यसम्पादन गर्द सके प्रहरी संगठन प्रति जनबिश्वास अझ बढेर जानेछ । प्रहरीले कानून बिपरितका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता हो ।

समय र प्रविधिको विकाससंगै अपराध र अपराधिक क्रियाकलापमा समेत परिवर्तन भईरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधि मैत्री क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी प्रमाणमुखी बैज्ञानिक अपराध अनुसन्धान पद्धतीको बिकाश गर्न सके नेपाल प्रहरीको खास अझ बढेर जाने छ ।

प्रहरीलाई अनुचित प्रभावमा पारी गैर कानूनी धन्दा गर्ने कानून आफ्नो हातमा लिने प्रबित्ति पनि बढ्दै जान थालेको परिस्थितिमा यस कुरामा प्रहरी संगठन सजग, सचेत र कर्तव्यनिष्ठ भई राष्ट्रसेवामा लाग्नु पर्दछ । अनेकन आरोह–अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशिल रहि संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन ।

अन्तमा प्रहरी दिवसका सन्दर्भमा देश र जनताको सेवामा तत्लीन रहदा रहदै ज्यान गुमाउने अमर प्रहरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै देशमा शान्ती सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न, अपराध अनुसन्धान र पीडितको न्यायका पक्षमा प्रहरीले पु¥याउदै आएको योगदानलाई उच्च सम्मान गर्दै प्रहरीका हरेक काम कारवाही कानून सम्मत, मानव अधिकार मैत्री र पीडितको न्यायका पक्षमा अझ बढी केन्द्रित हुनेछन् भन्ने कामना गर्दछु । प्रहरी सत्ता, शक्ति र राजनैतिक प्रभावबाट चल्ने होईन कि कानूनले निदिष्ट गरेको कार्यबिधि बमोजिम चल्नु पर्दछ । कसैको गैर कानूनी आदेश र राजनैतिक नेतृत्वको अनुचित दवावमा चल्ने होईन कि जनचाहाना र कानून बमोजिम चल्नु पर्दछ । यति भनीरहदा प्रहरीलाई ब्यवशायिक, जनउत्तरदायी बनाउन राजनैतिक नेतृत्व र अन्य सरोकारवाला निकायको पनि प्रहरी संगठनलाई साथ सहयोग रहन उत्तिकै जरुरी छ ।

नेपाल प्रहरीले देशमा प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, मानव अधिकारका मुल्य मान्यता अनुसार कानुनको अधिनमा रही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा अनुसन्धान गर्दै आम नागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउन सकोस । आमनागरिकको नजिकको वास्तविक सारथी बन्न सकोस प्रहरी दिवसमा सबैमा सुभकामना ।

· लेखक अधिवक्ता हुन ।

प्रतिक्रिया

प्रतिक्रिया