प्रेम विवाह की अपराध ?

घटना नं.१
आर्थिक रुपमा विपन्न एक परिवारले आफ्नो जीवन नेपालमा वसेर निर्वाह गर्न सम्भव नठानेपछि आफ्नो गाउठाउँ छोडी आफ्ना लालाबाला सहित छिमेकी मुलुक भारत गए । मजदुरी गरी आफू र आश्रित परिवारको पालन पोषण गर्दै आइरहेका थिए । छोराको उमेर विस्तारै बढ्दै गयो । छोराको उमेर १६ वर्ष नाघेपछि विवाहको कुराकानी सुरु भयो । विवाह गर्ने क्रममा आफ्नै पूर्व चिनजानका ईष्टमित्र संग कुराकानी भयो र विवाह गर्ने कुरो मिल्यो ।

 
केटी पक्ष र केटा पक्षको वीचमा विवाह गर्ने सहमति भएपछि भारतबाट केटा, केटाको बाबु–आमा, फुपु, दिदि, कान्छी आमा समेत नेपालमा आए । आफ्नो जातीय परम्परा र गच्छे अनुसार विवाह भयो । टिकाटालो भयो । केही दिन बसे । केटी सहित केटी पक्षका आफन्तले सुखमय वैवाहिक जीवनको शुभकामना दिदै केटा र केटीलाई विदाई गरे । केटा, केटी र केटाका परिवारका सदस्य पूनः आफ्नो जीविकोपार्जनका लागि भारत गए ।

 
परिवारमा नयाँ सदस्यको आगमन भयो, परिवारमा खुशीयाली छाएको थियो तर यो खुशीयाली परिवारमा धेरै दिन टिक्न सकेन । विविध कारणले गर्दा विस्तारै केटा–केटी वीचको सम्वन्ध विग्रदै गयो । परिवारका सदस्यले भरमग्दुर प्रयास गर्दा समेत केटा केटी वीचको सम्वन्ध सुमधुर हुन सकेन । विवाह भएको लगभग छ महिना पछि केटीले आफ्नो माईतिमा जाने ईच्छा जाहेर गरिन । केटा–केटी वीचको सम्वन्धमा सुधार आउछ कि भन्ने उद्देश्यले केटा पक्षले केटीलाई स–सम्मान माईतिमा पठाए ।

 
माइतीपक्ष संग निरन्तर रुपमा वार्ता भइरह्यो । केटा–केटी वीचको सम्वन्ध सुधारका विविध प्रयास भए । छोरीलाई साथमा लिने भए केटा, केटाको बुबा–आमा, फुपु र कान्छी आमा समेत साथ आउनु पर्छ भनी केटी पक्षबाट प्रस्ताव गरियो । केटा–केटीको सम्वन्ध सुध्रिन्छ भने ठिकै छ भनी आफुले काम गर्ने ठाउँमा एकहप्ताको लागि विदा लिएर केटा र परिवारका सवै सदस्यहरु नेपालमा केटीको घरमा आए । केटीको घरमा पुगेको करिव एक घण्टाभित्र एकाएक प्रहरीको टोली आयो, सबैको नामहरु सोधियो र सोधपुछको लागि भनेर केटा, केटाको बुबा–आमा, फुपु, कान्छी आमा समेतलाई प्रहरीको गाडीमा राखी लगियो । हामीले के विगार गरेका छौं ? हामीलाई किन पक्राउ गरिएको हो ? भनी सोधपुछ गर्दा पछि थाह हुन्छ भनियो ।

 
प्रहरी कार्यालयमा पुगेपछि मात्रै बल्ल थाह भयो कि केटीले आफूलाई ललाई फकाई झुक्यानमा पारी विवाह गरिएको, भारतमा लगी बेच्ने प्रयास गरेको भनी मानव वेचविखन, अपहरण र जबर्जस्ती करणीमा केटा पक्षका विरुद्धमा उजुरी गरेकी रहिछन् ।

 
केटा र केटाको साथमा आएका सवै परिवारका सदस्य तथा आफन्त समेतका विरुद्धमा अपहरण, शरीर बन्धक, मानव वेचविखन र जर्वजस्ती करणी समेतमा मुद्दा चलाइयो, अनुसन्धानको नाममा लगभग २५ दिन सम्म थुनामा राखियो, अदालतमा मुद्दा पुग्यो, केटालाई थुनामा राख्ने आदेश भयो अन्य सदस्यहरु धरौटी तारेखमा रिहा भए र मुद्दा चल्यो ।

 
लगभग छ महिनासम्म मुद्दा चल्यो । अदालतले तोकेको प्रत्येक तारेखमा रुजु हाजिर हुनुपर्ने भएकोले भारत जान पाएनन् । बस्ने खाने नेपालमा व्यवस्था थिएन । आफन्तको घरमा कति दिन वस्ने भन्ने चिन्ताले सताइरह्यो । विवाह गर्नु के नेपालको कानूनमा अपराध हुन्छ ? हामीले के अपराध गरेका हौं ? कहिले फैसला हुन्छ ? के फैसला हुन्छ ? भनी सदैव केटापक्षले सरोकारवाला पक्ष र निकायलाई निन्याउरो र रुन्चे स्वरमा सोधिरहे तर कसैबाट पनि एकिन जवाफ पाउन सकेनन् ।

 
अदालतले दुवै पक्षका कुरा सुन्यो, प्रमाणको मूल्यांकन गर्यो, केटा पक्षले आरोप बमोजिम अपहरण, शरीरबन्धक, मानव वेचविखन र जबर्जस्ती करणी गरेको प्रमाणित भएन भनी केटापक्षलाई सफाई दियो । लगभग छ महिनाको अत्यन्तै दुःख, कष्ट, चिन्ता र कठिनाई भोगीसकेपछि केटापक्षले झिनो राहत महसुस त गरे तर न्यायको अनुभूति गर्न पाएनन् । केटा र केटीको सम्वन्ध विच्छेद नभई अर्को विवाह गर्न पाइदैन । अहिले केटा र केटा पक्ष धर्म संकटमा परेका छन् । अर्को विवाह गर्दा वहुविवाह लाग्ने डर, केटी संगको पति पत्निको सम्वन्ध कायम हुने अवस्था छैन, यदि कुनै हिसावले अर्को विवाह गरेकै खण्डमा पूनः अपहरण, मानव वेचविखन, जर्वजस्ती करणी सम्बन्धी कसुरको फन्दामा परिने हो की भन्ने थप चिन्तामा परेका छन् ।

 
एउटा गरीव र घरवारविहिन परिवारका सदस्यले भोग्नु परेको उल्लेखित दुःख, कष्ट र पीडाको कारण के हो ? उल्लेखित मुद्दामा वास्तविक पीडित को भयो ? उक्त पिडाको जिम्मेवारी कस्ले लिने ? केटा पक्षका परिवार र आफन्तले शारीरिक, मानसिक र आर्थिक रुपमा पाएको उक्त पिडाको सोधभर्ना कस्ले र कसरी गर्ने ? यि अनुत्तरित प्रश्नले न्यायका लागि गम्भीर प्रश्न सृजना गरेको छ ।

 
घटना नं.२
केटा केटीका वीचमा लामो समयसम्म पे्रम सम्वन्ध कायम भयो । केटा र केटी पक्षको परिवारको आर्थिक हैसियत, जात र धर्ममा भिन्नता थियो । केटी पक्षले केटा केटी वीचको विवाहलाई कुनै पनि हालतमा स्वीकार गर्न सक्ने अवस्था थिएन । केटा केटीका वीचमा प्रेम सम्वन्ध रहेको कुरा केटीको परिवारलाई जानकारी भएपछि उनिहरु वीचको सम्वन्धलाई विच्छेद गर्न केटीको सहमति र मन्जुरी विना नै केटीको जबर्जस्तीपूर्वक भारतमा विवाह गराइयो ।
भन्छन् प्रेम अन्धो हुन्छ रे । त्यसै भयो । केटीको विवाह भारतमा गराए पनि केटी र प्रेमी केटाको वीचको फोन सम्पर्क कायमै रह्यो । दुई पक्ष वीचको प्रेम सम्वन्ध प्रगाढ बन्दै गयो, शारीरिक सम्वन्ध पनि भयो अनी केटी गर्भवती समेत भइन् । विवाहको लागि केटी पक्षका आफन्तले स्वीकार गर्ने सम्भावना नै थिएन । गर्भ बढ्दै गयो अनि दुवैजनाले भागी विवाह गर्ने निधो गरे र ज्यानको बाजी लगाएर केटा केटी भागी प्रेम विवाह गरे ।
यसरी बाबु आमाको सहमति र मन्जुरी विना विवाहिता पति छोडेर प्रेमी संग छोरी भागेको कुरा बाबु आमालाई असैह्य नै भयो । केटीको बाबुले केटा र केटा पक्षका परिवारका ३ जना सदस्यहरु समेत माथि अपहरण, शरीर बन्धक, वेचविखन र जबर्जस्ती करणीको जाहेरी दिए । केटा पक्षलाई बढी भन्दा बढी सजाय दिलाउन सकियोस भनी नाबालक देखाउन नक्कली जन्मदर्ता समेत बनाइयो ।

 
प्रहरीको सहयोगमा केटालाई पक्राउ गरियो । अनुसन्धानको नाममा लगभग २५ दिन सम्म प्रहरी हिरासतमा राखियो । सरकारी वकील कार्यालयले केटा र केटाका परिवारका सदस्य समेतलाई अपहरण, शरीर बन्धक, वेचविखन तथा जर्वजस्ती करणी समेतको अभियोग लगाई अदालतमा मुद्दा दायर गरियो । जिल्ला अदालतले केटालाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश गर्यो । एउटा प्रेमी कारागारमा अनि गर्भवती प्रेमिका लुकीछिपी बस्नु पर्ने परिस्थितिको सृजना भयो ।

 
जिल्ला अदालतको थुनछेक आदेशमा केटाको चित्त बुझेन र बदर गरी पाउँ भनी उच्च अदालतमा उजुरी पर्यो । गर्भवती केटी स्वयं अदालतमा उपस्थित भई म स्वेच्छाले विवाह गरी केटा संग गएको, म गर्भवती समेत भएको, मेरो उमेर पूरा भएको, मलाई वेचविखन तथा बन्धक नबनाईएको भनी स–शरीर निवेदन दिएपछि केटालाई थुनामुक्त गर्ने आदेश गरियो । उक्त मुद्दामा केटा र केटाका परिवारका सदस्यले के कस्तो दुःख कष्टको सामना गर्नुपर्यो होला सहजै अनुमान गर्न सकिन्छ ।

 
यि त प्रतिनिधिमूलक घटना मात्रै हुन् । अहिले केटीको परिवारका सदस्यले आफ्नो छोरी÷बहिनीले आफू खुशी विवाह गरेमा र आर्थिक, सांस्कृतिक, धार्मिक आदि कारणले चित्त नबुझेको खण्डमा आफ्नो छोरी÷वहिनीलाई केटापक्षबाट अलग गराउन र केटा पक्षलाई दुःख हैरानी दिनका लागि अपहरण, शरीरबन्धक, मानव वेचविखन र जर्वजस्ती करणी गरेको भन्दै झुठ्ठा र वनावटी जाहेरी दिने र मुद्दा चलाउने क्रम बढ्दो मात्रामा रहेको छ । कतिपय अवस्थामा केटा केटी स्वेच्छाले भागेर प्रेम विवाह गर्ने अनि केटी आफ्नो बाबु–आमाको नियन्त्रणमा आईसकेपछि केटी बाट नै केटाको विरुद्धमा उजुर गर्न बाध्य पार्ने गरेको पनि देखिन्छ । स्वेच्छाले प्रेम विवाह गरेका कतिपय केटाले मानव वेचविखन, अपहरण, शरीर बन्धक र जर्वजस्ती करणीको अभियोगमा सजाय पाउने गरेको पनि प्रशस्तै उदाहरण छन् ।

 
कानूनी व्यवस्था ः
कति वर्ष पुगेपछि प्रेम गर्न पाईने हो भन्ने कानूनी सिमा तोकेको अवस्था छैन । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ७३(१) मा केटा केटी दुवैको उमेर विवाह गर्नको लागि वीस वर्ष पूरा भएको हुनुपर्ने, वीस वर्ष पूरा नभई भएको विवाह बदर हुने र वीस वर्ष पूरा नभई विवाह गरेका खण्डमा बालविवाहको कसूर मानी तीन वर्ष सम्म कैद र तीस हजार रुपैया सम्म जरिवाना हुने कानूनी व्यवस्था गरेको अवस्था छ । अहिले पनि हाम्रो समाजमा वीस वर्ष भन्दा मुनीका केटाकेटीले अभिभावकको मन्जुरीले र प्रेम विवाह पनि गर्ने गरेका छन् । तसर्थ बालविवाहलाई कानूनले कसूर मानेको छ र सजाय पनि हुनसक्छ भन्ने कुराको जनजागरण फैलाई बालविवाह रोक्नुपर्ने देखिन्छ ।
तर, शुद्ध बाल विवाह वा पे्रम विवाहलाई भनसुन र पहुँचको आधारमा जर्वजस्ती करणी, अपहरण, शरीरबन्धक, मानव वेचविखन जस्ता जघन्य आरोप लगाई जाहेरी दर्ता गराउने र घटनाको वास्तविक छानविन नै नगरी जाहेरी बमोजिम घरभरीका मानिस उपर मुद्दा चलाउदै जाने हो भने कतिपय निर्दोष व्यक्तिहरुले पनि अनाहकमा सजायको भागिदार बन्नु पर्ने र शारीरिक, मानसिक, आर्थिक रुपमा अपुरणीय क्षति व्यहोर्नुपर्ने भई कानून, अनुसन्धान र न्याय प्रति नै नागरिकको वितृष्णा फैलिन सक्छ । तसर्थ अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय सम्पादन गर्ने सम्वद्ध सवै निकाय र अधिकारीले कानूनको दुरुपयोग गर्ने खालका वनावटी मुद्दाको रोकथाम र नियन्त्रणमा आवश्यक पहल गर्न जरुरी छ ।

 
बलात्कार (जर्वजस्ती करणी), यौन हिंसा, यौन दूव्र्यवहार, बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन, मानव वेचविखन, अपहरण लगायतका अपराधहरु शारीरिक, मानसिक, यौनिक लगायत सवै दृष्टिकोणबाट जघन्य एवं क्रूर अपराधको कोटीमा पर्दछन् । यस प्रकारका जघन्य अपराधमा संलग्न जो कोहीले पनि उन्मूक्ति पाउनु हुँदैन, त्यस्तालाई कानून बमोजिम सजाय हुनै पर्दछ र पीडितले न्याय पाउनै पर्दछ यो सर्वव्यापी मान्यता नै हो । तर आरोप र अभियोगको नाममा कोही पनि निर्दोष व्यक्ति न्यायको बलिवेदीमा नपरोस भनी हेक्का राख्न पनि त्यतिकै आवश्यक छ । (लेखक शाह अधिवक्ता हुन्)

प्रतिक्रिया

प्रतिक्रिया