थाहै नपाई बिग्रन्छ मृर्गौला !

देबेन्द्र राज पौडेल


सामान्य रोग लागेपछि नै शरीरमा त्यसको प्रभाव देखिन थाल्छ । रोगको सुरुवातमा देखिने लक्षणले उपचारमा जान सकिन्छ । तर, मृर्गौला रोगको लक्षण शरीरमा धेरैपछि मात्र देखिन्छ । मृर्गौलाले झण्डै ६० प्रतिशत भन्दा बढी काम गर्न छाडेपछि मात्र त्यसको लक्षण विरामीले थाहा पाउने गरेको चिकित्सकहरु बताउँछन् ।

 
मृर्गौला रोगीहरुको संख्या पनि बढ्दो छ । मृर्गौला ६०/७० प्रतिशत क्षति भएपछि मात्रै लक्षण देखिने भएकाले त्यसबाट सचेत बनाउनका लागि हरेक बर्ष विश्व मृर्गौला दिवस मनाइँदै आएको छ । यस बर्ष आगामी बिहीबार मार्च १४ मा विश्व मृर्गौला दिवस मनाइँदैछ । नेपालको १० प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मृर्गौला सम्बन्धी रोग हुनसक्ने अनुमान रहेको बताउँछन् काठमाडौं मेडिकल कलेजका मृर्गाैला सुपरस्पेशलिष्ट (विशेषत्र) डा. अनिल पोखरेल । उनी मृर्गौला रोगी मध्ये १० प्रतिशतको अवस्था जटिल हुने गरेको बताउँछन् । ‘अधिकांस व्यक्ति ६०/७० प्रतिशत मृर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन्’, डा. पोखरलेले भने, ‘त्यसपछि पुनः सामान्य अवस्थामा मृर्गौलालाई फर्काउन सम्भव हुँदैन ।’

 
स्वस्थ देखिने व्यक्तिमा पनि मृर्गौला सम्बन्धी समस्या हुनसक्ने डा. पोखरेल बताउँछन् । ‘विरामीमा लक्षण देखिंदा ढिलो भैसकेको हुन्छ, रोगका कारण बिस्तारै खराब भएको मृर्गौलालाई थप खराब हुन नदिन रोक्न सकिन्छ तर पहिलेकै अवस्थामा फर्काउन भने सम्भव हुँदैन’, उनी भन्छन् ।

 
यसबर्ष विश्व मृर्गौला दिवसको नारा ‘स्वच्छ मृर्गौला सबैका लागि सबै ठाउँमा’ भन्ने नारा दिइएको छ । ‘प्रारम्भिक चरणमा बिरामीले थाहा पाउँदैनन्, चिकित्सकले समेत पिसाब, रगत जाँच नगरी मृर्गौला रोग ठम्याउन सक्दैनन्’, डा. पोखरेलले भने, ‘सुरुकै अवस्थामा मृर्गौला खराब हुन लागेको थाहा हुने हो भने त्यसलाई पूर्ण रुपमा स्वस्थ बनाउन सकिन्छ, त्यसैले हरेक बर्ष मृर्गौलाको परीक्षण आवश्यक छ ।’ उनी हरेक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा शरीरको पूर्ण चेकजाँच गर्न उचित हुने सुझाव पनि दिन्छन् । ‘सामान्य परीक्षणबाट पनि मृर्गौलामा समस्या भए नभएको थाहा हुन्छ’, डा. पोखरेल भन्छन्, ‘डेढ दुई सयको खर्चमै ९५ प्रतिशत रोग लागे वा नलागेको एकिन गर्न सकिन्छ ।’
मुलुकमा करिब ३० लाख व्यक्ति मृगौला रोगको जोखिममा छन् । तीमध्ये ३० हजार व्यक्तिको हाराहारीमा मृगौला नराम्ररी बिग्रने गरेकामा बर्सेनी ३ हजार जना राम्ररी, उपयुक्त रूपले डायलासिस सेवा पाए बाँच्छन्, नत्र तिनको मृत्युको विकल्प हुँदैन ।

 
मृर्गौला खराब हुने धेरै कारणहरु रहेको चिकित्सक बताउँछन् । वंशानुगत, अस्वस्थ खानपान, रक्तचाप, मधुमेह, जथाभावी औषधीको प्रयोगले मृर्गौला विगार्ने काम गरिरहेको हुन्छ । ‘जथाभावी पेन किलर, एन्डिवायोटिकको सेवन गरेका व्यक्तिहरुको मृर्गौला खराब भएको उपचारका क्रममा भेटिएका छन्’, डा. पोखरेलले भने, ‘त्यसैले चिकित्सकको सल्लाह विना कुनै पनि औषधी सेवन गर्नु हुँदैन ।’ ‘उच्च रक्तचाप, मधुमेह र अभिभावकमा मृर्गौला सम्बन्धी रोग भएका व्यक्तिमा मृर्गौला रोगको बढी जोखिम हुन्छ’, डा. पोखरेल भन्छन्, ‘जोखिममा रहेकाहरुले मृर्गौला बचाउनका लागि थप सजग हुन आवश्यक छ ।’ उच्च रक्तचाप र मधुमेहलाई खानपान, चिकित्सकीय सल्लाह बमोजिम औषधी सेवन गरेमा मृर्गौलालाई बिग्रनबाट बचाउन सकिने उनी बताउँछन् ।

 
मृर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । हामीलाई चलायमान बनाइराख्न मृर्गौलाले विभिन्न कामहरु गरिरहेको हुन्छ । मृगौला सिमीका दाना आकारको हुन्छ । मुठीजत्रो यो अंग हाम्रो करङको हाडको ठीक तल हुन्छ । मृगौला लाखौं रगत सफा गर्ने इकाइ (जसलाई हामी ‘नेफ्रोन्स’ भन्छौं) को सहयोगले बनेको हुन्छ । प्रत्येक नेफ्रोनले सानो परिणाममा रगतलाई सफा गर्छ । मृर्गौलाले रगत शुद्ध पार्नेदेखि ब्लड प्रेसर कन्ट्रोल र शरीरमा काम नलाग्ने पदार्थ पिसाब मार्फत बाहिर पठाउने काम गर्छ । मृगौलाले शरीरमा अतिरिक्त काम नलाग्ने पदार्थ र तरल पदार्थको निर्माण हुन दिँदैन । मृगौलाले सोडियम, पोटेसियम, फोस्फेट जस्ता इलेक्टोलाइटको स्तर स्थिर राख्छ । ‘मृगौलाले रक्तचापलाई नियन्त्रण गर्न हार्मोन पनि उत्पादन गर्छ, रातो रक्त कोषको निर्माणका साथै हाडलाई बलियो बनाउन समेत सघाउँछ’, डा. पोखरेल भन्छन् । रगतमा क्रिएटिनिन र युरियाको बढीमात्रा देखिनुले नै मृगौला फेल हुनुलाई दर्साउँछ ।

 
मृर्गौलाले काम गर्न छोड्दै जाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन् । ‘शरीर सुन्निने, वाकवाकी लाग्ने, भोक नलाग्ने, कमजोरी महसुस हुने, रगतको कमी हुने, रक्तचाप अनियन्त्रित हुने लगायतका लक्षण देखिएमा मृर्गौलाले सही ढंगलेका नगरेको संकेत हो’, डा. पोखरेलले भने ।

 
‘मृर्गौला खराब भएको पत्ता लागेपछि उपचार थप बिग्रन नदिनका लागि मात्रै हौ’, स्वास्थ्यकर्मी जे. शर्मा मेडिकलका सञ्चालक जीवन शर्मा भन्छन्, ‘रोग जटिल भएर डायलोसिस र ट्रान्सप्लान्ट नै गर्नुपर्ने हुन्छ ।’ मृर्गौला रोगीहरुको संख्या बढेपछि नेपालगन्जका स्वास्थ्य संस्थाहरुले काठमाडौंबाट समेत विशेषज्ञ डा. द्वारा चेकजाँच र उपचारको व्यवस्था मिलाउने गरेका छन् । जे. शर्मा मेडिकलले पनि प्रत्येक महिना मृर्गौला रोगको परीक्षण र उपचारका लागि विशेष डाक्टरहरु निम्त्याउने गरेको छ । ‘विशेषज्ञ सेवा लिन काठमाडौं जान खोज्ने विरामीलाई नेपालगन्जमै सेवा उपलब्ध गराउन थालेका हो’, जे. शर्मा मेडिकलका सञ्चालक शर्मा भन्छन्, ‘प्रत्येक महिना ५०/६० जनाको मृर्गौला परीक्षण मेडिकलमा नै हुने गरेको छ ।’

 
काठमाडौं मेडिकल कलेजका मृर्गाैला सुपरस्पेशलिष्ट डा. अनिल पोखरेल सचेतना फैलाउन सके मृर्गौला पूर्ण रुपमा खराब हुनबाट जोगाउन सकिने धारणा राख्छन् । ‘ढिलो गरी लक्षण देखिने मृर्गौला रोगको उपचारमा विरामीले ठूलो रकम र धेरै औषधी सेवन गर्ने झन्झट जीवनभरी भोग्नुपर्ने हुनसक्छ’, डा. पोखरेल भन्छन् । उनी आफ्नो मृगौला मात्रै नभएर अन्य जटिल स्वास्थ्य समस्याको समयमै पहिचान गर्न कम्तिमा बर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्न सुझाव दिन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया