स्थानीय तहले पहिलो पटक बाँकेमा शैक्षिक महोत्सवको आयोजना गरेको छ । बाँकेको खजुरा गाउँपालिकाले अघिल्लो वर्षबाट आयोजना थालेको शैक्षिक महोत्सवलाई निरन्तरता दिंदै दोस्रो संस्करण आयोजना गरेको हो ।
खजुरा क्षेत्रका सयौं विद्यार्थी, अभिभावक तथा आमन्त्रितहरुबीच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले महोत्सवको उद्घाटन गरे । ‘विद्यार्थीको प्रतिभा देखाउने एउटा राम्रो माध्यम शैक्षिक महोत्सव हो भन्ने यो आयोजनाले प्रष्ट पारेको छ,’ अरु स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने सुझाव दिंदै श्रीवास्तवले खजुराको उच्च प्रशंसा गरे ।
‘हरेक विद्यालयबाट एक से एक प्रतिभाको उजागर भइरहेको छ,’ प्रतियोगितासँगै चलिरहेको उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले भने, ‘विद्यार्थीभित्र लुकेका प्रतिभा प्रष्फुटनका लागि शैक्षिक महोत्सव महत्वपूर्ण कडी हुने कुरामा विश्वस्त छौं ।’ कक्षपतिले खजुराले अघि सारेको शैक्षिक गुणस्तर सुधार्न शैक्षिक महोत्सवले टेवा पु¥याउने विश्वास व्यक्त गरे । प्रमुख कक्षपतिले खजुरालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन लगानी बढाउनुका साथै शिक्षा, खेलकुद र स्वास्थ्यलाई एकअर्काका परिपुरकका रुपमा विकास गरिँदै लगिनेमा जोड दिए ।
खजुरा गाउँपालिका, शिक्षा समितिको आयोजनामा आज बुधवारसम्म चल्ने दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ मा खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी ६० विद्यालयका ६७२ विद्यार्थी सहभागी छन् । अतिरिक्त क्रियाकलापका विभिन्न १७ विद्यामा प्रतिस्पर्धा भइरहेको शैक्षिक महोत्सवमा विद्यार्थीहरु निकै उत्साहित भएर सहभागी भइरहेको प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्यको भनाइ छ । ‘बालबालिकामा छुट्टै हर्ष छ,’ प्याब्सन बाँकेका पूर्व अध्यक्ष ऋषिकेष जीसीले दैनिक नेपालगन्जसँग भने ।
दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ सचिवालय संयोजक मित्रलाल सापकोटाले महोत्सवमा भएको सहभागिताले आयोजकलाई उत्साहित बनाएको बताए । नेरा मावि मनकामनापुरको व्यवस्थापनमा भएको शैक्षिक महोत्सवमा पठनबोध, अनुलेखन जस्ता विशेष विधामा समेत प्रतिष्पर्धा गराईका छन् । शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले चित्रकला, एकल नृत्य, हाजिरीजवाफ, कविता लेखन, एकल गायन, सामुहिक नृत्य, वक्तृत्वकला, नियात्राः कक्षा ९ र १० का विद्यार्थीवीच, निवन्ध लेखन, वादविवाद गरी १७ विधामा प्रतिस्पर्धा भइरहेको जानकारी दिए ।
सचिवालय संयोजक सापकोटाले आधारभूत तह कक्षा १ देखि ५ सम्म १९३ जना, आधारभूत तह कक्षा ६ देखि ८ सम्म २७१ जना, माध्यमिक तह ९–१० कक्षाका १९३ जना र माध्यामिक तह (११–१२) कक्षाका १५ जना विद्यार्थीले सहभागिता जनाइरहेको बताए । पहिलो दिन अधिकांश विधामा प्रतियोगी विद्यार्थीबीच प्रतिस्पर्धा गराइसकिएको छ । मंगलबार आधारभूत कक्षा ६–८ र मावितर्फ कविता, मावि कक्षा ११ र १२ निवन्ध लेखन, मावि कक्षा ९ र १० नियात्राः, आधारभूततर्फ पठनबोध, अनुलेखन, चित्रकला र एकल नृत्य सम्पन्न भएको खजुरा गाउँपालिका शिक्षा विज्ञ भक्तबहादुर केसीले जानकारी दिए । शैक्षिक महोत्सव भोली बुधबारसम्म संचालन हुनेछ ।
‘खजुरालाई शैक्षिक दृष्टिले पनि जिल्लाको उत्कृष्ठ कसरी बनाउन सकिन्छ भन्नेमा पालिका गम्भीर ढंगले लागिरहेको छ,’ गाउँपालिका प्रमुख कक्षपतिले आयोजान बारे भने, ‘कक्षाकोठाको रटानमात्रैले भन्दा यसखालका सिर्जनशील स्पर्धाले बालबालिकामा ज्ञानसीप आर्जन हुन्छ ।’ पालिकास्तरमा खजुराले शुरु गरेको मेयर कप रनिङ शिल्डलाई अन्य पालिकाले पनि सञ्चालन गर्न थालेकोमा प्रमुख अतिथि श्रीवास्तवले प्रशंसा गरेका थिए । गत वर्ष ज्ञानोदय नमुना माविको व्यवस्थापनमा पहिलो शैक्षिक महोत्सव आयोजना गरिएको थियो ।