दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका –२०७५ पालना नगरेपछि कानूनी कारवाही गरिएको हो ।

नेपालगन्जका दुई वटा डेरी सञ्चालनमा रोक लगाइएको छ । मंगलवार बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले नेपालगन्ज उपमहानगरपालिका अन्तरगत रहेका विभिन्न डेरी उद्योगहरुको अनुगमन गरि कानुन विपरित पाइएका दुई डेरीलाई सञ्चालनमा रोक लगाएको हो ।
‘अन्य स्थानमा व्यवसाय संचालनको अनुमति लिई नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा व्यवसाय संचालन गरिरहेका दुईवटा डेरी पसलको संचालनमा रोक लगाइएको छ,’ खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत नेत्रा बोगटीले दैनिक नेपालगन्जसँग भनिन्, ‘कानुन विपरित जाने छुट कसैलाई दिइन्न ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका, निरिक्षण अधिकृत बोगटीका अनुसार, घरवारी टोल स्थित जय बागेश्वरी दुग्ध उत्पादन सेवा नामक डेरी उद्योगलाई दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५) बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रि बितरण गर्न निर्देशन दिइएको छ ।
अनुगमन गरेका केही डेरी उद्योगहरुले लेवलिङ्गर प्याकजिङ्ग नगरिकन खुल्ला दुध बिक्रीवितरण गरेको पाइएकोले त्यसो नगर्न र निर्देशिका पालना गरेर मात्र ब्यवसाय संचालन गर्न व्यवसायीहरुलाई निर्देशन दिइएको पनि निरीक्षण अधिकृत बोगटीले बताइन् ।
मंगलवार भएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल र सोही कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालयका, प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, अधिवक्ता एवं उपभोक्ता संरक्षण मन्च बाँकेका, अध्यक्ष बसन्त गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका, निरीक्षण अधिकृत नेत्रा बोगटी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत विमल गुरुङ, लगायतको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले घरबारीटोल स्थित जय बागेश्वरी, दुग्ध उत्पादन सेवा, धम्बोजीमा रहेको मदर डेरी, कारकादोमा रहेको अम्बे डेरी, खजुरा रोड स्थित जनता दुग्ध सहकारी सस्थाको बिक्रि डिपो, सेतु बिक चोक नजिक रहेको लक्ष्मी डेरी लगायतको अनुगमन गरिएको थियो । मदर डेरी र अम्बे डेरीले प्याकेजिङ्ग र लेवलिङ्ग गरिएको दुग्ध पदार्थको बिक्री गरेको देखिएता पनि सरसफाई लगायतका अन्य केहि कुरा सुधार गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५) बमोजिम मापदण्ड आएको २ बर्ष भएता पनि सो निर्देशिकाको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ताले ढुक्क भएर गुणस्तरिय दुग्धजन्य पदार्थको गर्न पाउने अधिकार उपभोग गर्न नपाएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले बताए । ‘ऐन आएको २ बर्ष हुँदा समेत बिभिन्न बहाना डेरी ब्यवसायीहरुले मापदण्ड पालना गरिरहेका छैनन्,’ अधिवक्तासमेत रहेका गौतमले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेपनि खुल्ला दुधको बिक्री बितरण गरिरहेकाले त्यस्ता डेरीमा दुधको गुणस्तर र स्वच्छतामा आशंका जन्माएको छ ।’
निर्देशिका कार्यान्वयनका सम्बन्धमा एक महिना अगाडी जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको, किसान, डेरी ब्यवसायी र ऐन कार्यान्वयनको जिम्मेवार पदाधिकारी समेतको उपस्थितिमा भएको सर्वपक्षिय छलफलमा भाद्र २३ गते देखि दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५) पुर्ण रुपमा कार्यान्वयनमा ल्याउने सहमति भएको थियो । ‘त्यसको बिपरित कसैले ब्यवसाय संचालन गरे अब कानूनी कारवाही हुन्छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले भने ।










