आजको बिहानी । नयाँ जोस, उत्साह र उमंगको बिहानी । करिब बिस वर्षको राजनीतिक उतारचढाव, संघर्ष र सहमतिपछि आज बुधबार स्थानीय निकायको दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सम्पूर्ण चुनावी तयारी गरिसकेको छ भने जनता भोट हाल्न आतुर छन् ।
जनआन्दोलन २ को बलमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी देश संघीय गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेपछिको स्थानीय तहको पहिलो निर्वाचन हो । यो निर्वाचनसँग नेपालको स्थायीत्व, विकास र लोकतन्त्रलाई संस्थागत गर्ने आशाहरु जोडिएका छन् ।
दोस्रो चरणको निर्वाचन अन्र्तगत आज १, ५ र ७ नं. प्रदेशका जनताले मतदान गर्दैछन् । यसलाई मतदान मात्र नभई जनताले आफ्ना प्रतिनिधि चुन्ने र लोकतन्त्रलाई मजबुत पार्ने जग हाल्नका लागि इँटा थप्ने दिनका रुपमा लिन सकिन्छ ।
बाँकेका ८ स्थानीय तहमा निर्वाचन ह“ुदैछ । करिब २ लाख ४६ हजार १ सय ३ मतदाताले आफ्नो मत दिंदैछन् । त्यसका लागि १ सय ३६ वटा मतदान स्थलमा २ सय ९५ मतदान केन्द्र छन् । ‘सबै तयारी पूरा भएको छ’, मुख्य निर्वाचन अधिकृत कार्यालयले दैनिक नेपालगन्जसग भन्यो ।
नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ६२ हजार ३ सय ९६ मतदाता छन् । ३४ स्थलमा ७३ मतदान केन्द्र बनाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका लागि १६ जना प्रमुख र ११ जना उपप्रमुखमा प्रतिस्पर्धा गर्दैछन् ।
तीन वटा प्रदेशमा आज हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । साथै सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आव्हान गरेको छ । मतदानको अघिल्लो दिन मंगलबार विशेष पत्रकार सम्मेलन गर्दै आयोगले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर मत दिन आव्हान गरे । उनले भने, ‘सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ ।’
प्रमुख आयुक्त यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान समेत आग्रह गरेका छन् । यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको बैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीमा नाम भएकाहरुको हकमा नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको जनाएको छ ।
आजको चुनावले प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा १५ हजार ३५ प्रतिनिधि चयन गर्ने छ । दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि चुन्न ६४ लाख ३२ हजार ७६५ मतदाताले यी तीन प्रदेशमा मताधिकारको प्रयोग गर्नेछन् । निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको
छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।