आज शुक्रवार बंैकिङ्ग र कर प्रणालीमा वर्तमान अवस्थामा भएका विकासहरुको बारेमा ‘भर्चुअल सेमिनार’ गर्ने आयोजना भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको साझा संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को बाँके च्याप्टरले नेपालगन्जका उद्योगी व्यवसायीहरुका लागि वेभिनार भइरहेको हो।
एक्यान बाँके च्याप्टरका संयोजक विश्व भण्डारीले बाँकेका एक सय ५० सहभागीको लक्ष राखिएको ‘वेभिनार’मा पछिल्लो समय बैंक र कर प्रणालीमा भएका विकासका सम्बन्धमा सरोकारवाला निकायका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत यज्ञराज ढकालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष भवानी राणाले प्रमुख अतिथिका रुपमा धारणा राख्नेछिन् ।
संकटमा सहजीकरणको प्रयास
पेशाले चाटर्ड एकाउन्टेन्ट विश्व भण्डारी बिगत ९ बर्ष यता नेपालगन्जलाई कार्य थलो बनाएर पेशागत जिम्मेवारीमा सक्रिय छन् । सबै चाटर्ड एकाउन्टेन्टहरुको साझा संस्था क्यानको बाँके च्याप्टर स्थापनामा सक्रिय भण्डारीको नेतृत्वमा केही काम यो संकटबीच पनि भइरहेको छ । दाङ, बाँके र बर्दियालाई मिलाएर क्यानको शाखाका रुपमा एक्यान बाँके च्याप्टर स्थापना गरि संयोजकका रुपमा रहेका भण्डारी वेभिनार गर्दैछन् ।

विश्व भण्डारी संयोजक
एक्यान बाँके च्याप्टर
भण्डारी भन्छन्, ‘वर्तमान अवस्थामा उद्योगी व्यवसायी नेपाल सरकार एवं सरोकारवालासंग विषेश गरि कर प्रशासन एवं नेपाल राष्द्र बैंक संग निकै अपेक्षा गरेर बसेका छन् ।’ आयोजनाबारे जानकारी दिंदै भण्डारीले भने, ‘केही उद्योगी व्यवसायी यस विषयमा जानकार हुनुहुन्छ तर धेरै उद्योगी व्यवसायी जानकार हुनुहुन्न ।’ यो अवस्था जानकारीको लागि पुल बन्ने विश्वास लिएर यो वेभिनार गरिएको उनको भनाइ छ । ‘यस क्षेत्रमा रहेका सम्पूर्ण उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालालाई कोरोना महामारीका बीच भएका कानुनी परिवर्तन तथा सुविधाहरूको जानकारी गराउन खोजिएको हो,’ संयोजक भण्डारीले दैनिक नेपालगन्जसंग भने,‘सरोकारवालाहरुले सम्बन्धित विज्ञहरुबाट प्रश्न सोधेर आफ्नो जिज्ञासा समेत मेटाउने छन् ।’
कोराना कहर बिच पेशा व्यवसाय कसरी अगाडि बढिरहेको छ ? संयोजक भण्डारी भन्छन्, ‘हेर्नुस् हाम्रो मात्र पेशा यस्तो पेशा हो, जो उद्योगी व्यवसाही समृद्ध, सहज भएपछि मात्र हामी पनि समृद्ध, सहज अनुभुति गर्छौं, अब तपाईले अनुमान लगाउन सक्नुहुन्छ हाम्रो हाम्रो ब्यवसाय कसरी अगाडि बढिरहेको छ । तरपनि सकेसम्म बौद्धिक पेशागतको नाताले उद्योगी व्यवसायीलाई कसरी सहज बनाउन सकिन्छ, लागिरहेका छौं ।’
अबका दिन कसरी पेशाको भविष्य सुरक्षित रहेको सुनिश्चितता गर्ने ? भन्ने जिज्ञासामा भण्डारीले उद्योगी व्यवसायी समृद्ध, सहज भएपछि मात्र आफुहरु समृद्ध र सहज अनुभूति गर्ने धारणा राख्दै भने, ‘सबैभन्दा पहिला उद्योगी व्यवसायी सुरक्षित भएपछि हामी पनि अवष्य सुरक्षित हुन्छौं । नीति नियममा रहेर र पालना गराएर, सो सम्बन्धि अध्यावधिक भएर काम गर्दै जाने हो भने पेशाको भविष्य सुरक्षित नै हुन्छ जस्तो लाग्छ मलाई ।’










