सडकमा आउँदै सार्वजनिक यातायात व्यवसायी

अब आफै गाडी सञ्चालन गर्ने चेतावनी सहित आइतवार जिल्ला प्रशासन कार्यालयमार्फत देशै भरिबाट सरकारलाई ज्ञापनपत्र पठाइएको छ। व्यवसायीहरुले असोज १ गतेबाट आफ्ना बस सडकमा ल्याउने चेतावनी लिखित रुपमा सरकारलाई बुझाएका हुन् ।

छ महिनाअघि अर्थात् चैत्र ११ गतेदेखि नेपालको सार्वजनिक यातायात सेवा ठप्प छ । बाँकेको अवस्था फरक हुने कुरै भएन । यतिबेलासम्म यातायात क्षेत्रका मजुदूरको अवस्था के होला ? ‘के भन्ने ? अरु काम गरौं भनेर खोज्दा पनि पाउने अवस्था नभएर छिन्नभिन्न भएको अवस्था हो,’ अखिल नेपाल ट्रेड युनियन महासघ बाँकेका सचिव राज कुमार बिसीले दैनिक नेपालगन्जसँग भने, ‘यति लामो लकडाउनले मजदुरहरुलाई हात मुख जोर्न नसक्ने अवस्था छ ।’
साँच्चै ६ महिनादेखि बन्द नेपालगन्ज बसपार्कको अवस्था के होला ? पार्किङमा राखिएका गाडी कस्तो अवस्थामा होलान्, गाडीलाईनै घर मानेर बसिरहेका सहचालक अब भेटिएलान् ? यस्तै प्रश्न सहित संवाददातासहित दैनिक नेपालगन्जको टिम शनिवार बसपार्क पुग्दा उत्तरमा सन्नाटामात्र उपलब्ध थियो । नयाँ सुविधाजनक पार्कमा राखिएका बस मुनिबाट उम्रिएको झारले बसलाई छुन थालेको छ । ‘केही दिन त मजदूरहरु गाडीमैं बसे, खानेपिउने व्यवस्थानै नभएपछि कता गए गए,’ बसपार्क छेउका बन्द होटल बाहिर भेटिएका एक गाडी धनीले भने, ‘अब त हामीपनि काम खोज्न हिड्नुको विकल्प छैन ।’ उनी आफै गाडी चालक पनि रहेकाले दोहोरो मारमा परेको सुनाउँदै भन्छन्, ‘आफु त मजदूर भनेर मागिखान पनि सकिन्न, मालिक भनेर बसिखाने व्यवस्था पनि छैन ।’ उनीजस्ता समस्यामा परेका तमाम भेटिए वरिपरिनै, ‘गाडी चल्ने आश गरेर दिन गनिरहेका ।’


नेपालगन्ज बसपार्कमा ५ वर्षदेखि दिवा (बस) सेवाको टिकट काट्ने काम गर्दै आएका बर्दियाका रोशन थारु चैत पहिलो सातादेखि बेरोजगार छन् । काउन्टरमा टिकट बिक्री गरेबापत पाइने कमिसनले परिवार पाल्दै आएका उनलाई पछिल्लो दिनमा आर्थिक संकटले घेर्न थालेको धेरै दिन भयो । ‘केही बचत, धेरै उधारोमा यतिका महिना कटे पनि अब भने गुजारा चलाउन कठिन भयो,’ मसिनो स्वरमा उनले दैनिक नेपालगन्जसँग व्यथा पोखे ।
कोभिड–१९ का कारण देश लकडाउन भएपछि देशभर रोशनजस्तै महिनौदेखि यातायात क्षेत्रका ४० लाख मजदुर बेराजगार भएका छन् । ढुवानी र अत्यावश्यकबाहेक अन्य सवारीसाधन चलाउन सरकारले रोक लगाएको छ । लकडाउन लम्बिँदै जाँदा मजदुरको आम्दानीको स्रोत पनि गुम्ने भएकाले परिवार धान्न गाह्रो परिरहेको यातायात मजदुर संगठनहरूको भनाइ छ ।
यातायात सञ्चालक आफै अनि बस, ट्रक, ट्याक्सी चलाउने ४० लाख चालक, सह चालक तथा टिकट काउन्टरमा काम गर्नेहरू पूर्ण बेरोजगार बनेका छन् । बेरोजगार मजदुरहरूलाई हालसम्म कहि कतैबाट पनि दैनिक गुजारा गर्ने खर्च उपलब्ध नभएको नेपालगन्जका बस चालक प्रकाश श्रेष्ठले सुनाए । दैनिक नेपालगन्जसँग दुःखेसो पोख्दै उनले भने, ‘अझसम्म कुनै पनि यातायात मजदुरले दैनिक गुजारा गर्ने पाएका छैनौं । हामीले बिभिन्न श्रमिक संगठनहरुसंग आफ्ना साथिहरुलाई कम्तीमा खानाको व्यवस्था गरिदिन अनुरोध गरेका थियौं, तर कहिकतैबाट सुनुवाई भएन् ।’ ‘जिल्लाका स्थायी वासी मजदूरले केही हदसम्म सुरुमा स्थानीय तहबाट दिइएको राहत पाए,’ मजदुर नेता क्षेत्रीले भने, ‘हजारौं बाहिर जिल्लाका मजदूर अन्ततः आफ्नै घरगाउँ फर्किएर खेती किसानी गर्न बाध्य भएका छन् ।’
सम्बद्धका अनुसार, यातायात क्षेत्रमा ९५ प्रतिशतभन्दा धेरैले दैनिक ज्यालादारी वा भत्ताका रूपमा आम्दानी गर्छन् । सोही कारण गाडी नचल्दा चैतदेखि उनीहरूको आय स्रोत बन्द भएको छ । भेरी यातायात प्रा.लि.काअध्यक्ष डेकनाथ गौतमका अनुसार, मजदूरमात्रै होइन, गाडी धनीहरुकै अवस्था पनि बेहाल छ । ‘यातायात क्षेत्रका श्रमिकलाई लकडाउन खुलेपछि पनि तत्काल पूर्ण रूपले काम गर्न सक्ने अवस्था छैन,’ बेरोजगार भत्ता वा बाँच्नका लागि कुनै काममा लगाएर परिवार पाल्ने बाटो सरकारले देखाउनुपर्ने धारणा राख्दै गौतमले दैनिक नेपालगन्जसँग भने, ‘कम्तिमा पछिल्लो मौद्रिक नीतिमार्फत सरकारले दिएको सहुलियत यातायात व्यवसायीले पनि त पाउनु प¥यो नि !’ उनका अनुसार, सरकारले गरेको व्यवस्था अनुसार, कर्जाका लागि पुनःकर्जाको व्यवस्थामा यातायात व्यवसायीहरुले लाभ लिन पाइरहेका छैनन् ।
बन्दाबन्दीले सवारीसाधन ग्यारेज तथा घरमा थन्किएका कारण मजदुरका आश्रित परिवारलाई समेटिने गरी बजेटमा राहतको प्याकेज नल्याउनु दुःखद भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपालगन्जका अध्यक्ष तारा प्रसाद जोशीको गुनासो छ । ‘यातायात क्षेत्र श्रम ऐन अनुसार नचलेको र असंगठित क्षेत्र भएकाले पनि तथ्यांक पत्ता लगाउने र विशेष प्याकेजमार्फत घरभाडा मिनाहा, खाद्यान्न उपलब्धजस्ता विषयलाई सम्बोधन गर्नुपर्छ,’ अध्यक्ष जोशीले दैनिक नेपालगन्जसँग भने । अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका सचिव बिसीले बाँकेमा झण्डै १० हजार यातायातका साधन र त्यसमा जोडिएका कम्तिमा २० हजार मजदूरको विचल्ली छ । महासंघमैं २५ सय सदस्य जोडिएका छन् । ‘अधिकाँश असंगठित छन्,’ विसीले भने ।
रामेश्वर बोहोरा यातायात मजदुर (ट्रयाक्टर चालक) हुन् । उनको घर कञ्चनपुरको भिमदत्त नगरपालिकामा पर्छ । कामका लागि उनी नेपालगन्ज आएका हुन् । लकडाउनको समयमा पनि ट्याक्टरमा ढुङ्गा लोडअनलोड गरिराखेको अवस्थामा प्रश्न गर्दा बोहोराले भने, ‘लकडाउन पालना गरे पेटडाउन हुने पीडाले काममा फर्कन बाध्य भएँ ।’ बोहोरा नेपालगन्ज आएको १ वर्ष भयो । ३५ वर्षका उनले यो पेशा गर्न थालेको १ दशक भन्दा बढी भएको बताउँछ्न । उनको परिवारमा श्रीमति, छोरा र उनका बाबु मात्रै छन् । छिट्टै विहेवारि भएपछि परिवार पाल्न उनी यो पेशामा लागे । घरको कमजोर आर्थिक अवस्थाका कारण बिदेश जाने योजना पनि उनले नबनाएका होइनन् तर आफ्नो परिवार छोडेर विरानो ठाउँमा जान मनले मानेन र बनाएको पासपोर्टलाई बाकसमैं थन्क्याएर स्वदेशमै बसेर काम गर्ने निर्णय गरे । त्यसपछि ट्रयाक्टर चलाएर ज्यालादारी काम गर्न थाले । राम्रो आम्दानी हुने सम्भावना देखेर उनी आफ्नो परिवार छोडेर नेपालगन्ज आएको बताउँछन ।
बर्तमान अवस्थामा दैनिक ज्यालादारीमा मजदुरि गर्ने उनी जस्ता हजारौं मजदुरको घरमा चुलो नबल्ने अवस्था छ । रोटीरोजीको जोहो गर्न नेपालगन्ज आइपुगेका बोहोरालाई लकडाउनले धर्म संकटमै पारेको छ । कमाउन आएको मान्छे घर जाउँ भने कसरी जाउँ नजाउँ भने घरभित्र थुनिएर बस्न मन मान्दैन । ‘अबपनि यसरीनै चलौं कि बाकसबाट पासपोर्ट निकालौं ?’ निकै भावुक हुँदै उनले दैनिक नेपालगन्जमार्फत सरकारसँग प्रश्न गरे ।
यस्तो चुनौतीपूर्ण अवस्थामा अधिकांश मजदुरले काम गर्न पाएका छैनन् । जसका कारण खान्कीको जोहो गर्न पाएका छैनन् । काम पाए दाम, दाम भए माम हुने उनी बताउँछन् । ५ महिना भन्दा बढी विनाकाम घरभित्र वस्न विवश बोहोराले हल्का फुल्का काम गर्न पाउने वातावरण पाएको हुँदा तैपनि खुसी लागेको बताए । ‘रोगले मरिएला न मरिएला, काम नभएपछि पैसा हुँदैन, हामीजस्तो ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक भोकले मर्न पर्यो भने परिवारको हालत के हुन्छ ?’ उनी प्रश्न गर्छन ।


कस्ले सहयोग गरे मजदुरलाई ?
नेपालगन्जकै गोबिन्द थापाले गाडी चालक भएर काम गर्न थालेको १७ वर्ष भयो । तर अहिले बेरोजगार भएर बस्नुपरेको छ । कोभिड–१९ को त्रासले लकडाउन भएर यातायातका साधन ठप्प हुँदा उनी अहिले काम विहीन छन् । ‘यो हामीलाई मात्र परेको समस्या होइन,’ उनले भने, ‘विश्वलाई परेको समस्या हो, त्यसैले यस्तै हो भनेर चित्त बुझाएर बसेका छौं ।’ उनी नेपालगन्जको बसपार्कदेखि काठमाडौं रुटमा यात्रु बस चलाउँछन् । उनको पाँच जनाको परिवार छ । उनकै आम्दानीले परिवार पालिएको छ । ‘लामा दूरीका गाडी चलाउन रोक लगाइएपछि बसपार्कमा गाडी थन्क्याएर घर आएँ,’ उनले भने, ‘सबैतिर त्रास छ, त्यसैले परिवारसँग घरमै बसेको छु ।’
यो समस्या थापाको मात्र होइन । मेचीदेखि महाकालीसम्मका गाडी चालक र सहचालकको समस्या हो । तीन दशकदेखि गाडी चलाउने काम गर्दै आएका जाजरकोटका बिशाल गिरी पनि गाडी थन्क्याएर घरमैं छन् । नेपालगन्जको बसपार्क देखि धनगढी सम्म हाइस चलाउने उनी मालिकको घरमा गाडी थन्क्याएर नेपालगन्जस्थित घरभाडामा बसेका छन् । ‘संसारलाई हेरेर चित्त बुझाएर बस्नुको विकल्प छैन ।’ रासनपानी र कोठा भाडा तिर्न समस्या भइएको उनले बताए । ‘अहिले समस्यामा पर्ने धेरै जसो यातायात क्षेत्रमा काम गर्ने मजदुर धेरै छन् ।,’ गिरीले दैनिक नेपालगन्जसँग भने, ‘पहिला रोगले मर्नुभन्दा दुई–चार दिन भोकै बस्दा फरक पर्दैन भन्थ्यौं अहिले रोगले मारोस् तर भोकले मर्न नसकिने रैछ ।’
प्रायः चालक, सहचालकले दैनिक भत्तामा काम गर्छन् । मासिक पारिश्रमिक भने थोरै हुने यातायात व्यवसायी बताउँछन् । ‘एउटा चालकले मेचीबाट महाकाली यात्रु पु¥याएपछि साँझ त्यो दिनको भत्ता पाउने गर्छ,’ गाडी मालिक पूर्ण बहादुर बिष्टले भने, ‘अहिले गाडी बन्द भएपछि उनीहरू भत्ताबाट वञ्चित छन् ।’ तर, दैनिक कमाएर गाडी लिएको मासिक किस्ता बैंकहरूलाई तिर्न आफूहरूलाई गाह्रो पर्ने विष्टको भनाइ छ । ‘गाडी नै नचलेपछि के आम्दानीले किस्ता तिर्ने ? यसबारे पनि सरकारबाट सम्बोधन होस्,’ उनले भने । यातायात क्षेत्रमा करिब १० खर्ब रुपैयाँ लगानी छ । सरकारको ध्यान अब नगए कहिले जाने ? सरकारसँग प्रधानमन्त्री रोजगार कार्यक्रम रहँदा पनि यातायात क्षेत्रलाई नहेरिएको उनको गुनासो थियो ।

असोज १ गते देखि बाँके जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने तयारी थालेका छन् । उनीहरुले त्यसको पूर्व जानकारी तथा चेतावनीका लागि आइतवार जिल्ला प्रशासन कार्यालयमार्फत ‘अल्टिमेटम’ सहितको ज्ञापन पत्र बुझाए ।
‘मुलुकका ७७ वटै जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन लागिएको हो,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी डेकनाथ गौतमले दैनिक नेपालगन्जसँग भने, यातायातका साधन सञ्चालनका लागि शनिवार कोहलपुरमा यातायत व्यवसायी र यातायात मजदुरबीच छलफल छलफल पनि गरिएको छ ।’ ‘स्थानीय प्रशासनलाई त्यो एउटा जानकारी पनि हो,’ गौतमले स्वःस्फूर्त सवारी साधन चलाउनु बाध्यात्मक भइसकेको जानकारी दिंदै भने, ‘राता नम्बर प्लेटले देशैभरि यात्रु ओसारपसार गरिरहँदा कोरोना सर्दंैन ?’
यसैबीच, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ जिल्ला समन्वय समितीको संयोजनमा यातायात व्यवसायी र यातायान मजदुर बिच छलफल गरिएको छ । असोज १ गते देखि लामो तथा छोटो दुरीका यातायातका साधन सञ्चालन गर्न तयारीका लागि जिल्ला यातायात समन्वय समितिले छलफल गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया