जरो टुप्पो उम्टाएर शैक्षिक गुणस्तरको आत्मरतीमा रमाउने ?

धन्य हो हाम्रो शिक्षा पद्धति, धन्य हो हाम्रो राष्ट्रियता, धन्य हो हाम्रो शैक्षिक गुण्स्तर । अब कसरी यो अभ्यासलाई असल भनेर भन्ने प्रश्न यो हो । जहाँ नेपालको वास्तविक धरातल पढाइँदैन । जहाँ नेपाली भाषाको उछितो काढेर, यसको जरो टुप्पो उम्टाएर शैक्षिक गुणस्तरको आत्मरतीमा रमाउने पूरा पूरा तयारी छ । देशै भरि नै सरकारी विद्यालयहरुमा शैक्षिक गुणस्तरको नाममा नेपाली माध्यमलाई तिरष्कार गरिँदै र हरेक सरकारी विद्यालयमा अभिभावकको चाहनाको बहानामा अंग्रेजी माध्यमको शुरुआत गरिँदै छ ।

पछिल्लो हप्ता सामुदायिक विद्यालय शिक्षा सुधार समाज प्रदेश नम्बर ५ ले आयोजना गरेको प्रदेशभरि रहेका उत्कृष्ट भनिएका सामुदायिक विद्यालयहरुले सामुदायिक विद्यालयको शैक्षिक उन्नयन र शैक्षिक सुधारका लागि अपनाएका असल अभ्यासहरु र कोभिड–१९ को बिषम परिस्थितीमा बैकल्पिक सिकाइका लागि गरेका कामहरुको सम्बन्धमा आधुनिक प्रबिधीको माध्यमबाट अन्र्तक्रिया गर्दै आ आफ्ना विद्यालयहरुले गरेका अभ्यासहरुको बारेमा विवरण प्रस्तुत गरे । म पनि यो लामो अन्र्तक्रियाको दर्शक बन्न पाएँ । यो कार्यक्रमबाट धेरैले धेरै कुरा सिकेको हुनुपर्छ । यहाँ आफ्ना अभ्यासहरु प्रस्तुतकर्ता देखि टिप्पणीकार प्राध्यापकहरुले असाध्यै गहन कुराहरु राख्नु भयो । यो कुरा आफैमा महत्वपूर्ण नै छ । विभिन्न विद्यालयहरुले राखेका र अपनाएका विधी र प्रक्रियाहरु पक्कै पनि राम्रा छन् । यो प्रयासका लागि वहाँहरुको प्रशंसा गर्नैपर्छ । तर यो सम्पूर्ण विवरणको प्रस्तुतिमा पाएको एउटा अति नै दुखलाग्दो कुराबारे कहिँ कसैले पनि प्रसँग कोट्याएनन् । यसका टिप्पणीकार प्राध्यापक ज्यूहरुबाट केहि महत्वपूर्ण प्रश्न ती सामुदायिक विद्यालयका प्रधानाध्यापक ज्यूहरुलाई गरियो तथापि मैले यहाँ उठाउन खोजेको प्रसँगको कुरा कसैले पनि उठाउनु भएन ।
प्राध्यापक रामलाल श्रेष्ठ ज्यूबाट वहाँहरुलाई गरेका केहि प्रश्नहरुको जवाफ ती असल अभ्यासका प्रस्तोताहरुसँग थिएन । वहाँले राखेका प्रश्नहरुले ती विद्यालयहरु मात्रै होइन प्रदेश नम्बर ५ मा रहेका ५६०० सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक गुणस्तर बृद्धि गर्नमा लगाएको वा भोलीका दिनमा लगाउने जुक्तिले स्वयं संविधानको मर्मलाई गिज्याई नै रहने छ । उक्त कार्यक्रममा आफ्ना असल अभ्यासहरु प्रस्तुत गर्दै गर्दा कसैले पनि यो भन्न सकेनन् कि उनीहरुले अभिभावकसँग कुनै न कुनै नाम र शीर्षकमा शुल्क असुल गरेका छैनन् भनेर । सबैले शुल्क उठाएका छन । सरकारी तलबभत्ता खाने भन्दा बढि नीजिश्रोतबाट शिक्षक कर्मचारी व्यवस्थापन गरेका छन् । वहाँहरुको भावी योजनामा निशूल्क भन्ने कहिँ कतै छैन । अर्कोतर्फ राम्रो शैक्षिक प्रगति देखाएका विद्यालयहरुले आफ्ना विद्यालयमा आम विद्यार्थीलाई प्रवेशमा रोक लगाएका छन् । उनीहरुले लिने भर्नाको प्रवेश परीक्षा अनुतीर्ण विद्यार्थी आफ्नै वडाको सरकारी विद्यालयमा पढ्नबाट बञ्चित गराइँदैछ । यसरी छानेर लिइएका विद्यार्थीबाट निकालिएको शैक्षिक परिणामलाई मात्रै विद्यालय र प्रधानाध्यपक या विद्यालय व्यवस्थापनको ठूलो उपलब्धि कसरी मान्ने ?के यो पनि असल अभ्यास नै हो त ?अर्को प्रश्न प्राध्यापक रामलाल ज्यूले राख्नु भएको कि यी विद्यालयहरुमा पनि माथिल्लो कक्षामा विद्यार्थीहरुको संख्या मनग्य हुने र प्राथमिक तहमा कम हुने व्यथाबाट किन पीडित छन् ? यसको उत्तर पनि स्वयं वहाँले नै दिनुहुँदै सरकारले उच्चशिक्षामा दिएको छात्रवृतिका कारण यस्तो भएको हो । यो बडो उचित प्रश्नोत्तर थियो । कतिपय नीजि विद्यालयहरुले बारम्बार भन्ने गरेको कि कक्षा ६ पछि उनीहरुका विद्यार्थीहरु यहि सरकारी छात्रबृतिका कारण सरकारी विद्यालय जाने गरेका छन् , यो कुरा यहाँ ठ्याक्कै मिल्नगएको छ । यस सम्बन्धमा असल अभ्यासकर्ता विद्यालयहरुसँग कुनै तर्क नै थिएन ।
यति हुँदाहुदै पनि यी विद्यालयहरुले केहि पनि नगरीकनै राम्रा भएका भने होइनन् । त्यहाँ आफ्नो अन्तक्रियात्मक प्रस्तुतिको प्रतिवेदनमा केहि विद्यालयहरुले गरेको असाध्यै राम्रा कामहरु पनि थिए जुन कुराहरु अरु जुनकुनै विद्यालयहरुले गर्दा असल नै हुन्छ । जस्तै गुल्मी तम्घासको सिद्धबाबा नमूना माध्यामिक विद्यालयले गरेका असल कार्यमा समाजमा भएका विभिन्न विद्याका अनुभवी व्यक्तित्वहरुलाई कक्षा कोठामा ल्याएर विद्यार्थीहरुसँग साक्षत्कार गराउने कामलाई ‘नानीसँग ज्ञानी’ कार्यक्रम, एक विद्यार्थी एक विरुवा, हरेक विद्यार्थीले महिनामा एक पुस्तक पढ्नै पर्ने व्यवस्थार नेपालका मौलिक चाडपर्वहरुको महत्व सहित मनाउने कार्यक्रम पनि राम्रो अभ्यास देखियो । यसैगरि बालकल्याण माध्यामिक विद्यालय रोल्पाले बालबालिकाहरु द्धारा समाजिक कार्य अन्तर्गत गोरेटो बाटो बनाएको कामलाई असल अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो । कालिका मानवज्ञान बुटवलको असल अभ्यासमा कक्षाकोठाको बहुसाँस्कतिक सजावट देखि प्रत्येक बर्ष शैक्षिक नारा तय गर्ने देखियो । उता पद्मोदय माध्यामिक विद्यालयको असल अभ्यासमा नेपाली सेना द्धारा नै एनसीसी तालिम गराउने गरेको र विद्यालय हातालाई प्लास्टिक मुक्त बनाउन चालिएको कदमलाई प्रस्तुत गरियो । उता रिता माध्यामिक विद्यालय रुपन्देहीको असल अभ्यासमा कक्षा एक देखि कक्षा बारह सम्म नै अँग्रेजी माध्यममा पढाइ हुने र विभिन्न समयमा विभिन्न भिआइपीहरुको भ्रमणलाई प्रस्तुत गरिएको थियो । ज्ञानोदय नमूना माध्यामिक विद्यालय खजुरा बाँकेको असल अभ्यासमा कक्षाकोठा सजावट देखि विभिन्न कक्षा संयोजक आदीको व्यवस्थापनलाई प्रस्तुस्त गरिएको थियो । सबैले आ आफ्नो भावी योजना पनि त्यहाँ प्रस्तुत गरे तर सबै कुरा विद्यार्थी बढाउने, भवनहरु थप्ने, कक्षाकोठा र शौचालय थप्ने, ल्याब र पुस्तकालय थप्ने जस्ता साझा भावी कार्यक्रम मात्रै पस्किएको थियो । कोभिड–१९ को बिषम परिस्थितीमा भएको असल अभ्यासमा टोलटोलमा शिक्षक देखि अनलाइन कक्षाहरु गराएको र गृहकार्यको लागि प्रिन्टेट पेपर तयार गरेर विद्यार्थीहरुको हातहातमा पुर्याउने काम गरेका अभ्यासहरु त्यहाँ प्रस्तुत भए ।
उपरोक्त सबै अभ्यासहरुमा अन्तमा टिप्पणी गर्दै शिक्षाविद डा. नारायण बेलबासेले आजसम्म पनि हरेक शिक्षकले लिएका तालिमहरु कहिल्यै कक्षाकोठाभित्र पस्न नसकेको कमजोरी औल्याएका थिए । उनले आफ्नो अनुसन्धानको आधारमा त्यस्ता मात्रै विद्यालयहरु सफल भएको जहाँका प्रधानाध्यापकमा वास्तविक रुपमा आफ्नो पेशा प्रति इमान्दारीता र लगनशीलता छ अनि विद्यालय व्यवस्थापन समितीहरु मात्रै निर्माण समितीमा नखुम्चिएर विद्यालयको शैक्षिक सुधारमा पनि केन्द्रित रहेका छन् । डा. बेलबासेले अहिलेको समयमा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न हरेक शिक्षकले विद्यार्थीहरुलाई परियोजना कार्य दिने बाहेक उपयुक्त तरिका अर्को नभएको सुझाएका थिए ।
अब समग्रमा के देखिए त मिल्दाजुल्दा असल अभ्यासहरु ? यस बिषयमा पनि यहाँ चर्चा गर्न मैले जरुरी ठानेको छु । यहाँ यतिका शिक्षाविदहरु, जानेमाने विद्यालयका बरिष्ठ बरिष्ठ प्राधानाध्यापक ज्यूहरुको यो अन्तक्रियामा पस्केका असल अभ्यासहरुमा फेरि पनि अर्को टिप्पणी किन भन्ने प्रश्न उठ्न सक्छ र त्यो स्वभाविक पनि हो । यहाँ यी पाँच छ वटा विद्यालयहरुको साझा असल अभ्यासहरुमा सबैले अँग्रेजी माध्यमबाट पढाउने गरेको, कक्षाकोठाहरुलाई सजावट गरेको, नीजि शिक्षक कर्मचारीहरुको व्यवस्था गरेको, विद्यार्थीहरुलाई बढि सिकाइ होस भनेर अतिरिक्त कक्षाहरुको व्यवस्थापन गरेको, कक्षागत संयोजकहरु राखेको, शैक्षिक भ्रमण देखि अतिरिक्त क्रियाकलापमा सक्रिय भाग लिएको, प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्ने गरेको, प्राविधिक धारका कक्षाहरु पनि सञ्चालन गरेको, कोठा थपेको, शौचालय, ल्याब, पुस्तकालय आदीको व्यवस्था गरेको जस्ता कुराहरु विवरणात्मक रुपमा प्रस्तुत भए ।
यहाँ कसैले पनि शैक्षिक मापनको आधार के हो भन्ने बारेमा केहि खासै पस्केको जस्तो लागेन । बडो गज्जबको कुरा के लाग्यो भने यी सरकारी विद्यालयका अनुभवी व्यक्तित्वहरुबाट नेपाल र नेपालीत्वको कुरा कहिँ पनि आएन । मात्रै अङ्किय मापन गरेर र यति जना यति प्रतिशत विद्यार्थीहरु यति बर्षसम्म पास गराएको भन्ने सुनाइरहँदा त्यहाँ कस्ता संस्कार र कस्तो सँस्कृति विद्यार्थीहरुलाई दिइयो भन्ने बारेमा कुनैपनि कार्यपत्रमा आएको देखिएन । यत्रो जातजाती र भाषा भाषी रहेको नेपालका पाँचवटा जिल्लाको शैक्षिक अभ्यासमा कसैले पनि मातृभाषामा शिक्षा दिएको भनेर गर्वका साथ भन्न सकेनन् । आफ्नो साँस्कृतिक पहिचानको वास्तविक संरक्षणको आधारशीला तयार गरेको भनेर कसैले पनि भन्न सकेनन् । आफ्ना विद्यालयहरुमा नेपाली जातजातीको भेषभुषालाइृ विद्यालयको शैक्षिक भेषभूषाको रुपमा प्रयोग गरिएको भनेर कसैले भन्न सकेनन् । हरेक नेपालीको नेपालीत्व झल्कने गरी उनीहरुका स्थानीय चाडपर्वहरु र त्यहाँको भौगोलिक परम्परालाई निरन्तरता दिन कुनै उल्लेखनीय कार्य गराएको भनेर कसैले उदाहरण पेश गर्न सकेनन् । नेपालको भूगोल, सँस्कृति र इतिहास सिकाउन विद्यालयहरु आफैले गरेका कुनै प्रयासहरु पनि त्यहाँ पस्किन सकेनन् । नेपालको राष्ट्रभाषा नेपालीको जगेर्ना गर्न यसको बिकास गर्न विद्यार्थीहरुलाई जगदेखि नै नेपाली भाषाको जननी भाषा सँस्कृत पढाएको भन्न सकेनन् । नेपाली भाषाको बिकासका लागि सम्पूर्ण पाठ्यक्रम नै नेपालीमा पढाएर नेपालीत्वको रक्षा गरेको पनि भन्न सकेनन् । बरु सकेसम्म अँग्रजी मै नर्सरी देखि कक्षा सञ्चालन गरेर, सबै विद्यार्थीहरुलाई कण्ठलगौँटी भिराएर, ह्याप्पी बर्थडे भन्दै बत्ती निभाउन सिकाएर आधुनिक बनाएकोमा गर्व महसुस गरियो । नेपाली भाषाको जरैदेखि नै मास्न अहम भूमिका निभाएकोमा बडो गर्व गर्दै शैक्षिक गुण्स्तर उच्च रहेको मापन गरियो ।
धन्य हो हाम्रो शिक्षा पद्धति, धन्य हो हाम्रो राष्ट्रियता, धन्य हो हाम्रो शैक्षिक गुण्स्तर । अब कसरी यो अभ्यासलाई असल भनेर भन्ने प्रश्न यो हो । जहाँ नेपालको वास्तविक धरातल पढाइँदैन । जहाँ नेपाली भाषाको उछितो काढेर, यसको जरो टुप्पो उम्टाएर शैक्षिक गुणस्तरको आत्मरतीमा रमाउने पूरा पूरा तयारी छ । देशै भरि नै सरकारी विद्यालयहरुमा शैक्षिक गुणस्तरको नाममा नेपाली माध्यमलाई तिरष्कार गरिँदै र हरेक सरकारी विद्यालयमा अभिभावकको चाहनाको बहानामा अँग्रेजी माध्यमको शुरुआत गरिँदै छ । नेपाली राष्ट्रभाषाको बिनासमा लागेको यो भन्दा भद्दा अभ्यास अर्को कुनै हुनै सक्दैन । अनि त्यहाँ भएका अन्य कार्यहरु कै भरमा असल विद्यालय र तिनीहरुले अपनाएका असल अभ्यास कसरी भन्ने । के नेपालीत्व र नेपाली भाषाको अन्त्यमा नै नेपालको शैक्षिक गुणस्तर मापिने हो ? खोइ त हाम्रा बुद्धिजीवीहरुमा नेपाली प्रतिको राष्ट्रभाषा प्रतिको माया ? खोइ त कुनै पनि स्थानको मातृभाषा प्रतिको चिन्तन ?
भाषा जुनकुनै पनि पढौ अनि पढाऔं । भाषाको ज्ञान आवश्यक छ तर अँगे्रजी माध्यममा पढाउने र नीजि विद्यालयहरुमा गरिएको गल्तीहरु दोहोर्याएर सरकारी विद्यालयको शैक्षिक गुस्तर मापन गर्ने प्रतिष्पर्धाले किमार्थ पनि सिँङ्गो नेपालको शैक्षिक गुणस्तर उच्च हुँदैन । अँग्रेजीको आवरणमा र नेपाली भाषाको मृत्युमा मापिएको नेपालको नीजि विद्यालयको शैक्षिक गुणस्तर त गलत छ नै सरकारी विद्यालयहरुमा समेत त्यहि परम्पराको थालनीले नेपाली विद्यार्थीहरुले प्रमाणपत्रमा ग्रेड त ल्याउलान तर नैतिकवान, चरित्रवान, नेपालको भाषा सँस्कृति र नेपालीत्वलाई माया गर्ने गौरवशाली व्यत्तित्वको उत्पादन किमार्थ हुने छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया